पाँचवर्षे कार्यकाल पूरा गर्दै कोशी प्रदेश प्रमुख खापुङ

सोमबार, १६ कार्तिक, २०८३
प्रिन्ट संस्करण

विराटनगर/ कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले पाँचवर्षे कार्यकाल पूरा गर्दैछन् । यससँगै खापुङले संघीयता कार्यान्वयनपछि सातै प्रदेशमध्ये पाँचवर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुख बनेर नजिर कायम गर्ने भएका छन् । 

तत्कालीन जनता समाजवादी पार्टीको कोटाबाट नियुक्त भएका खापुङले २५ कात्तिक ०७८ कार्यभार सम्हालेका थिए । आगामी २४ कात्तिकदेखि उनको पाँचवर्षे कार्यकाल पूरा हुँदै छ । उनको कार्यकाल पूरा हुनै लाग्दा कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार उनीसँग बिदाइ भेट गरेका छन् । 

संघीयता कार्यान्वयनको नौ वर्षमा कोशी प्रदेशमा हालसम्म तीनजना प्रदेश प्रमुख नियुक्त भइसकेका छन् । जसअनुसार पहिलो प्रदेश प्रमुखका रूपमा कांग्रेसका तर्फबाट प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ ५ माघ ०७४ देखि १७ कात्तिक ०७६ सम्म बहाल रहेका थिए । त्यसपछि एमाले कोटाबाट १८ कात्तिक ०७६ देखि सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश प्रमुख रहे । त्यसपछि जनता समाजवादीको कोटामा २५ कात्तिक ०७८ बाट खापुङले प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका थिए । 

संविधानअनुसार संघीय शासन प्रणाली कार्यान्वयनमा आएपछि प्रदेशमा शासन सञ्चालन गराउन सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रमुखहरू नियुक्ति हुँदै आएका छन् । हालसम्म सातवटै प्रदेशमा जम्मा ३३ जना प्रदेश प्रमुख नियुक्त भइसकेका छन् । केन्द्रमा सत्ता समीकरण फेरबदल भएसँगै प्रदेशहरूमा पनि मुख्यमन्त्री मात्र नभएर प्रदेश प्रमुखहरू पनि फेरबदल हुँदै आएका छन् । 

खापुङको बिदाइसँगै कोशी प्रदेशमा अब पाँच वर्षका लागि चौथो प्रदेश प्रमुख नियुक्त भएर आउनेछन् । हालसम्म कोशीमा तीन, मधेशमा ६, बागमतीमा चार, गण्डकीमा पाँच, लुम्बिनीमा चार, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा पाँचजना प्रदेश प्रमुख नियुक्त भइसकेका छन् । 

सुझावित समाचार