मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०८० जेठ २५ बिहीबार ०६:२७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

घट्यो प्राधिकरणको नाफा

पुससम्म झन्डै ११ अर्ब रहेको नाफा चैतमा ८.७७ अर्बमा खुम्चियो

Read Time : > 1 मिनेट
२०८० जेठ २५ बिहीबार ०६:२७:००

चालू आर्थिक वर्ष ०७९/८० को तेस्रो त्रैमासमा नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । पुस मसान्तमा प्राधिकरणको करअघिको नाफा १० अर्ब ९१ करोड ५९ लाख थियो, तर चैत मसान्तसम्म आउँदा  घटेर आठ अर्ब ७७ करोड ५६ लाखमा सीमित भएको छ । तेस्रो त्रैमासमा प्राधिकरणले दुई अर्ब ४७ करोड ८२ लाख खर्च नाफाबाट गर्नुपरेको देखिन्छ ।

प्राधिकरणको यो नाफा गत आवको तुलनामा पनि २८ प्रतिशतले कम हो । गत आवको चैत मसान्तसम्म प्राधिकरणले १२ अर्ब १२ करोड  नाफा कमाएको थियो । गत आवमा प्राधिकरणको खुद नाफा नै १६ अर्ब १६ करोड ५० लाख थियो । तर, चालू आवमा त्यो बराबरको नाफा हुनेमा चुनौती देखिएको छ ।

समीक्षा अवधिमा प्राधिकरणको आम्दानी पनि घटेको छ । गत आवको समीक्षा अवधिमा ९५ अर्ब ९५ करोड रहेको आम्दानी अहिले ८४ अर्ब ६० करोड ६५ लाखमा सीमित भएको छ । त्यसअनुसार प्राधिकरणको आम्दानी १२ प्रतिशतले घटेको देखिन्छ । प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री गरेर ६२ अर्ब ५२ करोड रुपैयाँ आम्दानी गरेको छ । विद्युत् निर्यात गरेर आठ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको छ । 

यस्तै, यस अवधिमा प्राधिकरणको कुल खर्च पनि घटेको छ । गत आवको समीक्षा अवधिमा ८३ अर्ब ८३ करोड कमाएको प्राधिकरणले अहिले ७५ अर्ब ८३ करोड ८ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको छ । प्राधिकरणले समीक्षा अवधिमा निजी ३० अर्ब ४४ करोड रुपैयाँको विद्युत् खरिद गरेको छ । भारतबाट १२ अर्ब २८ करोड ७७ लाख रुपैयाँको विद्युत् आयात गरिएको छ । यसैगरी, विभिन्न आयोजनामा २८ अर्ब ६३ करोड ७७ लाख रुपैयाँ ऋण तथा सेयर लगानी गरिएको छ । यी यस्ता शीर्षकमा प्राधिकरणको रकम खर्च भएको प्रतिवेदनमा उल्लेख छ । 

विशेषगरी, प्राधिकरणले यो वर्ष आयोजनामा गर्ने लगानी बढाएको छ । लामो सुक्खायामका कारण विद्युत् उत्पादन अस्वाभाभिक रूपमा घट्दा आम्दानी घटेको छ । त्यसमाथि भारतबाट महँगोमा विद्युत् आयात गर्नु परेको छ । यस्ता कारण नाफा घटेको प्राधिकरणका अधिकारीहरू बताउँछन् । 

यद्यपि, कात्तिकदेखि चैतसम्म प्राधिकरणको बढी आम्दानी हुने समय पनि होइन । सुक्खायामका कारण विद्युत् उत्पादन कम हुन्छ । त्यसमाथि आयोजनाबाट खरिद गरिने बिजुलीको मूल्य पनि महँगो हुन्छ । साथै, भारतबाट महँगोमा विद्युत् आयात गर्नुपर्ने हुन्छ । यी कारणले प्राधिकरणको आम्दानीमा संकुचन आउने प्राधिकरणका एक अधिकारीले बताए ।