सुनकोसीमा स्कारपियो खस्दा बेपत्ता कर्मचारी खोज्न गोताखोर परिचालन, भोलि बिहानबाट पुनः खोजी गरिने

शुक्रबार, १९ जेठ, २०८०
डिजिटल संस्करण

मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनमा आज भएको दुर्घटनामा परेर हराइरहेकाहरू अझै फेला परेका छैनन् । 

प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को स्कारपियो गाडी सुनकोसी नदीमा खस्दा तीन कर्मचारी बेपत्ता भएका छन् । 

गाडी र बेपत्ताको खोजीका लागि आज काठमाडौंबाट गोताखोरको टोली परिचालन गरिए पनि अवस्था पत्ता नलागेपछि खोजबिन स्थगित गरिएको छ । भोलि बिहानैबाट खोजीकार्य अघि बढाइने प्रहरीले जनाएको छ । 

भक्तपुरको सानोठिमीबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोसी नदीमा खसेको हो । बेपत्ता भएका तीनजना कर्मचारी अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताए । 

तनहुँ भानु नगरपालिका– ९ स्थायी ठेगाना भई सिटिइभिटीका सहसचिव कृष्णबहादुर केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका– ७ स्थायी ठेगाना भएका योजना महाशाखाका निर्देशक यमप्रसाद भुर्तेल र इलाम घर भई विद्युत् प्रशिक्षक पदमा कार्यरत भानु पौडेल बेपत्ता भएका हुन् । चालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएका थिए ।

चालकको भनाइ उद्धृत गर्दै दाहालले बताएअनुसार गाडीको ब्रेक फेल भई भित्तातर्फ लगेको भए पनि भित्ताबाट पुनः गाडी अनियन्त्रित भई नदीमा खस्न पुगेको हो ।

सुझावित समाचार