१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १७ बुधबार ०८:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रेशमलाई आममाफी दिइएकोविरुद्ध सर्वोच्चमा रिट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १७ बुधबार ०८:१४:००

टीकापुर घटनामा संलग्न रेशम चौधरीलाई सजाय माफी दिएकोविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आइतबार पेस भएको रिट मंगलबार दर्ता भएको हो । २७ जेठका लागि पेसी तोकिएको सर्वोच्चले जनाएको छ । 

चौधरीलाई गणतन्त्र दिवसका अवसरमा कैद माफी दिइएको थियो । सो निर्णयविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायत सर्वोच्च पुगेकी हुन् । अदालतले कैद माफीका विषयमा गरेको पहिलेका फैसला तथा मुलुकी फौजदारी कार्यविधि संहिताविरुद्ध रहेको दाबी रिटमा छ । रिटमा राष्ट्रपतिको कार्यालयका साथै सजाय माफी पाएका रेशम चौधरीलाई समेत विपक्षी बनाइएको छ । 

टीकापुर हत्याकाण्डमा तीनै तहका अदालतबाट दोषी ठहर भएका रेशम चौधरीलाई सजाय माफी दिन मन्त्रिपरिषद् बैठकले सिफारिस गरेलगत्तै कडायतले सो निर्णय रोकिपाउन राष्ट्रपतिको कार्यालयमा निवेदन दिएकी थिइन् । तर, मन्त्रिपरिषद्को निर्णय सदर भएपछि उनी सर्वोच्च पुगेकी हुन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा १९ जनालाई कैद सजाय माफी दिने निर्णय गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी जनाएको थियो । कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा टोपबहादुर बुढासमेतका व्यक्तिहरूलाई माफी दिइएको उल्लेख थियो । मन्त्रिपरिषद्को १२ जेठ र १४ जेठमा बसेको बैठकले उनीहरूलाई कैद माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सोहीअनुसार राष्ट्रपति कार्यालयबाट निर्णय भएकोमा त्यसविरुद्ध सर्वोच्चमा रिट परेको हो । 

७ भदौ ०७२ मा भएको टीकापुर घटनामा आठ प्रहरीसहित नौजनाको ज्यान गएको थियो । उक्त घटनामा सर्वोच्चले २ जेठमा फैसला गर्दै रेशम चौधरीसमेतलाई दोषी ठहर गरेको छ । यद्यपि, फैसलाको पूर्णपाठ भने आइसकेको छैन ।