Skip This
इमरान खानको पार्टीमाथि प्रतिबन्धको सम्भावना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Saturday, 27 July, 2024
एजेन्सी पाकिस्तान
२o८o जेठ १५ सोमबार ११:o८:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

इमरान खानको पार्टीमाथि प्रतिबन्धको सम्भावना

Read Time : > 1 मिनेट
एजेन्सी, पाकिस्तान
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार ११:o८:oo

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीसँगै उनको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीका समर्थकले गरेको आक्रमणपछि सरकारले सम्भावित प्रतिबन्धबारे विचार गरिरहेको बताएका छन् । ९ मेमा ७० वर्षीय खान गिरफ्तारमा परेपछि पाकिस्तानमा हिंसात्मक प्रदर्शन भड्किएको थियो । 

पिटिआईका कार्यकर्ताले लाहोर कोप्र्स कमान्डर हाउस, मियाँवाली एयरबेस र फैसलावादको आइएसआई भवनसहित दर्जनौँ सैन्य प्रतिष्ठानमा तोडफोड गरे । भिडले रावलपिन्डीस्थित सेनाको मुख्यालयमा पनि पहिलोपटक हमला गरेको थियो । 

रक्षामन्त्री आसिफले आफ्ना समर्थकले सैन्य र नागरिक प्रतिष्ठानमा गरिएका हमलाको निन्दा गर्न पूर्वप्रधानमन्त्री खान अझै अनिच्छुक रहेको आरोप लगाए । ‘पिटिआईलाई प्रतिबन्ध लगाउने निर्णय अझै लिइएको छैन, तर प्रतिबन्ध लगाउने विषयमा भने निश्चय नै समीक्षा भइरहेको छ,’ उनले सञ्चारकर्मीलाई भने ।

तर, सरकारले अन्तिममा पूर्वसत्तारुढ दललाई प्रतिबन्ध लगाउने निर्णय गर्दा अनुमोदनका लागि यो विषयलाई संसद्मा लैजाने उनले बताए । पूर्वप्रधानमन्त्रीले सेनालाई आफ्नो शत्रु मानेको मन्त्री आसिफले बताए । ‘खानको सम्पूर्ण राजनीति सेनाको काखमा भएको थियो र आज अचानक उनले सेनाविरुद्धमा खडा हुने निर्णय गरेका छन्,’ आसिफले भने ।

पार्टी परित्याग गरेका खानका नेताहरूले पनि यही भनिरहेको उनको भनाइ छ । ‘म जे भन्दै छु पिटिआई छोड्ने पार्टीका अन्य नेताले त्यही भनिरहेका छन्,’ उनले अगाडि थपे, ‘उनीहरूले सबै कुरा योजनाअनुसार भएको बताएका छन् । ’ सैन्य संरचनामा  भएको आक्रमणको निन्दा नगरेकोमा पनि उनले पूर्वक्रिकेटरसमेत रहेका खानको आलोचना गरे ।

‘अहिलेसम्म इमरानले हिंसालाई प्रस्ट शब्दमा निन्दा गरेका छैनन् । खान भन्छन् कि आफू हिरासतमा भएकाले यसबारे उनलाई थाहा थिएन । उनका समर्थकहरूबाट यस्तो प्रतिक्रिया अपेक्षित रहेको र उनी पुनः गिरफ्तारीमा परे यस्तो घटना दोहोरिन सक्नेछ,’ आसिफले भने । मे ९ मा देशभर सैन्य प्रतिष्ठानहरूमा भएको तोडफोड इमरान खानको योजनाअनुरूपको  ‘समन्वित हमला’ भएको आसिफको आरोप छ ।

राजनीतिक दललाई प्रतिबन्ध लगाउन नमिल्ने भएकाले पार्टीले प्रतिबन्धलाई अदालतमा चुनौती दिने पिटिआई नेता ब्यारिस्टर अली जफरले बताए ।उनले सन् १९६० को दशकमा जमात–ए–इस्लामीमाथि प्रतिबन्ध लगाउँदा तत्कालीन प्रधानन्यायाधीश एल्भिन रोबर्ट कर्नेलियसले त्यसलाई खारेज गरेको स्मरण गरे । ‘जमात–ए–इस्लामीलाई प्रतिबन्ध लगाउने प्रयास धेरै पहिले नै भएको थियो ।

तपाईंले राजनीतिक दललाई प्रतिबन्ध लगाउन सक्नुहुन्न र राजनीतिक दल बनाउनु सबैको अधिकार भएको सर्वोच्च अदालतको कथन थियो,’ जफरले भने । तोडफोड व्यक्तिगत कार्य भएको र यसैका आधारमा एउटा राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाउन नसकिने उनको तर्क छ । त्यस्तै, पिटिआईमाथि प्रतिबन्ध लगाउन सकिने रक्षामन्त्रीले समेत संकेत गरेका छन् । भविष्यमा सेनालाई निसाना बन्न नदिन गठबन्धन सरकारले हरेक कदम चाल्न सक्ने उनले बताए । 

विश्वासको मत गुमाएपछि इमरान खान गत अप्रिलमा सत्ताच्युत भएका थिए, जसलाई उनले अमेरिकी नेतृत्वको आफूविरुद्धको षड्यन्त्रको एक अंश भएको दाबी गर्दै आएका छन् । रुस, चीन र अफगानिस्तानमाथि आफ्नो स्वतन्त्र विदेश नीति निर्णयका कारण अमेरिकाले आफूलाई सत्ताच्युत गर्न षड्यन्त्र गरेको उनको आरोप छ । सत्ताच्युत भएपछि खानले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।