१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रोस डौथट
२o८१ बैशाख २० बिहीबार १o:५५:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

लेखकको हडतालले बदल्ला त हलिउडलाई ?

Read Time : > 2 मिनेट
रोस डौथट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:५५:oo

हलिउडका लेखकहरू अहिले किन हडतालमा छन् । लेखकहरू हडतालमा उत्रिनुपर्ने स्थिति कसरी आयो ? पहिलो, ठूलो धन खेलाइरहेका मनोरञ्जन उद्योग कोभिडका कारण हलमा फिल्म रिलिज गर्न अक्षम भएपछि प्रत्येक ब्रान्डले नेटफ्लिक्सजस्तो स्ट्रिमिङ सेवा लिएर आउन थाले । यस नयाँ मार्गको अस्थिरता तब स्पष्ट भयो जब फिल्म स्टुडियो र स्ट्रिमिङ प्रदायकले आफ्ना लेखकबाट धेरैभन्दा धेरै लेखनको माग गर्न थाले, त्यो पनि पहिलेकै ज्यालामा ।

लेखकबाट मात्र लेखन पूरा नहुने भएपछि स्टुडियोहरूले केही लेखकीय काम नयाँ विकसित एआईलाई दिनेबारे विचार गर्न थाले । यी सन्दर्भले लेखकको माग व्यावहारिक र न्यायोचित देखिन्छ । भोलिका दिनमा हडतालरत लेखकले जित्दाजित्दै हार्ने स्थिति पनि आउन सक्छ । तलब वृद्धि र काम गर्ने अवस्थाको सहुलियत पाएर पनि लेखकले स्क्रिप्टको संख्यामा ह्रास महसुस गर्न सक्छन् । हामीजस्ता टिभी सो र चलचित्रका दर्शकको मुख्य चासो भनेको यस विवादले कलामा के असर पार्छ भन्ने हो । 

हलिउडमा पछिल्लो समय ठूला बजेटका कमिक कथामा आधारित सुपरहिरो फ्रेन्चाइज, रिबुट (पुराना फिल्मको पुनर्कथन) फिल्मको वर्चस्व छ । मुनाफाकेन्द्रित ‘भेन्चर क्यापिटल’ मानसिकताले यस प्रवृत्तिलाई प्रोत्साहित गरेको विश्वास गरिन्छ । पछिल्लो समय फिल्म व्यवसायको अधिग्रहणले पनि मुनाफा दिने फिल्ममा मात्र लगानी गर्ने प्रवृत्तिलाई जोड दिइरहेको छ । यस पृष्ठभूमिमा, एकाधिकार व्यवसायका आलोचक म्याट स्टोलर तर्क गर्छन्– हडतालकर्मीको लक्ष्य ठूलो संरचनात्मक परिवर्तनको उद्देश्यमा सहयोगी हुने विशाल मित्रशक्ति फेला पार्ने हुनुपर्छ । स्टोलरका अनुसार फिल्म उद्योगको संरचनात्मक परिवर्तनअन्तर्गत ठाडो केन्द्रीकृत कर्पोरेट गठजोड तोड्ने, उत्पादन र वितरणलाई पुनः अलग गर्ने र फेरि मध्यम बजेटका फिल्मलाई प्रतिस्पर्धी बनाउने विषय समेटिनुपर्छ । 

सोनी बन्च र जेसा क्रिस्पिनजस्ता लेखकले प्रस्तुत गरेका निराशावादी विश्लेषणले सुपरहिरोकेन्द्रित कर्पोरेट शैली विकसित हुनुमा दर्शकको तिनमा रुचि रहेको र त्यसलाई बदल्न कठिन रहेको औँल्याएको छ । यी फिल्मलाई ठूलो संख्याका फ्यानले पछ्याउने भएकाले यिनले ठूलो आय भित्र्याउँछन् । हुन पनि अहिले कमिक बुकमा आधारित चलचित्रकै टिकट बिकिरहेको छ । र, यही कारण फिल्म स्टुडियोले तिनलाई प्राथमिकता दिन्छन् । क्रिस्पिनका अनुसार यसका कारण आज लेखकहरू ठूला परियोजनाको ‘एक सानो हिस्सा’मा परिणत भएका छन् । कथासँग लेखक जोडिने कुरा विगत हुन थालेको छ । यस स्थितिमा हडतालले पुनर्विचारको अवसर प्रदान गरेको भए पनि यसले प्रणालीलाई समग्र रूपमा परिवर्तन गर्ने सम्भावना कम भएको यी लेखकको आकलन छ । 

आफ्नो हडतालले पुनर्विचारको अवसर प्रदान गरे पनि प्रणालीलाई समग्र रूपमा परिवर्तन गर्ने सम्भावना कम भएको लेखकहरूले नै आकलन गरेका छन्

व्यक्तिगत रूपमा म यस हडतालले एक फरक हलिउड प्रणाली अस्तित्वमा ल्याएको हेर्न रुचाउँछु । तर, सम्झौताको बिन्दुको रूपमा म स्ट्रिमिङ सेवा अहिलेजस्तो बलियो हुनुअघि अर्थात् करिब १० वर्षअघिको स्थितिमा फर्किए पनि सन्तुष्ट हुनेछु । ती दिन सिनेमामा ‘स्पेसल इफेक्ट’ले भरिएका फ्रेन्चाइजी फिल्मका कमजोरीलाई समृद्ध, गहन, महत्वाकांक्षी टेलिभिजनको उदयले आंशिक रूपमा क्षतिपूर्ति गरिरहेको थियो । त्यस समयपछि आखिर के परिवर्तन भयो ? स्ट्रिमिङ सेवा विस्तारले सुरुमा टिभी स्क्रिनमा महत्वाकांक्षी परियोजना ह्वात्तै बढाइदियो । पछि त्यही विस्तारले रचनात्मक प्रतिभालाई धेरैतर्फ छिरलिदियो, त्यो पनि काममा धेरै जोताउने गरी । 

दशकअघिको टिभीको स्वर्णिम युगका कार्यक्रमको सुरुवात सानदार हुन्थ्यो, तर दोस्रो सिजनमै पुग्दा तिनले आफ्नो पहिलेको गतिशीलता कायम राख्न संघर्ष गरेको देखिन थाल्थ्यो । (उदाहरणका लागि एचबिओको ‘वेस्टवल्र्ड’ वा पछिल्ल्लो सो ‘एलोज्याकेटस्’लाई लिन सकिन्छ) कहिलेकाहीँ ती अघिल्लो दशकको एन्टिहीरो नाटकको सतही नक्कलजस्तो मात्र देखिए । (यसको उदाहरण नेटफ्लिक्सको ‘ओजार्क’ हो ।) वा तिनले फिल्मका कुनै चरित्रलाई लिएर अत्यन्त ठूला फ्रेन्चाइजी निर्माण गरे जसलाई कसैले मन पराएनन् । (यसका उदाहरण स्टार वारको पात्रामा आधारित ‘ओबी–वान केनोबी’ वा लर्ड अफ रिङमा आधारित ‘रिङ्स अफ पावर’ हुन्) वा प्रतिभाशाली सो निर्मातालाई धेरै रकम खर्चेर तिनबाट ठूलो अपेक्षा गरियो, जसले एउटै कथामा ध्यानकेन्द्रित गर्नुको सट्टा कथाको विस्तारलाई जोड दिएको देखियो । (जस्तो टेलर सेरिडेनको ‘एलोस्टोन’को विकास र यसको निराशाजनक स्पिनअफ यसैको उदारण हो ।)

सिद्धान्ततः मैले माथि प्रस्तुत गरेको हडताल र त्यसको परिणामको परिदृश्यमा लेखकले राम्रो काम गर्ने वातावरण र उच्च तलबको माग त हासिल गर्छन् । त्यसपछि केही स्ट्रिमिङ प्लाटफर्म बन्द भएर वा केही गाभिएर टिभी सोको संख्या घट्दा उच्च विस्तारको समस्या केही हुन्छन् । यसमा लेखकले उचित क्षतिपूर्ति पाउँछन् र सो निर्मातासँग थप धेरै साम्राज्य निर्माण गर्ने अवसर हुँदैनन्, तर सोहरू भने राम्रा हुन्छन् ।

निश्चित रूपमा यो लेखक संघले अपेक्षा गरेको नतिजा होइन । किनभने यस स्थितिमा लेखन कर्म भने घट्नेछ । तर, हामीजस्ता दर्शकका लागि, केही कम सोको अर्थ अहिलेको भन्दा गुणस्तरीय सो हेर्ने अवसर प्राप्त हुनेछ । निराशाजनक परिदृश्यमा, स्ट्रिमिङ सेवाको संकुचनपछि तिनले नै ठूलो स्क्रिनका जस्तै फ्रेन्चाइजी मोडेल पछ्याउन सक्छन् । त्यस अवस्थामा, ठूला बजेटका टेलिभिजन सोको संख्या बढ्नेछ, जो तिनका निर्माताका लागि त सुरक्षित लगानीका रूपमा हेरिएला, तर तिनले सिर्जनाशीलता भने घटाउनेछन् । मौलिकतालाई महत्व दिनेहरूका लागि यो जितेर पनि हार हुने परिदृश्य होः जहाँ लेखकहरूको ज्याला त बढ्नेछ, तर फिल्म उद्योगको सिर्जनशीलतालाई भने क्षति गर्नेछ । 
(द एटलान्टिकका पूर्ववरिष्ठ सम्पादक रहिसकेका रोस हाल न्युयोर्क टाइम्सका स्तम्भकार हुन्)द न्युयोर्क टाइम्सबाट

ad
ad