१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वैशाखमा आयात–निर्यात दुवै घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:२६:oo

पछिल्ला दुई महिना बढ्दै गएको वस्तु आयात वैशाखमा घटेको छ । चैतमा चालू आवकै सबैभन्दा बढी एक खर्ब ४३ अर्बको आयात भएको थियो । त्यस्तै, फागनुमा एक अर्ब ३९ करोडको आयात भएको थियो । तर, वैशाखमा आयात घटेर एक अर्ब ३४ करोडमा सीमित भएको भन्सार विभागको तथ्यांक छ । 

विभागका अनुसार चालू आर्थिक वर्षको १० महिनामा १३ खर्ब ३५ अर्ब २७ करोडको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको पहिलो १० महिनाको तुलनामा १६.७८ प्रतिशत कम हो । गत आर्थिक वर्षको १० महिनामा १६ खर्ब चार अर्बको वस्तु आयात भएको थियो । 

चालू आवमा आयातसँगै निर्यात पनि खस्किएको थियो । आर्थिक संकटका कारण निरन्तर घट्दै गइरहेको निर्यात व्यापार चैतमा बढेको थियो । चैतमा १३ अर्ब ४८ करोडको निर्यात भएको थियो । तर, वैशाखमा यस्तो निर्यात १२ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । चालू आर्थिक वर्षको १० महिनामा एक खर्ब ३० अर्बको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको यही अवधिमा एक खर्ब ७३ अर्बको वस्तु निर्यात भएको थियो । महँगी, उच्च ब्याजदरजस्ता कारण अर्थतन्त्र शिथिल बन्दै जाँदा वैदेशिक व्यापारसमेत प्रभावित भएको हो । 

 १२ खर्ब नाघ्यो व्यापार घाटा
वैदेशिक व्यापार संकुचित हुँदा व्यापार घाटासमेत घटेको छ । गत आर्थिक वर्षको पहिलो १० महिनासम्ममा १४ खर्ब ३१ अर्बको व्यापार घाटा रहेकोमा चालू आवमा १२ खर्ब चार अर्ब पुगेको छ । चालू आवको पहिलो १० महिनामा व्यापार घाटा १५.८५ प्रतिशतले घटेको छ । साथै, वैदेशिक व्यापारमा पनि १७.५४ प्रतिशतले संकुचन आएको छ । गत आर्थिक वर्षको पहिलो १० महिनामा १७ खर्ब ७८ अर्ब पुगेको वैदेशिक व्यापार घटेर १४ खर्ब ६६ अर्ब पुगेको छ । सबैभन्दा बढी आयात भारत र चीनबाट भएको छ । कुल आयातमा आठ खर्ब ४४ अर्ब रुपैयाँबराबरको वस्तु आयात भारतबाटै भएको छ । चीनबाट एक खर्ब ७९ अर्बको आयात भएको छ ।

भारतबाट सबैभन्दा बढी आयात हुने वस्तुमा डिजेल, पेट्रोल र खाना पकाउने ग्यास हो । यस आवमा एक खर्ब २५ अर्बको डिजेल आयात भएको छ । ५५ अर्ब ७९ करोडको पेट्रोल र ४९ अर्ब ७२ करोडको खाना पकाउने ग्यास आयात भएको छ । फलामजन्य उत्पादन मात्रै ३४ अर्ब ८१ करोडको आयात भएको छ । त्यस्तै, हवाई इन्धन आयात भएको छ । 

दोस्रो ठूलो आयात हुने देश चीनबाट सबैभन्दा बढी स्मार्ट फोन आयात भएको छ । चीनबाट १२ अर्ब ५८ करोडको स्मार्ट फोन आयात भएको छ । त्यसपछि चार अर्ब ८५ करोड रुपैयाँको मल आयात भएको छ । तेस्रोमा चार अर्ब ७६ करोडको ल्यापटप र नोटबुक आयात भएको छ । भारतबाट ६ अर्ब ३३ करोडको स्मार्ट फोन आयात भएको छ । सबैभन्दा ठूलो निर्यात पनि भारतमा नै भएको छ । भारतमा नेपालले ९१ अर्ब १४ करोडको वस्तु निर्यात गरेको छ । दोस्रोमा अमेरिकामा नेपालले १५ अर्ब ५८ करोड रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ । 

भारततर्फ सबैभन्दा बढी निर्यात हुनेमा पामतेल र भटमासको तेल छ । यस अवधिमा भारततर्फ नौ अर्ब ७३ करोडको पामतेल निर्यात भएको छ । त्यस्तै, आठ अर्ब चार करोडको भटमासको तेल निर्यात भएको छ । भारततर्फ बढी निर्यात हुने तेस्रो वस्तु हो, अलैँची । सात अर्ब २६ करोडको अलैँची निर्यात भएको छ । दोस्रो ठूलो निर्यात हुने अमेरिकामा सेरामिक्सका उत्पादन, पेन्टिङ सामग्री निर्यात भइरहेको विभागको तथ्यांकले देखाएको छ ।

 

 

 

ad
ad