१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार ११:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बच्चालाई घाउ–चोट लाग्दा के गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:४२:oo

बालबालिकाहरू चकचके हुन्छन् । उनीहरू खेल्ने र कुद्ने गरिरहन्छन् । त्यसक्रममा कहिलेकाहीँ लडेर घाउ–चोट लाग्न सक्छ । कहिलेकाहीँ घरमै भएका धारिला सामान चलाउँदा उनीहरूको हात काट्छ । कतिपय बाबु–आमा घाउ–चोट लाग्दा उल्टै बालबालिकालाई गाली गर्छन् ।

कतिपयले सामान्य चोट चाँडै निको हुन्छ भनेर उपचारमा लापर्वाही पनि गर्छन् । तर, बच्चालाई चोट लागिसकेपछि असह्य दुखाइ हुन्छ । उनीहरूको पीडालाई हल्का लिनुहुँदैन । उनीहरूलाई गाली गर्ने गल्ती कहिल्यै गर्नुहुँदैन । अभिभावकले गाली गरेमा उनीहरूले अर्कोपटक चोट लाग्दा लुकाउन सक्छन् । 

- बच्चाको काटेको घाउको उपचारमा विशेष ध्यान दिनुहोस् । तत्काल घाउ किन भयो, कसरी भयो जस्ता प्रश्न गरेर बच्चालाई अनावश्यक मानसिक यातना दिनुहुँदैन । उपचार खोज्नुपर्छ । 

- घाउ लागेका वेला सकेसम्म कपास प्रयोग नगर्नुहोस्, कपास घाउमा टाँसिन्छ । काटेको घाउमा कपास टाँसियो भने पछि सफा गरेर निकाल्न गाह्रो हुन्छ । 

- काटेको घाउबाट रक्तश्राव रोक्ने परम्परागत विधि (जस्तै– मसी, खरानी, गोबर, पिठो) प्रयोग नगर्नुहोस् ।

- यदि घाउचोटमा माटोको कण, ढुंगा, बालुवा वा कुनै बाहिरी वस्तु छ भने धाराको पानीले तुरुन्तै घाउ सफा गरिदिनुपर्छ । त्यसो गर्दा थप संक्रमण हुनबाट जोगिन्छ । 

- पानीले सफा गर्दा अधिक रगत बग्न सक्छ, रगत बग्दैमा आत्तिनुहुँदैन । घाउबाट सबै देखिने कणहरू सफा गर्नुपर्छ । 

- यदि काटेको भागमा ठूलो वस्तु, जस्तै– चक्कु, ठूलो ढुंगा, काठ, सिसा अड्किएको छ भने त्यसलाई नचलाउनुहोस् । किनभने, ठूलो वस्तुले रगत रोकेर राखेको हुन सक्छ । उक्त वस्तु निकाल्नेबित्तिकै अत्यधिक रक्तश्राव हुन सक्छ । 

- घाउमाथि कसिने गरी सफा कपडा बाँधिदिनुहोस् । बगेको रगत रोक्न सफा कपडाको सामान्य दबाबले सहयोगी भूमिका खेल्छ । 

- कतिपय अभिभावकले आफ्नो बच्चालाई घाउ–चोट लाग्दा अत्तिएर वरपरका व्यक्तिलाई देखाउन घाउ खोल्ने, बन्द गर्ने, पुनः खोल्ने कार्य गरेको देखिन्छ । त्यसो गर्नुहुँदैन । 

- काटेको घाउ कत्तिको गहिरो छ, घाउ ठूलो र गहिरो छ, अनि रगत रोकिएन भने तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ । किनभने, ठूलो घाउलाई घरमै जानीनजानी उपचार गर्ने कोसिस गर्दा झन् समस्या थपिन्छ । त्यसैले सफा कपडाले घाउ बेरेर बच्चालाई नजिकको स्वास्थ्य संस्थामा लैजानुहोस् ।

- एकपटक सफा कपडाले घाउ बेरिसकेपछि स्वास्थ्य संस्था नपुगुन्जेल घाउको ख्याल गर्नुहोस् । 

- कहिलेकाहीँ नसा काटिएको पनि हुन सक्छ । त्यसले रगत बग्ने गति एकदम छिटो हुन्छ । अनि अत्यधिक दुखाइ पनि हुन्छ । त्यस्तो अवस्थामा पनि तुरुन्त स्वास्थ्य संस्था लैजानुपर्छ । 

- बच्चालाई घाउ–चोट लागेपछि धेरै रुन्छन् । त्यस्तो वेलामा खानेकुरा दिएर फकाउने प्रयास गरिन्छ । तर, यस्तो वेलामा खानेकुरा खुवाउनेभन्दा पनि स्वास्थ्य संस्था लैजाने हतारो गर्नुपर्छ । 

- काटेको घाउको प्रकृति हेरेर, साधारण उपचारदेखि टाँका लगाउनेसम्मको उपचार आवश्यक हुन सक्छ । यदि ठूलो घाउ भएको रहेछ भने बिरामीलाई बेहोस गरेर शल्यक्रिया गर्नुपर्नेसमेत हुन्छ । 

ad
ad