Skip This
जथाभावी फोहोर फाल्नेविरुद्ध महानगरको कडाइ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ५ शुक्रबार
  • Saturday, 27 July, 2024
काठमाडौंको वसन्तपुर क्षेत्र । तस्बिर : नयाँ पत्रिका
शान्ति तामाङ काठमाडाैं
२o८o जेठ ५ शुक्रबार १o:१८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जथाभावी फोहोर फाल्नेविरुद्ध महानगरको कडाइ 

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ ५ शुक्रबार १o:१८:oo

कारबाही र जरिवानालाई तीव्रता दिएपछि भित्री चोक, गल्ली र सार्वजनिक स्थानहरू सफा देखिन थाले

- बुधबार चाबहिल क्षेत्रमा पर्चा बाँड्दै गरेकी स्क्यान जब प्रालिकी प्रमिला कुँवरलाई महानगर प्रहरीले नियन्त्रणमा लिएर जरिवाना ग¥यो । उनलाई दुई हजार रुपैयाँ जरिवानासहित आगामी दिनमा यस्तो गतिविधि नगर्ने प्रतिबद्धता गराएर छाडेको थियो । 

- १ जेठमा वडा नम्बर १ नागपोखरी क्षेत्रको सार्वजनिक ठाउँमा फोहोर फाल्ने शुक्र भण्डारीलाई महानगरपालिकाले पाँच हजार रुपैयाँ जरिवाना गरेको थियो । सार्वजनिक स्थानमा फोहोर गरेबापत जरिवानास्वरूप पाँच हजार तिराएको हो ।

- ३१ वैशाखमा महानगरपालिका वडा नम्बर ७ मा रहेको सार्वजनिक स्थानमा फोहोर फाल्ने दिनेश श्रेष्ठलाई पनि कारबाहीस्वरूप जरिवाना गरेको छ । उनलाई महानगरले २५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

- महानगरपालिका वडा नम्बर २६ मित्रनगरमा रहेको नमस्ते थकाली चुलो प्रालिले विज्ञापन गर्ने क्रममा पर्चा वितरण गर्ने क्रममा फोहोर गरेपछि १३ वैशाखमा कारबाही गरिएको छ । प्रालिलाई अबदेखि फोहोरमैला नगर्ने सर्तमा १० हजार जरिवाना गरी छाडिएको थियो ।

दीपक अधिकारी सहायक प्रवक्ता,काठमाडौं महानगर
जथाभावी फोहोर फाल्नेविरुद्ध कडाइ र जरिवाना निरन्तर जारी रहन्छ । यसमा सिसिटिभीको सहायतासमेत लिँदै आएका छौँ । नगर प्रहरी बललाई विभिन्न ठाउँमा खटाएका छौँ । ‘रेडह्यान्ड’ भेटेर जरिवानासमेत गरेका छौँ । जथाभावी फोहोर फाल्नेलाई हतोत्साही गर्न थप कडाइ गरेर अगाडि बढ्छौँ ।

पछिल्लो समय काठमाडौं महानगरले जथाभावी फोहोरमैला गर्नेलाई कारबाही गरेको यी प्रतिनिधि उदाहरण मात्रै हुन् । यीबाहेक विभिन्न बहानामा फोहोरमैला गर्ने व्यक्ति र संस्थालाई दिनहुँजसो कारबाहीस्वरूप जरिवाना गरिएको महानगरले जनाएको छ । महानगरले जथाभावी फोहोर गर्नेलाई दुईदेखि २५ हजार रुपैयाँसम्म कारबाहीस्वरूप जरिवाना गरिरहेको छ । कारबाही र जरिवानालाई तीव्रता दिएपछि महानगरका भित्री चोक, गल्ली र सार्वजनिक स्थानहरू सफा देखिन थालेको स्थानीयको भनाइ छ । 

कारबाही निरन्तर अगाडि बढ्ने 
महानगरले जथभावी फोहोरमैला फ्याँक्ने र फोहोर गर्नेलाई जरिवाना गराउने र अर्कोपटक दोहोरिन नदिन सम्झाइ–बुझाइ गर्न थालेको छ । फोहोर फाल्नेमाथि निगरानी गर्न महानगरीय प्रहरी बल निरन्तर खटिएको छ भने ट्राफिक प्रहरीसँगको सहकार्यमा राखिएको सिसिटिभीको समेत सहायता लिन थालेको छ । 

महानगरका सहायक प्रवक्ता दीपक अधिकारीका अनुसार जथाभावी फोहोर फाल्नेविरुद्ध कडाइ र जरिवाना निरन्तर गरिरहेको छ । ‘यसमा सिसिटिभीको सहायतासमेत लिएका छौँ । नगर प्रहरी बललाई विभिन्न ठाउँमा खटाएका छौँ । ‘रेड ह्यान्ड’ भेटेर जरिवाना गरेका छौँ,’ सहायक प्रवक्ता अधिकारीले भने, ‘जथाभावी फोहोर फाल्नेलाई हतोत्साही गर्न थप कडाइ गरेर अगाडि बढ्छौँ ।’ अधिकारीका अनुसार कसुरको प्रकृति र ऐन–कानुनसम्मत तरिकाले पाँच हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गरिने गरेको छ । 

ऐनमा पाँच हजारदेखि एक लाखसम्म जरिवानाको व्यवस्था
फोहोरमैला व्यवस्थापन ऐन, ०६८ को दफा ३८ मा स्थानीय तहले तोकिदिएको समय र स्थानबाहेक अन्यत्र फोहोरमैला निष्कासन गर्ने, घर–कम्पाउन्ड तथा परिसरको फोहोरमैला सडक वा अन्य सार्वजनिक स्थानमा राख्ने, फाल्ने वा थुपार्ने, स्थानीय तहले तोकेको ठाउँमा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी सडक वा अन्य सार्वजनिक स्थानमा कुनै पनि किसिमको हानिकारक फोहोरमैला राख्ने, फाल्ने, थुपार्ने वा निष्कासन गर्नेलगायत कसुर हुन् । ऐनमा यी कसुर गरे पाँच हजारदेखि एक लाखसम्म जरिवाना हुने व्यवस्था छ । यसैगरी, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, ०७७ को दफा ५१ ले पनि सोही विषयलाई कसुर हुने उल्लेख गरेको छ ।