१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ४ बिहीबार
  • Friday, 11 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ४ बिहीबार १३:२९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल आउने विदेशी पर्यटकलाई एकद्वार सेवा प्रदान गर्न अध्यक्ष ढकालको आग्रह 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ४ बिहीबार १३:२९:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थलमार्गबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूलाई एकद्वार सेवा प्रदान गर्न आग्रह गरेका छन्। 

उनले अन्तरमन्त्रालय समन्वयको अभावमा नेपाल–भारत सिमानाकाहरूमा दुःख पाएको गुनासो आएकाले अन्तरमन्त्रालय समन्वय गरी तत्काल समस्याको समाधान निकाल्न आग्रह गरेका हुन्। 

बिहीबार काठमाडौंमा नेपाल एसाेसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टसकाे ५४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, ‘हाम्रा विभिन्न सरकारी निकायहरूबीच समन्वय नहुँदा भारतीय सीमानाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकहरूले विभिन्न किसिमका झमेला झेल्न परिरहेको गुनासो आउने गरेको छ । अर्थ, गृह र पर्यटन मन्त्रालयहरूबीच समन्वयको अभावमा समस्या परेको देखिन्छ । यो ठूलो समस्या होइन । यसलाई एक–दुई दिन वा हप्ता दिनभित्रै समाधान गर्न सकिन्छ । म माननीय मन्त्रीज्यूलाई के आग्रह गर्न चाहन्छु भने यसको तत्काल समाधान गरियोस् । पर्यटकले दुःख पाउँदा नराम्रो सन्देश जाने र नेपालप्रति नकारात्मक धारणा बन्न सक्छ।’ 

उनले हरेक प्रदेशमा ठूला र नमुना पर्यटकीय गन्तव्यहरू निर्माणमा निजी क्षेत्रलाई सहजीकरण गर्न नेपाल सरकार र अन्य निकायलाई आग्रह गरे। काठमाडौंको चन्द्रागिरिमा निर्माण गरिएको पर्यटकीय पूर्वाधारको उदाहरण प्रस्तुत गर्दै यस्तै किसिमका पूर्वाधारहरू सातवटै प्रदेशमा निर्माण गर्न मात्र सके पनि अहिलेको पर्यटक बसाइलाई दोब्बर गर्न सकिने बताए। 

‘हामीले जहिले पनि समस्या मात्र राख्ने, तर समाधानको उपायमा छलफल नै नगर्ने भन्ने कुरा यहाँ उठेको छ । म समस्यासँगै समाधानको उपाय पनि राख्न चाहन्छु । हामीले काठमाडौंको चन्द्रागिरिमा निर्माण गरेको रिसोर्ट र केबलकारसहितको स्थान अहिले स्वदेशी र विदेशी दुवै पर्यटकको रोजाइको नयाँ गन्तव्य बनेको छ। हामीले यस्ता गन्तव्य हरेक प्रदेशमा कम्तीमा एउटा मात्र पनि बनाउन सकेमा पर्यटकको बसाइ लम्ब्याउन र खर्च बढाउन सकिन्छ,’ उनले भने। 

आफूले पनि सातवटै प्रदेशमा पर्यटन पूर्वाधार बनाउनुपर्छ भनेर अभियन्ताको रूपमा लागेको उनले बताए। उनले नेपाल–भारत सीमानाकानजिक रहेका नेपालका पहाडी गन्तव्यहरू भारतीय पर्यटकको रोजाइका नयाँ गन्तव्य बन्दै गएको बताउँदै सरकारले ती स्थानमा पर्यटन पूर्वाधार निर्माणमा सहजीकरण गर्नुपर्ने धारणा राखे।  

कोभिड महामारीपछि थला परेको पर्यटन व्यवसाय पुनः लयमा आउन लागेको बताउँदै उनले भैरहवा र पोखरामा निर्माण सम्पन्न भइसकेका अन्तर्राष्ट्रिय विमानस्थलहरूको सञ्चालनका लागि आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रहसमेत गरे। 

उनले विश्वका धेरै देशमा पर्यटकलाई धेरैभन्दा धेरै खर्च गराउन प्रोत्साहन गर्ने नीति रहेको बताउँदै नेपालमा भने पर्यटकले नगद रुपैयाँ ल्याउँदा अधिकतम सीमा निर्धारण गर्दा खर्च बढ्न नसकेको बताए।