
सुडानी सेना र र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ)बीच भएको झडपमा परी कम्तीमा ६ सय ७६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए)ले जनाएको छ।
सुडानमा सेना प्रमुख अब्देल फत्ताह अल–बुहारन र उपप्रमुख मोहम्मद हमदान डागलोप्रति वफादार सुरक्षा बल आरएसएफबीचको द्वन्द्वले एक महिना नाघिसकेको छ। ‘सुडानको सशस्त्र बल र र्यापिड सपोर्ट फोर्सेजबीच लगातार ३० दिनसम्म जारी द्वन्द्वमा विशेष गरी खार्तुम र आसपासका क्षेत्रमा कम्तीमा ६ सय ७६ जनाको मृत्यु भएको छ भने पाँच हजार पाँच सय ७६ जना घाइते भएका छन्,’ ओसिएचएले उल्लेख गरेको छ।
प्रतिवेदनअनुसार गत अप्रिल १५ देखि हालसम्म द्वन्द्वका कारण नौ लाख ३६ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। जसमध्ये करिब सात लाख ३६ हजार दुई सय आन्तरिक रूपमा विस्थापित भएका छन् भने करिब दुई लाखले छिमेकी मुलुकमा शरण लिएका छन्।
गत अप्रिलको मध्यमा भएको झडपपछि सुडानको राजधानी खार्तुमका बासिन्दाले खाद्यान्नको चरम अभाव झेल्दै आएका छन्। झडपमा विशेष गरी दर्जनौँ कारखाना लुटिएका वा जलाइएका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३ मा करिब एक करोड ५८ लाख सुडानी अर्थात् सुडानको जनसंख्याको करिब एकतिहाइलाई मानवीय सहायताको आवश्यकता पर्ने अनुमान गरिएको छ।
मे ११ मा सुडानी युद्धरत पक्षहरूले साउदी बन्दरगाह सहर जेद्दाहमा आपतकालीन मानवीय सहायता वितरणलाई सहजीकरण गर्न र नागरिकहरूको सुरक्षित निकासीको ग्यारेन्टी गर्न सुडानका नागरिकको रक्षा गर्ने प्रतिबद्धताको घोषणापत्रमा हस्ताक्षर गरेका भए पनि हिंसा रोक्ने सम्झौता भने गरिएको छैन। हिंसात्मक झडपमा कमी आएको छैन।
यद्यपि, दुवै पक्षले एक–अर्कालाई सम्झौता उल्लंघन गरेको र सशस्त्र द्वन्द्व जारी राखेको आरोप लगाएका छन्। सुडानी सेनाले आइतबार आरएसएफले ओमदुरमान सहरको अल–मसाल्मा क्षेत्रमा रहेको एक चर्चमा क्रिश्चियन उपासकहरूलाई गोली हानेको आरोप लगाएको थियो।
तर, आरएसएफले घटनाको जिम्मेवारी लिन अस्वीकार गरेको छ। यसको पछाडि सेनाको हात रहेको आरोप लगाउँदै घटनाको स्वतन्त्र छानबिनको माग गरेको छ।