१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १ सोमबार ०७:४५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

घरेलु मैदानमा नेपाललाई अर्को अवसर

आइसिसी विश्वकप लिग–२ र एसिसी प्रिमियर कपपछि टी–२० विश्वकपको एसियन छनोट प्रतियोगिता आयोजना गर्दै नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १ सोमबार ०७:४५:००

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट र मूलपानी क्रिकेट मैदानमा अर्को महत्वपूर्ण खेल हुँदै छ । नेपालले घरेलु मैदानमा सन् २०२४ को आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसियन छनोट आयोजना गर्दै छ । आइसिसीले नेपाललाई एसियन क्षेत्रको टी–२० विश्वकपको छनोट प्रतियोगिता आयोजना गर्न दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । 

यस एसियन छनोटको शीर्ष दुई स्थानमा रहने टोलीले अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् । नेपालले लगातार अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना अवसर पाएको हो । यसअघि नेपालले विश्वकप लिग–२ र एसिसी प्रिमियर कपको आयोजना गर्ने अवसर पाएको थियो । 

क्रिकेटप्रति नेपाली समर्थकको क्रेज अस्वाभाविक भएको कारण देखाउँदै आइसिसीले टी–२० विश्वकपको एसियन क्षेत्रीय छनोट प्रतियोगिता आयोजना गर्न दिएको जनाएको छ । छनोट प्रतियोगिता आयोजनाका लागि युएई, कतार र ओमानले पनि प्रस्ताव पेस गरेका थिए । आइसिसीले नेपाललाई प्रतियोगिताका लागि जिम्मा दिएको हो । आइसिसीको कार्यक्रमअनुसार प्रतियोगिता नोभेम्बर पहिलो सातादेखि गर्ने तयारी गरिएको छ । तर, अहिलेसम्म यसको अन्तिम निर्णय भइसकेको छैन । 

एसियाका आठ टिमबीच हुने छनोट प्रतियोगिताका खेल कीर्तिपुर र मूलपानी मैदानमा गराउने क्यानका कार्यवाहक सचिव पाठकले बताए । पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी–२० विश्वकपमा सर्वाधिक २० राष्ट्रले सहभागिता जाउँदै छन् । २०२४ को टी–२० विश्वकपमा १२ राष्ट्र सीधै छनोट भएका छन् । आठ राष्ट्रले क्षेत्रीय छनोट चरण पार गर्नुपर्नेछ ।

गत वर्षको अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा भएको टी–२० विश्वकपको शीर्ष आठ टोली २०२४ को विश्वकपका लागि सीधा छनोट भएका थिए । अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले शीर्ष आठमा रहँदै विश्वकपका लागि स्थान पक्का गरिसकेका हुन् । अमेरिका र वेस्ट इन्डिज आयोजकको हैसियतमा छनोट भइसकेका छन् । अमेरिकाले पहिलो टी–२० विश्वकप खेल्दै छ । १४ नोभेम्बर २०२२ सम्मको विश्व वरीयतालाई अर्को छनोटको आधार मानिएको छ । जसबाट अफगानिस्तान र बंगलादेशले टी–२० विश्वकपमा स्थान बनाइसकेका छन् ।