१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १२:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

शरीर फिट राख्न के गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:o६:oo

फिटनेस  टिप्स 

शरीर फिट राख्न कुनै न कुनै शारीरिक गतिविधिमा तपाईं संलग्न हुनुपर्छ । बडीवेट एक्सरसाइज, योगा, जम्पिङ ज्याक्स, योगा, हाई इन्टेन्सिटी इन्टर्भल ट्रेनिङलगायतका अभ्यास घरमै गर्न सकिन्छ । नियमित योग र डान्स पनि गर्न सकिन्छ । यदि तपाईंलाई फिट र आकर्षक शरीर बनाउन मन छ भने जिम जानु राम्रो हुन्छ । शरीर र मनलाई स्फूर्त राख्न जिम सेन्टर जाने हो । हरेक दिन शारीरिक व्यायामका लागि थोरै समय दिँदा मात्र पनि शरीर, मन र दिमाग स्वस्थ बनाउन धेरै सहयोग पुग्छ । तर, जिम गर्न जानुअघि केही कुरामा भने विशेष ख्याल गर्नुपर्ने हुन्छ । 

लक्ष्य निर्धारण गर्नुस् 
जिम जानुअघि तपाईं किन जाँदै हुनुहुन्छ भन्ने स्पष्ट हुनुपर्छ । मसल्स बनाउनका लागि, तौल नियन्त्रण गर्नका लागि, ओभरअल फिटनेसमा सुधार ल्याउनलगायत कुन प्रयोजनका लागि जिम जाँदै हुनुहुन्छ, स्पष्ट हुनुपर्छ । र, त्यसैमा फोकस हुनुपर्छ । 

योजना बनाउनुस् 
एकपटक लक्ष्य निर्धारण गरिसकेपछि आफ्नो लक्ष्य हासिल गर्नका लागि योजना बनाउनुपर्छ । त्यसका लागि कस्ता अभ्यास गर्ने, कति समय जिममा बिताउने, कस्तो आहार लिने भन्ने विषय ख्याल गर्नुपर्छ । 

सहज कपडाको चयन 
जिमका लागि सहज हुने कपडा चयन गर्नुपर्छ । यसमा आरामदायी ट्र्याकसुट, दौडिँदा लगाउने सहज जुत्ता, पानीको बोतल, पसिना पुछ्नका लागि राम्रो टावेललगायत पर्छन् । 

वार्मअप 
कुनै पनि अभ्यास सुरु गर्नुअघि वार्मअप जरुरी छ । आफ्ना मांसपेशीलाई वार्मअप गर्नका लागि हल्का कार्डियो र स्ट्रेचिङ गर्नुपर्ने हुन्छ । यसले तपाईंलाई चोट लाग्नबाट जोगाउन र तपाईंको परफर्मेन्स सुधार्न मद्दत गर्छ । 

बिस्तारै सुरु गर्नुस् 
जिम सुरु गर्दा कम तौल उठाउनुपर्छ । सुरुवातमा कम क्यालोरी खपत हुने व्यायामहरू गर्नुपर्छ । ती व्यायामको स्वरूप र टेक्निकका विषयमा ध्यान केन्द्रित गर्नुपर्छ । सही तरिकाले कसरी व्यायाम गर्ने भन्ने विषय पहिले जान्न जरुरी छ । यसका लागि दक्ष प्रशिक्षकको निगरानीमा जिम गर्नु राम्रो हुन्छ । कतिपय मानिस जिम जानासाथ ठूलो तौल उठाउन थाल्छन्, तर तौल उठाउने सही तरिका नजान्दा विभिन्न समस्या देखिन्छन् । कतिपयलाई मसल्स पेन हुन्छ, कतिपयलाई चोट लाग्छ, कतिपय थकित हुन्छन् । र, उनीहरूको जाँगर बिस्तारै कम हुँदै जान्छ । तपाईंले सही ढंगले कम तौल उठाउने र बिस्तारै बानी बसिसकेपछि भार बढाउँदै जाने गर्नुपर्छ । 

पर्याप्त आराम 
जिम सेन्टर जानेले कम्तीमा आठ घन्टा सुत्नैपर्छ । ज्यानलाई आराम भएन भने राम्रोसँग शरीरको विकास हुन पाउँदैन । त्यसैले पर्याप्त आराम गर्नुस् ।

प्रशस्तै पानी पिउनुस्
तपाईंले जिम जानुअघि, जिमका दौरान र जिमबाट फर्किएपछि पर्याप्त मात्रामा पानी पिउन जरुरी छ ।

खानपान 
जिम गर्नेले खानपान र व्यवस्थित जीवशैलीमा ध्यान दिनुपर्छ । कहिल्यै पनि खाली पेटमा व्यायाम गर्नुहुँदैन, खाना खानेबित्तिकै पनि हुँदैन । व्यायाम गर्नुभन्दा एक घन्टाअघि कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियमयुक्त खानेकुरा खानु राम्रो हुन्छ । 

चना, दूध, अन्डा, ओट्स, ब्राउन ब्रेड, बदाम, काजु, किसमिस, ओखर, फलफूल आदिले शरीरको प्राकृतिक शक्ति र दिमागको कन्सन्ट्रेट पावर बढाउन भूमिका खेल्छन् । व्यायामपछि पनि प्रोट्रिनयुक्त खानेकुरा वा प्रोट्रिन सेक लिनुपर्छ । नियमित व्यायाम गर्ने व्यक्तिले बिहानदेखि बेलुकासम्म तीन घन्टाको फरकमा दिनको ६ पटक प्रोटिनयुक्त खानेकुरा खाँदा राम्रो हुन्छ । 

ad
ad