
डन्डिफोर जुनसुकै उमेरका मानिसमा पनि देखिन सक्छ । तर, विशेष गरी किशोरावस्थाका मानिसमा धेरै देखिन्छ । चिल्लो अनुहार भएका मानिसमा प्राकृतिक रूपमा डन्डिफोर आउने गर्छ । कतिपयमा वंशानुगत गुणका कारण पनि यो समस्या देखिन्छ । महिलामा महिनावारी हुँदा हर्मोनमा गडबडी भएर पनि डन्डिफोर आउन सक्छ । आमाको हर्मोनका कारण बच्चामा पनि डन्डिफोर आउन सक्छ, तर यो केही महिनामा आफैँ निको भएर जान्छ । धुलो–धुवाँका कारण छालामा फोहोर जम्यो भने पनि डन्डिफोरको समस्या देखिन सक्छ ।
कसरी बच्ने ?
बिहान उठेपछि दैनिक फेसवासले अनुहार सफा गर्नुपर्छ । आफ्नो छालाको प्रकृतिअनुसारको फेसवास क्रिम प्रयोग गर्नुपर्छ । चिल्लो अनुहारमा आयल कन्ट्रोल फेसवास तथा फेस स्कर्ब पनि प्रयोग गर्दा हुन्छ । बिहान घरबाहिर निस्कँदा सनब्लक क्रिम अनिवार्य लगाउनुपर्छ । सनब्लक क्रिमले घाम, धुवाँ, धुलो, रापबाट छालालाई जोगाउन मद्दत गर्छ ।
के गर्ने ?
अनुहार, छाती, कुम र कहिलेकाहीँ ढाडमा पनि डन्डिफोर आउन सक्छ । डन्डिफोरले अनुहारमा दाग, धब्बा वा स–साना खोपिल्टा छाडेर जान सक्छ । त्यसैले अनुहारलाई लिएर धेरैले चिन्ता गरेको पाइन्छ । शरीरमा अत्यधिक डन्डिफोर आएमा स्किनथेरापी गर्नुपर्छ । यसका माध्यमबाट फोहोर निकालिन्छ । प्रायः डन्डिफोर चिल्लो छालामा देखिने भएकाले यसबाट जोगिन छालालाई ड्राई राख्न कोसिस गर्नुपर्छ । धेरै चिल्लो खानेकुरा खानुहुँदैन । कपालमा तेल हालेर लामो समयसम्म राख्नुहुँदैन । अनुहारको चिल्लो हटाउन क्लिन्जिङ गर्नुपर्छ । दिनमा तीन–चारपटक अनुहार धुनुपर्छ र छालालाई सुक्खा बनाउने क्रिम लगाउनुपर्छ ।