दुई दशकपछि सडक सञ्जालले जोडिँदै मनाङको नार्पाभूमि

बिहिबार, २८ बैशाख, २०८०
डिजिटल संस्करण

गण्डकी प्रदेशको ८५ वटा स्थानीय तहमध्ये अहिलेसम्म सडक सञ्जालले नछोएको एक मात्र मनाङको नार्पाभूमि गाउँपालिका सडक सञ्जालले जोडिने भएको छ । सडक विस्तार भएको २० वर्षपछि हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका सडक सञ्जालले जोडिने भएको हो । 

नार्पाभूमिमा विस्फोटक पदार्थ प्रयोग गरी पहाड फोरेर सडकको ट्र्याक खोलिएको मनाङकी प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेलले बताइन् । उनका अनुसार जिल्ला सुरक्षा समितिको बैठकको निर्णयपछि विस्फोटक पदार्थ प्रयोग गरी नेपाली सेनाको सहयोगमा नार्पाभूमिको कोतो–च्याँखुको नार्फु सडकखण्डको ट्र्याक खोलिएको हो । 

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले पालिकालाई सडक सञ्जालसँग जोड्ने आफ्नो प्रतिबद्धता पूरा गर्ने लक्ष्यमा आफू दृढ रहेको बताए । गाउँपालिकाको ९० लाख एकल लगानीमा सडक विस्तारको काम भइरहेको छ । मनाङ सडक सञ्जालसँग जोडिएको लामो समयपछि नार्पाभूमि गाउँपालिकामा बल्ल मात्रै सडकको ट्र्याक खोल्न लागिएको उनले बताए ।

०७७ देखि सडक विस्तार गरिए पनि हालसम्म २६ किलोमिटर सडकमध्ये पाँच किलोमिटर सडक निर्माण गरिएको र २१ किलोमिटर सडक निर्माण हुन बाँकी छ । अध्यक्ष लामाले सडक विस्तारका लागि हारगुहार गर्दा पनि संघ र प्रदेशबाट कुनै सहयोग नभएको भन्दै गाउँपालिकाको एकल प्रयासमा सडक विस्तारको कामलाई निरन्तरता दिइएको बताए । 

See More On

सुझावित समाचार