Skip This
उदयपुर सिमेन्टका महाप्रबन्धक न्यौपाने ६ महिनादेखि उद्योगमा अनुपस्थित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २५ सोमबार
  • Saturday, 27 July, 2024
अजित अधिकारी काठमाडाैं
२o८o बैशाख २५ सोमबार o८:o४:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

उदयपुर सिमेन्टका महाप्रबन्धक न्यौपाने ६ महिनादेखि उद्योगमा अनुपस्थित

नेतृत्वको लापरबाहीले उत्पादन ठप्प

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख २५ सोमबार o८:o४:oo

पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट लिमिटेडका महाप्रबन्धक गोपीकृष्ण न्यौपाने ६ महिनादेखि उद्योग प्रशासनमा हाजिर भएका छैनन् । महाप्रबन्धक न्यौपाने १६ कात्तिकदेखि उदयपुरको जलजलेस्थित उद्योग प्रशासनमा हाजिर हुन पुगेका छैनन् । उनको अनुपस्थितिमा उद्योगको क्लिंकर उत्पादन पनि ठप्प छ भने त्यसअघि उत्पादन भएका सिमेन्ट मात्रै बिक्री जारी राखिएको छ ।

व्यवस्थापनको चरम लापरबाहीका कारण उद्योग पनि कहिलेकाहीँ मात्रै सञ्चालन हुने र अधिकांश समय बन्द अवस्थामा छ । उद्योग सञ्चालनको पहल गर्न काठमाडौंमै व्यस्त रहेकाले उद्योगमा हाजिर गर्न नसकिएको उनले स्वीकार गरे । ‘विविध कारणले उद्योगमा उपस्थित हुन सकिरहेको छैन । लामो समयदेखि गयल छु,’ उनले भने, ‘उद्योग सञ्चालनका लागि आवश्यक पहल गर्न यतै (काठमाडौं) व्यस्त छु ।’ अबको तीन–चार दिनमै उद्योग सञ्चालनबारे टुंगो लगाउने पनि उनले बताए । ‘उद्योगलाई यथास्थितिमै छाड्ने कि पुँजी लगानी गरी प्रतिस्पर्धी क्षमतामा सञ्चालन गर्ने भन्नेबारे तीन–चार दिनमै टुंगो लाग्छ,’ उनले भने, ‘म पनि भोलि–पर्सितिर उद्योग प्रशासनमा हाजिर हुन जाँदै छु ।’ 

उद्योगमा कार्यरतमा चारवटै टे«ड युयिनका प्रतिनिधिले १० दिनअघि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर सिमेन्ट उत्पादनको प्रक्रिया सुरु गर्न आग्रह गरेका थिए । उनीहरूले व्यवस्थापकीय लापरबाहीका कारण उद्योग लामो समयदेखि बन्द भएको र चाँडै खुलाउन आग्रह गरेको मन्त्री रिजालले बताए ।

‘उद्योगमा कार्यरत सबै ट्रेड युनियनका प्रतिनिधि आएर छिटो उद्योग सञ्चालनमा ल्याउनुपर्‍यो भनेर आग्रह गरेका छन्,’ उनले भने, ‘म २८ र २९ वशाखमा सिमेन्ट उद्योगको निरीक्षण गर्न जाँदै छु । त्यसक्रममा व्यवस्थापकीय लापरबाही भएको पाए महाप्रबन्धक न्यौपानेलाई कारबाही गर्छु ।’ उनले व्यक्ति विशेषको लापरबाहीले सरकारी स्वामित्वको उद्योग धराशायी हुन नदिन आफूले सक्दो प्रयास गर्ने बताए ।

‘निजी क्षेत्रका सिमेन्ट उद्योगहरू निर्यातका लागि सक्षम भइरहँदा सरकारी उद्योगचाहिँ धराशायी हुनुमा व्यस्थापकीय क्षमता नै कमजोर हुनु हो भन्ने कुरामा म प्रस्ट छु,’ उनले भने । उद्योगमा क्रियाशील औद्योगिक मजदुर संगठनका अध्यक्ष महावीर चौधरीले ६ महिनायता चैतमा एक हप्ता मात्रै उद्योग सञ्चालन भएको बताए ।

 क्षमताको ३९% मात्रै सञ्चालन
महालेखा परीक्षकको ६०औँ प्रतिवेदनअनुसार गत आर्थिक वर्ष ०७८/७९ मा उद्योग ३९.२६ प्रतिशत मात्रै क्षमतामा सञ्चालन भएको छ । दैनिक आठ सय टन क्षमताको सिमेन्टको वार्षिक उत्पादन क्षमता दुई लाख ७७ हजार दुई सय ७७ टन छ । तर, उद्योग प्रशासनले वार्षिक उत्पादन लक्ष्य नै एक लाख २० हजार टन मात्रै राखेको थियो । तर, लक्ष्यअनुसारसमेत उत्पादन गर्न नसकी एक लाख आठ हजार आठ सय १६ टन सिमेन्ट उत्पादन गरेको थियो ।

गत आवमा न्यून उत्पादनका बाबजुद पनि उद्योगले दुई करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तर, पूर्ण क्षमतामा सञ्चालन भएको भए उद्योगको नाफादर झन् धेरै हुन सक्ने महालेखाले औँल्याएको छ । नाजुक आर्थिक अवस्थाका कारण उद्योगबाट अवकाश पाएका कर्मचारीको तलब, सुविधा र उपदानबापतको ८२ करोड २७ लाख ३८ हजार रुपैयाँ भुक्तानी हुन सकेको छैन ।

 महाप्रबन्धक असफल : ट्रेड युनियन
व्यवस्थापकीय लापरबाहीका कारण वैशाखदेखि उद्योग कहिलेकाहीँ मात्रै खुल्ने र लामो समय बन्द हुने गरेको छ । उद्योगमा कार्यरत चारवटै ट्रेड युनियनहरूले गत १० वैशाखमा एक ध्यानाकर्षणपत्र लेख्दै महाप्रबन्धक न्यौपानेका कारण पछिल्लो १० महिनायता प्रतिमहिना पाँच–सात दिन मात्रै उद्योग सञ्चालन भइरहेकाले नियमित सञ्चालन गर्न माग गरेका थिए ।  

पत्रु सामान बिक्रीमा अनियमितता भएको, २१ लाख ७२ हजार चार सय १९ बोरा सिमेन्टको हिसाब नदेखाएको, रकम असुलेर कर्मचारी भर्ना गरेको, आम्दानी र खर्चको दैनिक विवरण टाँस नगरेको, सवारीसाधन दुरुपयोग र अतिथि सत्कारमा ठूलो खर्च गरेको, गुणस्तहीन कोइलाको प्रयोग गरेको आरोप ट्रेड युनियनले लगाएका छन् ।