Skip This
चालक अभावमा थन्कियो एम्बुलेन्स, अधिकृतलाई मासिक एक लाख ३५ हजार भाडाको स्कारपियाे !
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १४ बिहीबार
  • Saturday, 27 July, 2024
तिवारी यादव वीरगन्ज
२o८o बैशाख १४ बिहीबार १५:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चालक अभावमा थन्कियो एम्बुलेन्स, अधिकृतलाई मासिक एक लाख ३५ हजार भाडाको स्कारपियाे !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १४ बिहीबार १५:o४:oo

बाराको परवानीपुर गाउँपालिकामा केही वर्षअघि सहयोगस्वरूप पाएको एम्बुलेन्स चालक अभावमा थन्किएको छ। 

भारत सरकारले नेपालस्थित दूतावासमार्फत पालिकालाई सहयोगस्वरूप दिएको प्रदेश २–०३ –००१ झ ००२५ नम्बरको एम्बुलेन्स चालक अभावमा करिब एक वर्षदेखि थन्किएको हो। 

नेपालकै सबैभन्दा सानो पालिकामा सहयोगस्वरूप आएको एम्बुलेन्स सञ्चालन गर्न पालिकाले वास्ता नगरेपछि आवश्यक परेको वेला स्थानीयले चर्को रकम तिरेर अन्य ठाउँको एम्बुलेन्स प्रयोग गर्दै आएका छन्। 

स्थानीय प्रभास यादवका अनुसार पालिकामा ०७९ को वैशाखमा निर्वाचित भएर आएका जनप्रतिनिधिले एम्बुलेन्स प्रयोगविहीन बनाएका हुन्।

मानवका लागि अति आवश्यक रहेको एम्बुलेन्स सञ्चालन गर्न खासै वास्ता नगरेको स्थानीय बताउँछन्। पाँचवटा वडा रहेको यस पालिकाका स्थानीयले आवश्यक परेका वेला वीरगन्जबाट एम्बुलेन्स मगाएर प्रयोग गर्दै आएको उनले बताए।

उनले ०७९ मा निर्वाचित जनप्रतिनिधिले आठ–नाै महिना अगाडिदेखि वडा नम्बर १ को प्रहरी चौकीमा थन्क्याएर राखेको एम्बुलेन्स अहिले वडा नम्बर ३ को कार्यालयपरिसरमा थन्क्याएको छ।  

जनप्रतिनिधिले एम्बुलेन्स सञ्चालन गर्न चालकको जोहो नगरे पनि विभिन्न पद खडा गरेर कर्मचारी भने नियुक्ति गर्दै आए स्थानीय श्याम रौनियारको आरोप छ। 

उनका अनुसार पालिकाले एक दर्जनभन्दा बढी पालिका प्रहरी र शिक्षक भर्ना गर्न आवेदन खुला गरेका छन्। 

अधिकृतलाई मासिक एक लाख ३५ हजारको भाडावाला गाडी  

०७९ सालदेखि यस पालिकामा प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका मुन्ना रौनियारले भाडाको स्कारपियाे गाडी प्रयोग गर्दै आएको पालिकाका कर्मचारीले बताए।  

पालिकामा रहेको एम्बुलेन्सको चालक भर्ना नगरेर पालिकाका प्रशासकीय अधिकृतले मासिक एक लाख ३५ हजारको भाडामा गाडी प्रयोग गर्दै आएका हुन्। 

उनले करिब एक सालदेखि मधेस प्रदेश –०३–००१ च ६३४० नम्बरको स्कारपियो भाडामा लिएर प्रयोग गर्दै आइरहेका छन्। 

वीरगन्ज बस्दै आएका अधिकृत रौनियारले कार्यालयमा कम र बाहिरको काममा बढी गाडी प्रयोग गर्दै आएको स्थानीय कन्हैया यादवले गुनासो गरे।

गाउँपालिका कार्यालयभन्दा करिब पाँच किलोमिटरको दूरीमा बस्दै आएका अधिकृत रौनियारमाथि मोटरसाइकल प्रयोग नगरी चारचक्के गाडी प्रयोग गरेर पालिकालाई आर्थिक भारमा लगेको उनको आरोप छ। 

यता प्रशासकीय अधिकृत रौनियारले जनप्रतिनिधिले एम्बुलेन्स सञ्चालन गर्न कुनै निर्णय नगरेको बताए। उनले वडा कार्यालयको नाममा रहेको एम्बुलेन्स पालिकाको नाममा ल्याउने कार्य बाँकी रहेकाले सञ्चालनविहीन बनेको जवाफ दिए। 

महँगो भाडाको सवारीबारे जिज्ञासा राख्दा आफूले प्रयोग गर्दै आएको स्कारपियो गाडी पालिकाकाे निर्णयबमोजिम नै भाडामा लिएर प्रयोग गर्दै आएको उनले प्रतिक्रिया दिए।