
अखिल नेपाल फुटबल संघ (एन्फा)ले रेफ्रीमाथि हातपात गर्ने सशस्त्र प्रहरी बल एपिएफका सहायक व्यवस्थापक जीवेशकुमार पाण्डेलाई आठ खेलमा प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन कमिटीले सोमबार राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडीसमेत रहेका पाण्डेलाई प्रतिबन्धसँगै १० हजार जरिवाना तिराएको छ ।
६ वैशाखमा दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत एपिएफ र मच्छिन्द्र फुटबल क्लबबीच भएको प्रतिस्पर्धामा पाण्डेले फोर्थ अफिसियल ज्ञानबहादुर मोक्तानलाई टनलभित्र जाने क्रममा टाउकोमा मुक्का प्रहार गरेका थिए । सो खेलमा एपिएफले मच्छिन्द्रमाथि १–० को जित निकालेको थियो ।
प्रतिस्पर्धाका दौरान खेलका मुख्य रेफ्रीले मच्छिन्द्रका खेलाडीलाई रातो कार्ड नदिएको जनाउँदै पाण्डेले फिल्डमा रहेका रेफ्रीहरूलाई अपशब्द प्रयोग गरेका थिए । तत्कालै फिफा रेफ्री प्रज्वल क्षेत्रीले पाण्डेलाई सीधै रातो कार्ड देखाएका थिए । रातो कार्ड पाए पनि पाण्डेले टच लाइन छाडेनन् । फुटबलमा रातो कार्ड पाएका जोकोही पनि प्यारापिटमा जानुपर्छ । सो व्यक्ति मैदानमा बस्न पाइँदैन । तर, पाण्डेले फिफाको नियम पालना गरेनन् । ‘फिफाको अनुशासन आचारसंहिताको च्याप्टर २ को दफा १ एलबमोजिम शारीरिक हातपात गरेकाले पाण्डेलाई आठ खेलको प्रतिबन्ध र १० हजार जरिवाना गरिन्छ,’ एन्फाले भनेको छ ।
चार क्लबलाई जरिवाना
एन्फाले जारी लिगमा सहभागी एपिएफसँगै साबिक दुईपटकको लिग विजेता मच्छिन्द्र, नवप्रवेशी खुमलटार र संकटा क्लबलाई जरिवाना गरेको छ । लिगका दौरान विभिन्न नियम भंग गरेको र तोडफोडमा सहभागी क्लबविरुद्ध एन्फाले कारबाही गरेको हो । एन्फाले संकटा, खुमलटार र मच्छिन्द्रलाई समान १० हजार तथा एपिएफलाई पाँच हजार रुपैयाँ जरिवाना सुनाएको छ ।
एपिएफविरुद्ध संकटाका गोलरक्षक टिकेन्द्रसिंह थापाको जर्सी विवादपछि खेल आधा घन्टा ढिला सुरु भएको थियो । टिकेन्द्रको जर्सी जुधेपछि खेल ढिला हुन पुगेको ठहर एन्फाले गरेको छ । जर्सी एकै भएपछि टिकेन्द्रले टिसर्ट लगाएर खेलेका थिए । सोही खेलको दोस्रो हाफमा पाँच मिनेट अवरुद्ध गरेपछि एपिएफलाई ५ हजार जरिवाना सुनाइएको छ । मोजा विवादका कारण दोस्रो हाफ ढिला सुरु भएको थियो । खेल ढिला गर्नुमा समेत सहायक व्यवस्थापक पाण्डेकै हात रहेको एन्फाले ठहर गरेको छ ।
मच्छिन्द्रविरुद्ध ७–३ को हारपछि खुमलटारका खेलाडी र अफिसियलले डे«सिङ रुमको कुर्सी भाँचेका थिए । च्यासल मैदानमा खुमलटारविरुद्ध मच्छिन्द्रका आफिज ओलावाले ओलादिपोले ह्याट्रिक गरेका थिए । त्यस्तै, मच्छिन्द्रलाई रेफ्रीमाथि हातपात गरेको भन्दै जरिवाना तिराइएको हो । दशरथ रंगशालामा न्युरोड टिम एनआरटीविरुद्ध १–१ गोलको बराबरी खेल्दा मच्छिन्द्रका पदाधिकारी र खेलाडीले रेफ्रीमाथि हातपातको कोसिस गरेका थिए । यस खेलमा आफिजले रातो कार्ड सामना गरेका थिए ।
एपिएफमा विदेशी खेलाडीको प्रभाव
विदेशी खेलाडीको प्रभावसँगै एपिएफले खुमलटारविरुद्ध २–० ले जित निकालेको छ । लिगअन्तर्गत सोमबार एन्फा मैदानमा एपिएफलाई जित दिलाउन दुवै गोल विदेशी खेलाडीले गरेका थिए । क्यामरुनका रमानी पौटोग्नी र अर्मान्ड बेओडमले मध्यान्तरपछि एक–एक गोल गरेका हुन् । पाँचौँ जितपछि ११ खेलमा १७ अंक जोडेको एपिएफ पाँचौँ स्थानमा उक्लिएको छ । सात खेलमा पराजित खुमलटार १३ अंकसहित ११औँ स्थानमा छ ।
खेलको २६औँ मिनेटमा रमानीको गोलमा एपिएफले अग्रता लियो । बुद्धिमान राईले मिलाएको सुन्दर पासमा रमानीले बक्सभित्रबाट फिनिसिङ गरे । पहिलो हाफमा एक गोलले अग्रता बनाएपछि एपिएफ दोस्रो हाफमा थप हौसियो । खेलको ७०औँ मिनेटमा अर्मान्डले दोस्रो गोल गरे । आफ्नो पोसेसनभन्दा बाहिर आएका खुमलटारका गोलरक्षक राजकुमार लिम्बूको गल्तीमा अर्मान्डले खाली पोस्टमा गोल गरेका हुन् । मंगलबार दशरथ रंगशालामा दुई तथा एन्फा मैदानमा एक खेल हुनेछ । मनाङ मस्र्याङ्दीले नेपाल पुलिसको सामना गर्नेछ ।
सर्वाधिक आठपटकको विजेता मनाङ खराब लयबाट गुज्रिरहेको छ । मनाङ लगातार चार खेलमा पराजित भइसकेको छ । लगातार चौथो हारसँगै मनाङको उपाधि जित्ने लक्ष्यमाथि धक्का लागेको छ । अर्को खेल फ्रेन्ड्स र एनआरटीबीच हुनेछ । यसैगरी, आर्मी र चर्च ब्वाइजबीच अन्तिम खेल हुने तालिका छ ।