मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख ७ बिहीबार १७:१९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

साढे २ करोडको कोकिनसहित केन्याली र भारतीय पक्राउ

१० वर्षमा झण्डै साढे एक अर्वको कोकिन बरामद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख ७ बिहीबार १७:१९:००

अवैध लागुऔषध कोकिन कारोबारमा संलग्न एक केन्याली र एक भारतीय पक्राउ परेका छन्। ६३ वर्षीय केन्याली महिला पिलिसिला वान्जा डिरुतू र  ५१ वर्षीय भारतीय  रवीन्द्रकुमार परासरलाई प्रहरीले पक्राउ गरेकाे हाे।

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले केन्याली महिला पिलिसिलालाई ठमेलस्थित होटेलबाट पक्राउ गरेको हो। उनले १ किलो ८० ग्राम परिमाणको कोकिन इथोपियाबाट कतारको दोहा हुँदै काठमाडौं ल्याएकी थिइन्। उक्त कोकिनको अवैध बजार मूल्य २ करोड ३३ लाख २८ हजार रुपैयाँ छ।

ब्युरोका अनुसार लेडिज ब्यागभित्र ‘फल्स बटम’ बनाई ल्याइएको उक्त कोकिन भारतको दिल्ली लैजाने तयारी थियो। कोकिन लिन दिल्लीबाट भारत उत्तर प्रदेश अलिगढका ५१ वर्षीय रवीन्द्रकुमार परासर काठमाडौं आएका थिए। उनले कोकिन रवीन्द्रकुमारलाई बुझाइसकेकी थिइन्। यही क्रममा प्रहरीले रवीन्द्रकुमारलाई पनि पक्राउ गरेको हाे।

ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले साढे २ करोड मूल्यबराबरको कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेको बताए। उनले भने, ‘अवैध लागुऔषध कोकिनसहित दुई  विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउमध्ये एक केन्याली र अर्का भारतीय नागरिक छन्। उनीहरू उक्त कोकिन भारत लैजाने तयारीमा थिए।’

ब्युरोका अनुसार केन्याली नागरिक पिलिसिलाको केन्यामा नातीनातिनासमेत छन्। उनी डिभोर्सी महिला हुन्। उनलाई ‘र्‍याकेट’का सदस्यले एयरफेयर टिकटसहित ३ हजार अमेरिकी डलर (३ लाख  ३० हजार रुपैयाँ) दिने प्रलोभन दिएका थिए। सोही प्रलोभनमा परी उनी ‘र्‍याकेट’को सदस्य बनेको प्रहरीको भनाइ छ।

ब्युरो प्रवक्ता एसपी जोशीले भने, ‘र्‍याकेटका सदस्यले ३ हजार अमेरिकी डलर दिने भनेपछि यिनी कारोबारमा संलग्न हुन राजी भएकोजस्तो देखिन्छ। घटनामा थप अनुसन्धान भइरहेको छ।’

उनीसँगै पक्राउ परेका भारतीय नागरिक रवीन्द्रकुमारलाई भने ‘र्‍याकेट’का सदस्यले २० हजार भारतीय रुपैयाँ दिने भनेका थिए। ड्राइभिङ पेसामा आबद्ध उनी प्रलोभनमा परी कोकिन लिन काठमाडौं आएका खुलेको छ।

१० वर्षमा साढे एक अर्बको कोकिन बरामद
प्रहरीले पछिल्लो १० वर्षमा कोकिन कारोबारमा संलग्न ३५ अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये एक मात्रै नेपाली नागरिक रहेका छन्। बाँकी सबै विदेशी हुन्।

यस अवधिमा बरामद कोकिनको परिमाण ६३.७६३ किलो रहेको छ। जसको अवैध बजार मूल्य १ अर्ब ३७ करोड ७२ लाख ८० हजार ८ सय रुपैयाँ पर्ने ब्युरोका प्रवक्ता जोशीले जानकारी दिए।