
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मिटरब्याजपीडित र लघुवित्तपीडितमाथि गरिएको दमनबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा आएर मिटरब्याज र लघुवित्तपीडितहरूमाथि प्रहरीले दमन गर्नुको कारणबारे जवाफ दिनुपर्ने सुवालको भनाइ छ। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले संविधानमा उल्लेख गरिएको वाक् स्वतन्त्रता र शान्तिपूर्ण रूपमा भेला हुन पाउने हकको हनन हुने गरी प्रहरी लगाएर लाठी प्रहार गरेको टिप्पणी गरे।
‘काठमाडौंकाे रत्नपार्कमा भेला भएका मिटरब्याजपीडित र इनरुवामा भेला भएका लघुवित्त ऋणपीडित जनतामाथि लाठी प्रहार र दमन गरेको संविधानमा उल्लेख वाक् स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने हकको हनन हो। जनताको शान्तिपूर्ण भेलामा पनि भएको लाठी प्रहारबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई संसदमा स्पष्ट गर्न लगाउनु आवश्यक छ । मिटरब्याजपीडित र लघुवित्त ऋणपीडित जनताको माग पूरा गर्न जरुरी छ,’ सुवालले भने।