१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख ४ सोमबार ०८:५५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भीम रावललाई जिम्मेवारीमा फर्काउने एमालेको तयारी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख ४ सोमबार ०८:५५:००

१६ महिनादेखि पार्टीको जिम्मेवारीबाहिर रहेका पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावललाई एमालेले पार्टी काममा फर्काउने गरी संवाद प्रक्रिया अगाडि बढाएको छ । अघिल्लो वर्षको मंसिरमा सम्पन्न दशौँ महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा पराजित भएपछि जिम्मेवारीबाहिर रहेका रावललाई काममा फर्काउने गरी एमालेको वार्ता टोलीले छलफल अगाडि बढाएको हो । 

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलस्थित ललितपुरमा उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको वार्ता टोलीले रावलसँग डेढ घन्टा संवाद गरेको छ । रावललाई पार्टी काममा फर्काउने गरी संवाद गर्न १८ चैतमा एमालेको केन्द्रीय सचिवालय बैठकले पौडेलको नेतृत्वमा सचिव लेखराज भट्ट र स्थायी समिति सदस्य कर्णबहादुर थापा रहेको तीन सदस्यीय टोली गठन गरेको थियो ।

रावलले अध्यक्ष ओली, उपाध्यक्ष पौडेल वा महासचिव शंकर पोखरेलले औपचारिक रूपमा बोलाएर छलफल गरेको अवस्थामा मात्र आफ्ना असन्तुष्टि र पार्टी कामका विषयमा कुराकानी गर्ने अडान राख्दै आएका थिए । रावलको त्यही अडानलाई ध्यानमा राख्दै एमालेले संवादका लागि पौडेलको नेतृत्वमा अलग्गै कमिटी बनाएको थियो । रावलले छलफलमा सकारात्मक परिणाम निकाल्ने गरी खुलस्त कुराकानी भएको बताए ।

‘आइतबार बिहान ९ देखि साढे ११ बजेसम्म उपाध्यक्ष विष्णु पौडेल, सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापाजी र मेरोबीचमा पार्टी केन्द्रीय कार्यालयमा खुलस्त वार्ता भयो,’ रावलले भने, ‘छलफलमा सकारात्मक परिणाम निकाल्ने गरी फेरि बस्ने सहमति गरियो ।’

पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको सुदूरपश्चिमको अनुगमनकर्ता तोकिएका उपाध्यक्ष पौडेल सुदूरपश्चिममा जाँदा रावलसँग टकराव उत्पन्न भएको थियो । त्यसपछि एमालेले उनलाई पार्टीको जिम्मेवारी ल्याउने उद्देश्यले संवाद सुरु गर्ने निर्णय गरेको थियो ।

एमाले नेता भीम रावल भन्छन् ‘ आइतबार बिहान ९ देखि साढे ११ बजेसम्म उपाध्यक्ष विष्णु पौडेल, सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापाजी र मेरो बीचमा पार्टी केन्द्रीय कार्यालयमा खुलस्त वार्ता भयो । छलफलमा सकारात्मक परिणाम निकाल्ने गरी फेरि बस्ने सहमति गरियो ।’

स्थायी कमिटी सदस्य थापाले कुराकानी सकारात्मक दिशामा अगाडि बढेको जानकारी दिँदै पार्टीको बैठकले जिम्मेवारीबारे निर्णय लिने बताए । ‘उहाँसँग संवाद सकारात्मक रूपमा अगाडि बढेको छ, के जिम्मेवारी दिने, पार्टीले निर्णय गर्नेछ, तर अहिलेलाई पार्टीको विविध विषयमा छलफल भएको छ,’ छलफलपछि सञ्चारकर्मीसँग थापाले भने, ‘उहाँ पार्टीकै पक्षमा सकारात्मक हुनुहुन्छ ।’

रावललाई दशौँ महाधिवेशनलगत्तै अघिल्लो वर्षको २६ मंसिरमा बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले केन्द्रीय सल्लाहकार कमिटी सदस्य मनोनीत गरेको थियो । तर, आफूलाई सोध्दै–नसोधी टिके प्रथाबाट मनोनीत गरिएको भन्दै रावलले जिम्मेवारीसम्बन्धी पार्टीको निर्णयलाई अस्वीकार गरेका थिए ।

महाधिवेशनमा दुई सय २३ मत ल्याएर अध्यक्षमा ओलीसँग पराजित रावलले पदाधिकारीमा उठ्ने स्वतः केन्द्रीय सदस्यको उम्मेदवार बन्ने विधानको व्यवस्था पनि अस्वीकार गरी आफ्नो उम्मेदवारी खारेज गराएका थिए । त्यसयता लामो समयदेखि जिम्मेवारीबाहिर रहेका रावलमाथि संसदीय दलको बैठकमा अनुपस्थित हुने गरेको, संसद्मा संसदीय मूल्य–मान्यताविपरीत निरन्तर ह्विप उल्लंघन गरेको एमालेको आरोप छ । सोही कारण कैलालीबाट सर्वसम्मत सिफारिस भए पनि अध्यक्ष ओलीले रावललाई टिकट दिन अस्वीकार गरेका थिए । 

सुदूरपश्चिममा राम्रो प्रभाव राख्ने रावललाई जिम्मेवारीविहीन बनाउँदा र टिकट नदिँदा ४ मंसिरको चुनावमा पार्टीले क्षति व्यहोरेको भन्दै कार्यकर्ता तहले प्रश्न उठाइरहेपछि नेतृत्वमाथि उनलाई उपयुक्त जिम्मेवारी दिनुपर्ने दबाब पर्दै आएको छ । 
रावल ०४८ देखि लगातार संसदीय चुनाव लड्दै आएका थिए । ०४८ मा पराजित भएका रावल ०५१ मा भने निर्वाचित भए । ०५१ मा निर्वाचित भएका उनी स्वर्गीय मनमोहन अधिकारी नेतृत्वको तत्कालीन सरकारमा पर्यटन राज्यमन्त्री बने । ०५५ मा पर्यटनमन्त्री बने । ०५६ मा भने पराजित भए । ०६४ को संविधानसभा निर्वाचनमा शेरबहादुर कुँवरलाई प्रत्यक्ष उम्मेदवार बनाएर रावल समानुपातिकतर्फका सदस्य भए । ०६६ देखि ०६८ सालसम्म गृहमन्त्री बने । त्यसपछि ०७२ मा उपप्रधान तथा रक्षामन्त्री बने ।