
नेपाली कांग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि पार्टीको निर्णय सुनाउँदै सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले बारा २ को उपनिर्वाचनमा साझा उम्मेदवारका रूपमा जसपा अध्यक्ष यादवलाई समर्थन गर्ने निर्णय गरेको बताए। ‘बारामा हामीले साझा उम्मेदवार प्रस्तुत गर्ने गरी उपेन्द्र यादवलाई हाम्रो पार्टीबाट साझा उम्मेदवारको रूपमा स्विकार्ने निर्णय गरेका छौँ,’ उनले भने।
उपनिर्वाचनका लागि अन्य दुई क्षेत्रमा भने कांग्रेसले आफ्नै उम्मेदवार घोषणा गरिसकेको छ। तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई कांग्रेसले उम्मेदवारका रूपमा प्रस्तुत गरेको छ।
त्यसैगरी, बैठकले ०७९ को निर्वाचनभन्दा पहिले अनुशासनको कारबाहीमा परेका उपनिर्वाचन हुने तीनै क्षेत्रका नेताहरूलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णयसमेत गरेको छ।