मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १७ शुक्रबार ०९:०७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तल्लो खारे खोलामा आक्रमण गर्नेलाई कारबाही गर्न माग   

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १७ शुक्रबार ०९:०७:००

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले दोलखास्थित ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत् आयोजनामा आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । इप्पानले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणबाट भएको क्षतिको उचित क्षतिपूर्ति दिनसमेत माग गरेको हो । 

युनिभर्सल पावर कम्पनी दोलखाले सञ्चालन गरिरहेको उक्त आयोजनामा मंगलबार राति स्थानीयबाट आक्रमण भएको थियो । हेडवर्क साइटमा अज्ञात समूहले तोडफोड गर्दा झन्डै २५ लाखको क्षति भएको दाबी गरिएको छ । साथै, केही कर्मचारी घाइतेसमेत भएका छन् । यस्ता घटनाहरूलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्न र राष्ट्रिय प्राथमिकताप्राप्त जलविद्युत् आयोजनाहरूमा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने इप्पानको माग छ ।   

के हो घटना ?
कम्पनीका अनुसार मंगलबार राति बाइकमा आएका चंखुनिवासी भुवन श्रेष्ठ र केही अराजक समूहले कर्मचारीलाई कुटपिट गरेका हुन् । कम्पनीबाट प्राप्त जानकारीअनुसार उनीहरूले विभिन्न उपकरणहरू तोडफोड गरेका छन् । भुवन श्रेष्ठलगायतका समूहले भाग्दै गरेका कर्मचारी विनोद महतलाई पक्राउ गरी हातपात गरी घाइते बनाएका छन् । घाइते कर्मचारी विनोद महतको उपचार भइरहेको छ । यो घटना राति ११ः३० बजे भएको कम्पनीले जनाएको छ । साथै, आयोजनाको कम्प्युटर, सिसिटिभीलगायतका भौतिक संरचनामा पनि तोडफोड गरी क्षति गराएका छन् । 

ज्यान मार्ने नियतले उक्त अराजक कार्य गर्ने व्यक्ति र समूहमाथि कानुनबमोजिम हदैसम्मको कारबाहीको माग गरी कम्पनीले स्थानीय प्रहरी प्रशासनमा उजुरी गरेको छ । निर्दोष कर्मचारीमाथि ज्यान मार्ने किसिमले आक्रमण हुँदा कर्मचारीहरू भयभीत रहेको र शान्ति सुरक्षाको प्रत्याभूति नहुँदा काम गर्ने मनोबल नरहेको आयोजनाका जनसम्पर्क अधिकृत हरि पन्थीले बताए । 

कम्पनीले निर्माणकालदेखि आजसम्म स्थानीय सरोकार समिति र गाउँपालिकासँग समन्वय गरी स्थानीय जनताहरूको सामाजिक, आर्थिक विकासका लागि विद्यालय, सिँचाइ, खानेपानी, सडक निर्माण, गुम्बा संरक्षणलगायतका कार्यहरूमा आर्थिक सहयोग गर्दै आएकोमा यस्तो असामाजिक र तोडफोडको कार्य हुनु निन्दनीय भनेको छ । कम्पनीले गौरीशंकर गाउँपालिकासित समन्वय गरी हाल सडक मर्मतको कार्य पनि गरिरहेको कम्पनीले जनाएको छ ।