
मानिस बस्ने ठाउँलाई पञ्चतत्वअनुसार मिलाउने कार्यलाई नै वास्तु भनिन्छ । वास्तुशास्त्रको मुख्य मान्यता प्रकृतिको सान्निध्यमा रहेर संरचनाहरू निर्माण हुनुपर्छ भन्ने हो । यसले घर वा भवनमा ऊर्जा प्रवाह गर्छ ।
प्रवेशद्वार
घर बनाउँदा सकेसम्म उत्तर वा पूर्व फर्किएको भूमिमा निर्माण गर्नु उपयुक्त हुन्छ । प्रमुख प्रवेशद्वार घडेरीको बनावटअनुसार पूर्व, उत्तर, पूर्व–उत्तर वा पश्चिम दिशामा हुनु राम्रो मानिन्छ । यसको ढोका अन्य ढोकाभन्दा ठूलो तथा अत्यन्त सुशोभित हुनुपर्छ ।
भान्साकोठा
घर निर्माण गर्दा भान्साकोठाको स्थान दक्षिण–पूर्व आग्नेय दिशामा हुनुपर्छ । यो सम्भव नभएमा कोठाको दिशा हेरेर पनि मिलाउन सकिन्छ । सामान्यतया खाना पकाउँदा पूर्व वा उत्तर फर्किएको हुनुपर्छ ।
पूजाकोठा
पूर्व–उत्तर ईशान दिशाको बीचमा पूजाकोठा हुनु राम्रो मानिन्छ । ईशान्य कोठा हुनुपर्छ । जहाँ पढ्ने कोठा वा पूजाकोठा राख्न मिल्ने हुनुपर्छ ।
बैठक कोठा
बैठक कोठा उत्तर फर्किएको राम्रो मानिन्छ । ढोका खोल्दा भित्र परेको हुनुपर्छ । घरको बीचमा बैठक कोठा बनाएको राम्रो मानिन्छ ।
शयन कक्ष
घरको दक्षिण वा पश्चिम दिशातिर सुत्ने कोठाको स्थान बनाउँदा राम्रो हुन्छ । घरमूलीको शयन कक्ष घरको दक्षिण–पश्चिममा र सुत्दा शिर दक्षिणतर्फ हुनुपर्छ ।
अध्ययन कक्ष
अध्ययन कक्ष नैऋत्य र पश्चिम दिशाको मध्य, पश्चिम दिशा, वायव्य दिशा, उत्तर दिशा वा ईशान कोणको पूर्व दिशामा बनाउनु उपयुक्त हुन्छ । उत्तर, ईशान र पूर्व दिशा अगम्य ज्ञान र तेजको दिशा हो । अध्ययन कक्ष उत्तर भएको राम्रो हुन्छ ।
शौचालय
घरमा शौचालय दक्षिण वा पश्चिम दिशामा बनाउँदा राम्रो हुन्छ । शौचालयको धारा उत्तर, पश्चिम वा पूर्व झर्ने हुनुपर्छ । शौचालयमा बस्दा पूर्व वा पश्चिम फर्किनु आवश्यक छ ।