मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ चैत १० शुक्रबार ०८:०३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सत्तागठबन्धनको कसरत : मन्त्रिपरिषद् विस्तार र न्यूनतम साझा कार्यक्रम सँगसँगै

Read Time : > 1 मिनेट
२०७९ चैत १० शुक्रबार ०८:०३:००

सत्तागठबन्धनमा रहेका दलहरू मन्त्रिपरिषद् विस्तार र नीति कार्यक्रम तथा न्यूनतम साझा कार्यक्रम सँगसँगै ल्याउन सहमत भएका छन् । मन्त्रिपरिषद् विस्तारका लागि शीर्ष नेता र न्यूनतम साझा कार्यक्रम बनाउन दोस्रो तहका नेताले गृहकार्य गरेका छन् । गठबन्धनमा रहेका दलहरू यसका लागि आन्तरिक रूपमा पनि छलफलमा जुटेका छन् । 

मन्त्रालयको संख्या र विभाग बाँडफाँटको प्रस्ताव बनाउने जिम्मा पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका शीर्ष नेताहरूसँग परामर्श जारी राखेका छन् । सरकारमा सहभागी हुने सबै दलका नेतासँग छलफल गर्ने र उनीहरूको चासो सम्बोधन गर्ने गरी प्रस्ताव तयार पार्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ । 

उपेन्द्र यादव अध्यक्ष, जसपा
दलहरूबीच औपचारिक छलफल भएन । आन्तरिक गृहकार्य भइरहेको छ । नीति तथा कार्यक्रमबारे बुधबार नै छलफल भएको हो, मस्यौदा बनाउने काम सुरु भएको छ । थप छलफलपछि टुंगो लाग्छ 

जसपा अध्यक्ष उपेन्द्र यादवले बिहीबार गठबन्धनमा ठोस प्रगति नभएको बताए । ‘दलहरूबीच औपचारिक छलफल भएन । आन्तरिक गृहकार्य भइरहेको छ । नीति तथा कार्यक्रमबारे बुधबार नै छलफल भएको हो, मस्यौदा बनाउने काम सुरु भएको छ । थप छलफलपछि टुंगो लाग्छ,’ यादवले नयाँ पत्रिकासँग भने । कांग्रेस नेता एनपी साउदले पनि गठबन्धनमा थप प्रगति भइनसकेको बताए । ‘दलहरू छलफलमै छन् । बुधबारको बैठकपछि ठोस प्रगतिको जानकारी छैन,’ साउदले भने । 

मन्त्रालयको संख्या र विभाग टुंग्याउने, प्रदेशमा सरकारको नेतृत्वहरूको हेरफेर गर्ने र संघीय सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने विषयमा गठबन्धनमा रहेका दलहरूबीच बुधबारबाट औपचारिक छलफल सुरु भएको थियो । बुधबार गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँटको प्रस्ताव बनाउने जिम्मा प्रधानमन्त्रीलाई दिएको थियो । 

प्रधानमन्त्री प्रचण्डले सहमतिको प्रस्ताव तयार गर्न दलहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन् । बिहीबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । देउवाले दिनभर पार्टीका नेता र आकांक्षीसँग छलफल गरेपछि साँझ प्रधानमन्त्री प्रचण्डसँग भेटेका हुन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच करिब एक घन्टा छलफल भएको थियो । 

बिहीबार बिहान गठबन्धन दलका दोस्रो तहका नेताबीच नीति तथा कार्यक्रमका सम्बन्धमा छलफल भएको थियो । प्रधानमन्त्रीले सबै दलसँगको परामर्शपछि गठबन्धनका सबै दलको बैठक बोलाउने तयारी गरेका छन् ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीबार दलहरू आन्तरिक छलफलमा केन्द्रित बनेको बताए । ‘हामी आन्तरिक काममा छौँ । प्रधानमन्त्रीले सबैसँगको परामर्शमा बैठक बोलाउनुहुनेछ, त्यसपछिका छलफलले निष्कर्ष निकाल्नेछ,’ उनले नयाँ पत्रिकासँग भने । जसपा प्रवक्ता मनीष सुमनले पनि दलहरू आन्तरिक छलफलमै केन्द्रित बनेको बताए । 

कांग्रेसमा इतर समूहमा पनि आफ्नो समूहबाट सरकारमा सहभागी हुनेबारे छलफल भएको थियो । बैठकमा सहभागी एक सांसदका अनुसार डा. शेखर कोइरालाले सभापति देउवासँगको छलफलबारे जानकारी गराएका थिए । बालुवाटारस्थित कोइरालाको सचिवालयमा भएको छलफलमा आफ्नो समूहबाट सहभागिताबारे परामर्श गरेका थिए । 

कोइरालाले बैठकमा आफू निरन्तर सभापतिसँगको सम्पर्कमा रहेको र आफ्नो समूहको सम्मानजनक सहभागिताका लागि पहल भइरहेको जानकारी गराएका थिए । संख्याका विषय भने गठबन्धनमा टुंगो लागेपछि तय हुने कोइरालाको भनाइ थियो । कांग्रेस सहमहामन्त्री जीवन परियारले इतर समूहका नेताहरूबीच अनौपचारिक भेटघाट भएको बताए । 

लोसपाले सम्मानजनक रूपमा सहभागिताको सुनिश्चितता भए मात्रै सरकारमा सहभागी हुने निर्णय गरेको छ । कार्यकारिणी सदस्य केशव झाका अनुसार अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बिहीबार बसेको बैठकले सम्मानजनक रूपमा सरकारमा सहभागी हुने निर्णय गरेको हो । ‘सरकारमा सहभागी हुने सहमति भएको छ । तर, सम्मानजनक रूपमा हुनुपर्छ भन्ने निर्णय बैठकमा भएको छ,’ उनले नयाँ पत्रिकासँग भने । लोसपाले सरकारबारे थप छलफलका लागि शनिबार पुनः केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ ।