मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २३ मंगलबार
  • Tuesday, 06 June, 2023
२०७९ चैत ८ बुधबार १८:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साकेला बहुमुखी क्याम्पसमा पुनः निर्वाचन गर्ने सहमति

Read Time : < 1 मिनेट
२०७९ चैत ८ बुधबार १८:३२:००

खोटाङको साकेला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन पुनः गर्ने सहमति भएको छ। चैत ५ गते एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा गरिएको क्याम्पसमा चैत १० गते पुनः निर्वाचन गर्ने सहमति भएको हो।

साकेला गाउँपालिका– २ रतन्छामा रहेको साकेला बहुमुखी क्याम्पसमा अन्य विद्यार्थी संगठनबाट कसैको पनि उम्मेदवारी नपरेपछि अनेरास्ववियुका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो। सभापतिमा यामबहादुर खड्का, सचिवमा रमिता फुँयाल, कोषाध्यक्षमा सरला राई तथा सदस्यहरूमा रीता खड्का, कविता दुलाल र उमा विष्ट निर्वाचित भएका थिए।

सबै प्रक्रिया पूरा गरेर अन्तिम नतिजा सार्वजनिक गरिए पनि अन्य राजनीनिक दलका विद्यार्थी संगठनले प्रश्न उठाएपछि पुनः निर्वाचन गर्ने सहमति भएको निर्वाचन अधिकृत इन्द्रकुमार तामाङले बताए। नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले सोही दिन संयुक्त विज्ञप्ति जारी गर्दै जालझेल र कपटपूर्ण नियतले परिणाम घोषणा गरिएको भन्दै परिणाम अस्वीकार गरेका थिए।

निर्वाचन अधिकृत तामाङको संयोजकत्वमा असन्तुष्ट विद्यार्थी संगठनसँग चैत ६ गते बसेको बैठकले निर्वाचन प्रक्रियामा प्राविधिक समस्या भएकाले चैत १० गते पुनः निर्वाचन गर्ने निर्णय भएको जनाइएको छ। बैठकमा प्रधानाध्यापक शिवेन्द्रकुमार राई, नेपाली कांग्रेस जिल्ला सदस्य किसन भुजेल, सिजन राई, नेविसंघका मोतीचन्द्र राई, सुमन आचार्य, अखिल (क्रान्तिकारी)का डार्विन राई र ज्ञानेन्द्र राई, अनेरास्ववियुका अनिता राईलगायतको उपस्थिति थियो। यद्यपि, सो बैठकमा अनेरास्ववियु खोटाङले आफ्ना प्रतिनिधिको उपस्थिति नरहेको जनाएको छ। 

सात क्याम्पस रहेको खोटाङमा साकेला बहुमुखी क्याम्पसबाहेक अन्यमा अहिलेसम्म स्ववियु निर्वाचनको प्रक्रिया नै थालिएको छैन।