
सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई लक्षित गरी सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको छ । बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको सामाजिक सुरक्षा योजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गरेका हुन् ।
योजनाको शुभारम्भसँगै वैदेशिक रोजगारीमा रहेका श्रमिक पनि कोषमा आबद्ध भएर योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आउनेछन् । श्रम स्वीकृति लिने वेला, श्रम स्वीकृति नवीकरण गर्ने वेला र नवीकरण गर्ने वेला नभएकाहरू पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत योजनामा सहभागी हुन सक्नेछन् ।
कोषका अनुसार त्यसका लागि हरेक महिना दुई हजार दुई रुपैयाँ बुझाउनुपर्छ । यो रकम एकमुस्ट पनि बुझाउन सकिन्छ । सात महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत छुट पाइनेछ । खल्ती, ईसेवा र कनेक्ट आइपिएसमार्फत नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा ३० अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ । कोषले योगदानकर्तालाई तीन अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
०७५ मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो । यो योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने विश्वास छ ।