ब्याजदर घटाउन सरकारसमक्ष राप्रपा नेपालको माग

सोमबार, ६ चैत, २०७९
डिजिटल संस्करण

राप्रपा नेपालले बैंक र विभिन्न वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन र ऋण चुक्ता गर्ने समयसीमा बढाउन माग गरेको छ । 

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले लघुबित्तको ऋणचक्रमा परेका विपन्न परिवारलाई ऋणमुक्त पार्न प्रभावकारी कदम चाल्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ । 

साना किसान र साना व्यवसायीहरूको दुरावस्थालाई ध्यानमा राखी ऋणमुक्त गराउने नीति ल्याउन सरकार अग्रसर हुनुपर्नेमा बैठकले जोड दिएको छ । यस्तै, महँगी नियन्त्रण गर्न तत्काल सशक्त र प्रभावकारी कदम चाल्न तथा पुँजीबजारका लगानीकर्ताहरूको आर्थिक सुरक्षामा तत्काल ध्यान दिन पनि राप्रपा नेपालले सरकारसँग माग गरेको छ । 

बैठकले संगठन विस्तारका क्रममा काठमाडौं उपत्यकाभित्रका सबै वडाहरूमा चैत मसान्तभित्र इकाइ समिति गठन गर्ने, प्राथिमिकता प्राप्त १५ जिल्लाहरूका वडाहरूमा वैशाख मसान्तभित्र इकाइ समिति गठन गर्ने, अन्य जिल्लाहरूमा कम्तीमा पालिका तहमा जेठ महिनाभित्र इकाइ समिति गठन गर्ने कार्ययोजना पारित गरेको छ ।

बैठकले जिल्लागत जिम्मेवारी दिई ६ वटा विभिन्न टोली बनाएर जिल्ला  पठाउने निर्णय गरेको छ । नेताहरू राजीव पराजुली, श्याम तिमिल्सिना, सुशील श्रेष्ठ, राजाराम बर्तौला, केशव श्रेष्ठ, तेज कुरुम्वाङलगायत प्रदेश अध्यक्षहरू सहभागी भ्रमण टोली जिल्लामा खटिने निर्णय भएको छ ।

साथै, चैत महिनाभित्र प्रदेशस्तरीय प्रशिक्षण, वैशाख महिनाभित्र जिल्लास्तरीय प्रशिक्षण सञ्चालन हुनेछ भने उपत्यकाभित्रका पालिकामा चैत महिनामा र अन्य पालिकास्तरीय प्रशिक्षण मंसिर महिनाभित्र सम्पन्न गरिने निर्णय भएको छ । साथै, आर्थिक विभाग, कानुन विभाग र नीति तथा अनुसन्धान विभागको कार्यक्रम पास गरेको छ ।

वैशाखको दोस्रो साता संयुक्त जनप्रदर्शन गर्ने र पुस महिनाभित्र जनवर्गीय संगठनको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए ।

सुझावित समाचार