
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत मकवानपुरको हेटौंडा क्याम्पस, मनहरी बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र जनप्रियमा नेकपा एमाले, नेकपा (एस) र विप्लव माओवादी निकट विद्यार्थी संगठनहरुको संयुक्त प्यानलले जितेको छ।
हेटौंडा ४ मा रहेको हेटौंडा क्याम्पसमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेतृत्व गरेको प्यानल विजयी भएको छ । स्ववियु समापतिमा अनेरास्ववियुका अभि मैनाली विजयी भएका छन्। उनले कांग्रेस, माओवादी केन्द्र र राप्रपाको विद्यार्थी संगठनको संयुक्त प्यानलका नेविसंघका राजिव फुयाँललाई हराएका छन्। विजयी मैनालीले २९० मत पाउँदा फुयाँलले १८५ मत पाएका थिए।
यस्तै मनहरी गाउँपालिकास्थित मनहरी बहुमुखि क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका कुमार घिसिङले नेविसंघका उम्मेदवार किशोर लम्साललाई २ मतान्तरले हराउँदै विजयी भएका छन् । घिसिङले २९ मत प्राप्त गर्दा लम्सालले २७ मत प्राप्त गरेका छन् । मनहरीमा पनि अनेरास्ववियुको प्यानल नै विजयी भएको छ।
यता हेटौंडा १९ मा रहेको निर्मल बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुकै प्यानल विजयी भएको छ । निर्मलमा अनेरास्ववियुका सरोज अर्यालले ७६ मत प्राप्त गर्दै स्ववियु सभापतिमा विजयी भएका छन् भने नेवि संघका जयबहादुर रोक्काले २२ मत प्राप्त गरेका छन्।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तर्गत हेटौंडा–६, चौघडास्थित बशंगोपाल बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियूको प्यानलनै विजयी भएको छ। अनेरास्ववियूका दिवस सिलवालको प्यानल विजयी भएको हो। सिलवालले अर्का प्रतिस्पर्धि राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका मोनिका गौतमलाई दोब्बर मतले पराजित गरेका हुन्। सिलवालले १८ मत प्राप्त गर्दा गौतमले ९ मत मात्र गरिन्।
हेटौंडा–१६, हटियास्थित हटिया–जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा भने विप्लव माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीकी मुना गोले निर्वाचित भएकी छिन्।
मकवानपुरमा कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसको गठबन्धन र एमाले निकट अनेरास्ववियु, विप्लव नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको समाजवादी विद्यार्थी संगठनको संयु्क्त प्यानलबीच प्रतिस्पर्धा भएको थियो।
मकवानपुरमा त्रिभुवन विश्वविद्यालयको एउटा आंगिक क्याम्पस सहित ७ वटा समाुदायिक क्याम्पसहरुमा आइतबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको हो।
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगर पालिकामा रहेको पालुङ बहुमुखी क्याम्पसमा भने यसअघि नै स्ववियु नेतृत्व सर्वसम्मत चयन भइसकेको छ। पालुङ बहुमुखी क्याम्पसमाको सभापतिमा माओवादी केन्द्रनिकटको अनेरास्ववियु क्रान्तिकारीका पुश्कल श्रेष्ठको नेतृत्वमा स्ववियु सर्वसम्मत चयन भएको हो।
जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी रहेको मकवानपुर बहुमुखी क्याम्पस र वन विज्ञान क्याम्पसमा भने मतगणना चलिरहेको छ।