Skip This
खोटाङ स्ववियु निर्वाचन : एउटा क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन, ६ वटामा अन्याेल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ५ आइतबार
  • Saturday, 27 July, 2024
२o७९ चैत ५ आइतबार २१:३७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खोटाङ स्ववियु निर्वाचन : एउटा क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन, ६ वटामा अन्याेल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ५ आइतबार २१:३७:oo

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत खोटाङका सातवटा क्याम्पसमध्ये एउटामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने छवटा क्याम्पसमा अन्याेल सिर्जना भएको छ। 

त्रिभुवन विश्वविद्यालयले जारी गरेको कार्यतालिकाअनुसार साकेला बहुमुखी क्याम्पस रतन्छामा सर्वसम्मत स्ववियुको नेतृत्व चयन भएको हो भने, अन्य छवटा क्याम्पसमा निर्वाचनको प्रक्रिया नै थालिएको छैन। 

साकेला बहुमुखी क्याम्पसमा नेकपा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का उम्मेदवारको प्यानल नै विजयी भएकाे छ।

अन्य संगठनबाट कसैको पनि उम्मेदवारी नपरेकाले अनेरास्ववियुका यामबहादुर खड्का सभापति रहेको अनेरास्ववियुका उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत इन्द्रकुमार तामाङले बताएका छन्।

क्याम्पस प्रशासनले जारी गरेको विज्ञप्तिअनुसार सचिवमा रमिता फुँयाल, कोषाध्यक्षमा सरला राई तथा तीनजना सदस्यमा क्रमशः रीता खड्का, कविता दुलाल र उमा विष्ट निर्वाचित भएका छन्। 

त्रिभुवन विश्वविद्यालयले जारी गरेको कार्यतालिकाअनुसार सबै प्रक्रिया पूरा गरेर अन्तिम नतिजा सार्वजनिक गरिएको क्याम्पस प्रशासनले विज्ञप्तिमा जनाएको छ। 

साकेला बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएपछि अन्य विद्यार्थी संगठनले भने आपत्ति जनाएका छन्। 

जिल्लामा अस्तित्वमा रहेका विद्यार्थी संगठनहरूबीच भएको सहमतिअनुसार निर्धारित समयमा कुनै क्याम्पसमा निर्वाचनको प्रक्रिया अगाडि नबढाउने निर्णय भए पनि अनेरास्ववियुले गद्दारी गरेको अन्य विद्यार्थी संगठनको आरोप छ। 

दश स्थानीय तह रहेको जिल्लामा दिक्तेल बहुमुखी क्याम्पस दिक्तेल, रावा क्याम्पस खार्पा, सिम्पानी क्याम्पस सिम्पानी, खोटाङ क्याम्पस खोटाङबजार, चिसापानी क्याम्पस चिसापानी र हलेसी क्याम्पस हलेसी सञ्चालनमा छन्। जिल्लाका सात क्याम्पसमध्ये साकेला बहुमुखी क्याम्पसबाहेक अन्यमा स्ववियु निर्वाचनको प्रक्रिया नै थालिएको छैन। 

जिल्लाका सबै क्याम्पसहरूमा का‌ंग्रेसनिकट नेपाल विद्यार्थी स‌घ, नेकपा एमालेनिकट अनेरास्ववियु, नेकपा (माओवादी केन्द्र)निकट अखिल (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियु र जनता समाजवादी पार्टी (जसपा)निकट समाजवादी विद्यार्थी युनियनले आफ्नो संगठन दर्ता गराएको छ। दिक्तेल बहुमुखी क्याम्पसमा भने, दुई स्वतन्त्र समूह प्रतिभाशाली स्वतन्त्र विद्यार्थी समूह र स्वतन्त्र विद्यार्थी नवीन पाइला समूहले पनि चुनावमा भाग लिन समूह दर्ता गराएका छन्। 

दिक्तेल बहुमुखी क्याम्पसमा दुई फरक समूहले समूह दर्ता गराएपछि उनीहरूलाई राजनीतिक दलका विद्यार्थी संगठन जतिकै मान्यता दिन नमिल्ने भन्दै अन्य विद्यार्थी स‌ंगठनले विराेध जनाएको थियो । त्रिविको स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०७९ मा ११ जनाभन्दा बढीको समूह बनाएर कुनै पनि विद्यार्थी समूहले निर्वाचनका लागि भाग लिन पाउने प्रावधान भएकाले सोहीअनुसार उनीहरूले समानुपातिकसम्मकै चुनावमा भाग लिन पाउने स्ववियु निर्वाचन समितिका प्रमुख एलपी घिमिरेले बताएका छन्। 

स्वतन्त्रले निर्वाचनका लागि समूह दर्ता गराएपछि चुनाव हार्ने डरले राजनीतिक दलनिटक विद्यार्थी संगठनहरूले अस्वीकार गरेको आरोप छ । त्रिविले फागुन–१९ गते संगठन दर्ता गर्ने, २१ गते मतदाता सूची प्रकाशित गर्ने र सूचीउपर दाबी विरोध गर्न २५ गते बिहान–१० बजेसम्मको समय दिएको थियो । तर, क्याम्पसले ढिला गरी प्रक्रिया सुरु गर्दा दाबी विरोधको समय अत्यन्तै छोटो भएकाले विरोध गरिएको विद्यार्थी संगठनहरूले जनाएको छ । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारमा सञ्चालित दिक्तेल बहुमुखी क्याम्पसमा सहमति नभएपछि जिल्लाका अन्य क्याम्पसमा समेत स्ववियु निर्वाचन अन्याेलमा परेको छ । दिक्तेल बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन गराउन मुख्य गरी एमालेनिकट अनेरास्ववियुले नचाहेकाले समस्या भएको नेविसंघका क्याम्पस इकाइ समिति अध्यक्ष सुमन आचार्यले बताए । 

दिक्तेल बहुमुखी क्याम्पसमा निर्वाचन गराउन एमालेका पार्टी प्रतिनिधि जिल्ला सदस्य ओमप्रकाश घिमिरे, अनेरास्ववियुका जिल्ला सचिव विष्णु उपरकोटी र क्याम्पस इकाइ समिति अध्यक्ष दयाराम भट्टराईले अन्य संगठनसँग गरेको सहमति एमालेकै जिल्ला सदस्य एवं विद्यार्थी संगठन विभाग प्रमुख खेमराज देउसाली र अनेरास्ववियुका केन्द्रीय सदस्य मोहन पोखरेलले अस्वीकार गरेको जनाइएको छ।

विद्यार्थी स‌ंगठन विभाग प्रमुख देउसालीले भने क्याम्पसले त्रिविको कार्यतालिकाभन्दा फरक तरिकाले कार्यतालिका बनाएर निर्वाचन गराउन खोजेकाले विरोध गरिएको आरोप दाबी गरेका छन्।