१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
टेकुस्थित बायोग्यास प्लान्ट
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

टेकुको बायोग्यास प्लान्ट ५० लाखमा मर्मत गरियो तर, महानगरले प्रयोगमा नल्याउँदा फेरि खिया लाग्न थाल्यो

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:१३:oo

टेकुस्थित बायोग्यास प्लान्टको मेसिन राष्ट्रिय आविष्कार केन्द्रले एक महिनाअघि नै मर्मत गरे पनि महानगरले त्यसको प्रयोगमा ढिलाइ गरिरहेको छ । मेसिन बने पनि ग्यास संकलन गर्ने बेलुन बिग्रिएको भन्दै प्लान्ट सञ्चालनमा ढिलाइ गरेको हो । 

महावीर पुन, अध्यक्ष,राष्ट्रिय आविष्कार केन्द्र 
पहिले पनि महानगरले प्लान्ट प्रयोगमा ध्यान नदिएका कारण महँगो मेसिन बिग्रिएको रहेछ । यसपटक पनि एक महिनाअघि नै मर्मत गरिसक्यौँ । तर, उहाँहरूले प्रयोग गर्नुभएको छैन । मर्मत गर्दा लागेको ५० लाख रुपैयाँ पनि दिनुभएको छैन ।

०७१ सालमा स्थापना भएको प्लान्ट प्रयोगमै नआई ०७४ सालमा मर्मत गरिएको थियो । उपत्यकाको फोहोरबाट ग्यास उत्पादन गरेर सहरी ऊर्जामा राहत थप्ने उद्देश्यले प्लनन्ट स्थापना भएको थियो । तर, प्रयोगमै नआई मेसिन दुईपटक मर्मत भइसकेको छ । पछिल्लोपटक आविष्कार केन्द्रका प्राविधिक टोलीले करिब सात महिना लगाएर मेसिन मर्मत गरेको हो । तर, मर्मत सकिएर एक महिना भइसक्दा पनि टेकुस्थित वातावरण विभागपरिसरमा थन्किएको छ । मेसिन मर्मतमा केन्द्रका पाँचजना प्राविधिक खटिएका थिए । उनीहरूले ५० लाख खर्चेर मेसिन बनाएका छन् । 

केन्द्रका अध्यक्ष महावीर पुनले मर्मत भइसक्दा पनि बायोग्यास प्लान्टको मेसिन महानगरले प्रयोग नगरेको बताए । ‘पहिले पनि उहाँहरूले प्रयोगमा ध्यान नदिएर महँगो मेसिन बिग्रिएको रहेछ, यसपटक पनि हामीले एक महिनाअघि नै मर्मत गरिसक्यौँ,’ उनले भने, ‘तर, प्रयोग र सञ्चालनमा चासो दिनुभएको छैन । मेसिन मर्मत गर्दा लागेको खर्च पनि दिनुभएको छैन ।’ उनले आविष्कार केन्द्रले सहरी फोहोर व्यवस्थापन र सहरी विकासमा प्रयोग हुने मेसिन निर्माण गर्न स्थानीय सरकारको समेत साथ चाहिने बताए । केन्द्रले हाल ग्रामीण क्षेत्रमा कृषि व्यवसायसँग सम्बन्धित औजारहरू उत्पादनमा चासो दिएको छ । तर, सहरी विकाससँग सम्बन्धित निकायहरूले समन्वय नगर्दा केन्द्रले सहरी विकासका निम्ति काम लाग्ने उपकरणहरू निर्माण गर्न सकेको छैन । 

ग्यास निकाल्न मिल्ने फोहोर धेरै नहुँदा प्रयोगमा समस्या
केन्द्रले मर्मत गरिदिएको मेसिनमा फोहोर राखेर ग्यास लिकाल्ने जिम्मा महानगरको हो । यो मेसिनमा कुहिएका तरकारी तथा फलफूल मात्रै प्रयोग हुन्छ । तर, फलफूल र तरकारीजन्य फोहोर धेरै नहुने भएकाले मेसिन सञ्चालन गर्न कठिन हुने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनले आठ वर्षअघि खरिद गरेको सो मेसिन अहिले पुरानो भइसकेकाले सञ्चालन गर्नसमेत कठिन हुन सक्ने बताए ।

नवीन मानन्धर, प्रवक्ता, काठमाडौं महानगर
अहिले निकै आधुनिक मेसिनहरू आइसकेका छन् । तैपनि, बायोग्यास प्लान्ट मेसिनलाई मर्मत गरेर सञ्चालन गर्न खोजिरहेका छौँ । केन्द्रले मर्मत गरिसकेको भए पनि प्लान्टबाट उत्पादन भएको ग्यास भण्डारण गर्ने बेलुन (ग्यास संकलन गर्ने बल्ब) बिग्रिएको छ । यसको मर्मत भएको छैन ।

‘अहिले कस्तो–कस्तो आधुनिक मेसिन आइसकेको छ, तैपनि हामीले बायोग्यास प्लान्ट मेसिन मर्मत गरेर सञ्चालन गर्न खोजिरहेका छौँ,’ उनले भने, ‘केन्द्रले मर्मत गरिसकेको भए पनि उक्त प्लान्टबाट उत्पादित ग्यास भण्डारण गर्ने बेलुन (ग्यास संकलन गर्ने बल्ब) बिग्रिएको छ । यसको मर्मत भएको छैन ।’ उनका अनुसार सो बेलुन मर्मतका लागि कडा किसिमको प्लास्टिकजन्य सामान चाहिन्छ, जुन नेपालमा पाइँदैन । युरोपबाट खरिद गर्नुपर्ने भएकोले झन्झटिलो छ । यसअघि महानगरले सो बेलुन मर्मतका लागि ठेकेदारसमेत चयन गरे पनि मर्मत सामग्री नपाइने भन्दै ठेकेदार पन्छेको प्रवक्ता मानन्धरको भनाइ छ । उनले बायोग्यास प्लान्ट मेसिन उपयोगी देखिए अन्य मेसिनसमेत खरिद गर्ने योजनासहित ०७१ सालमा सो मेसिन भित्र्याइएको जानकारी दिए । 

स्थापनादेखि नै सञ्चालन भएन
०७१ सालमा युरोपेली युनियन (इयू)ले महानगरको २० प्रतिशत र अन्य ८० प्रतिशत लागत आफैँले व्यर्होने गरी एक करोड ८६ लाखको प्लान्ट ल्याएर टेकुमा जडान गरिदिएको थियो । ०७४ सालमा मेयरमा चुनिएलगत्तै विद्यासुन्दर शाक्यले बिजुली बालेर उद्घाटन गरेका थिए । त्यसयता यो बन्द छ । 

फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर आसपासका सरकारी भवनमा वितरण गर्न सकिने लक्ष्य राखिए पनि उक्त योजना सफल हुन सकेन । ०७४ मा सो प्लान्टबाट उत्पादित बिजुली टेकुस्थित महानगरको कार्यालय प्रयोजनमा प्रयोग गरिएको थियो । त्यहाँ प्रयोग गर्दा सफल देखिएको थियो । तर, निरन्तर बिजुली उत्पादन गर्न प्राविधिक र अन्य उपकरण चाहिने भएकाले सञ्चालन गर्न छाडिएको थियो । सुरुमा परीक्षण गर्दाताका नौ किलोबाट क्षमतामा बिजुली बालिएको थियो । दैनिक १४ किलोबाट बिजुली उक्त प्लान्टबाट उत्पादन गर्न सकिन्छ । त्यतिवेला महानगरले सुरुमा बिजुली उत्पादन गरेर आसपासमा बेच्ने योजनासमेत बनाएको थियो । 


 

ad
ad