१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

भोजमा बोलाएर जातीय भेदभाव गर्ने गाउँपालिका अध्यक्षले मागे माफी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१३:oo

भोजमा बोलाएर जातीय भेदभाव गर्ने सिराहा भवानीपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले आत्मालोचना गर्दै सार्वजनिक रूपमा माफी मागेका छन् । उनले आफ्नी दिवंगत आमाको १३औँ दिनको पुन्यतिथिमा आयोजित भोजमा दलित, गैरदलित र मुस्लिमलाई प्लेकार्ड नै टाँसेर खाना खाने स्थान छुट्याएका थिए । यसबारे बिहीबारको नयाँ पत्रिकामा समाचार प्रकाशित भएको थियो । 

राष्ट्रिय दलित आयोग, राष्ट्रिय दलित नेटवर्कलगायत विभिन्न जातीय संघसंस्था तथा राजनीतिक दलका नेताहरूले जातीय भेदभाव गर्ने अध्यक्ष यादवको विरोध गर्दै कारबाहीको माग गरेका थिए । चौतर्फी विरोध, आलोचना र कारबाहीको मागपछि उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै माफी मागेका हुन् । 

भोज व्यवस्थापनका क्रममा अन्जानमा कुनै वर्ग, धर्म, सम्प्रदाय र जातलाई आत्मसम्मानमा चोट पुग्ने किसिमको वा जातीय विभेदलाई संकेत गर्ने कार्य भएको स्विकार्दै अध्यक्ष यादवले आत्मालोचना गरे । ‘जिम्मेवार राजनीतिक दलको कार्यकर्ता तथा निर्वाचित जनप्रतिनिधिका रूपमा नेपालको संविधानमा व्यवस्था गरिएको सम्मानपूर्वक बाँच्न पाउने हक, छुवाछुत तथा भेदभावविरुद्धको हकसहित दलित समुदायको सम्पूर्ण हकप्रति पूर्ण जानकार हुँदाहुँदै भोजको व्यवस्थापन गर्ने व्यक्तिबाट जातीय छुवाछुत हुने गरी भएको कामले स्तब्ध भएको छु,’ उनले भनेका छन् । 

जिम्मेवार राजनीतिक दलको कार्यकर्ता तथा निर्वाचित जनप्रतिनिधिका रूपमा नेपालको संविधानमा व्यवस्था गरिएको सम्मानपूर्वक बाँच्न पाउने हक, छुवाछुत तथा भेदभावविरुद्धको हकसहित दलित समुदायको सम्पूर्ण हकप्रति आफू पूर्ण जानकार हुँदाहुँदै भोज व्यवस्थापन गर्ने व्यक्तिबाट जातीय छुवाछुत हुने गरी भएको कामले आफू स्तब्ध भएको यादवले बताए । ‘घरको कान्छो छोरा भएकाले पूजामा आफैँ बसेको थिएँ, दिउँसो ३ बजेतिर पूजा सकिँदासम्म घरदेखि पश्चिम, दक्षिण र पूर्वपट्टि करिब पाँच बिघा क्षेत्रफलको खाली खेतमा बसेर सयौँले सामान्य रूपले खाइरहेका थिए,’ उनले भने, ‘आ–आफ्नो जातीय समुदायको अगुवाइ गरेका मान्यजनले प्लेकार्ड कहाँ कसरी राखेका थिए भन्ने देखिनँ । देखेको भए तत्काल रोक्ने थिएँ ।’

गाउँपालिका अध्यक्षसँगै राजनीतिक दलको जिम्मेवार कार्यकर्ताको हैसियतमा संविधान, प्रचलित ऐन–कानुन, मानव अधिकार एवं जातीय विभेदविरुद्धका अन्तर्राष्ट्रिय महासन्धि, मूल्य–मान्यताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उनले जिकिर गरे । 

कारबाही माग्दै ज्ञापन
नयाँ पत्रिकामा बुधबार ‘गाउँपालिका अध्यक्षले नै गरे जातीय छुवाछुत’ भन्ने समाचार प्रकाशित भएपछि दलित आयोग, दलित अधिकारका लागि क्रियाशील संघसंस्थाले अध्यक्ष यादवलाई कानुनी कारबाहीको माग गरिरहेका छन् । संयुक्त दलित मोर्चा सिराहाले शुक्रबार सिराहाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै भोजमा सरिक भएका सार्वजनिक पद धारण गरेका व्यक्तिले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र प्लेकार्ड नै राखेर गैरदलित, दलित र मुस्लिमलाई अलग राखी जातीय विभेद गर्ने अध्यक्षलाई कानुनबमोजिम कारबाही हुनुपर्ने माग गरेको छ । मोर्चाले दलितमाथि भएको जघन्य अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही नगरिए सशक्त आन्दोलन गरिने चेतावनी दिएको छ । 

त्यस्तै, नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य राजकुमार राउत कुर्मी, सिराहा शाखा अध्यक्ष विमल ठाकुरसहितको टोलीले शुक्रबार बिहान भोज गरिएको ठाउँको स्थलगत अनुगमन तथा गाउँपालिका अध्यक्ष र भोजमा सामेल भएका केही दलितसँग भेटघाटसहित कुराकानी गरी तथ्य संकलन गरेको जनाएको छ । संगठनका केन्द्रीय सदस्य कुर्मीले स्थलगत तथ्य संकलनबाट फर्किएपछि सम्बन्धित निकायले छानबिन गरी ठहर भएबमोजिम कानुनी कारबाही गर्न माग गरेका छन् । 

कानुन बनाउने संघ, प्रदेशका मन्त्री, सांसददेखि कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेका व्यक्ति, स्थानीय तहका जनप्रतिनिधिलगायत व्यक्ति पनि जातीय छुवाछुत हुने गरी व्यवस्थापन गरिएको भोजमा सामेल भएको पाइएपछि दलित अधिकारकर्मीले विरोध गर्दै आएका छन् । बिहीबार राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले विज्ञप्ति जारी गरी कारबाहीको माग गरेका थिए । पालिका अध्यक्षजस्तो सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिले मानव अधिकारको अन्तर्राष्ट्रिय मूल्य–मान्यता, नेपालको संविधान र प्रचलित ऐन–कानुनको उल्लंघन हुने गरी शोषण–उत्पीडनमा पारिएका समुदायलाई घोषित रूपमा छुट्याउने गरी ब्यानरसमेत राखेर दलित समुदायलाई छुट्टै भोज खुवाउने कार्य गर्नु निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख थियो । 

 पत्रकार सम्मेलन गरेर अध्यक्ष उग्रनारायण यादवले भने–जिम्मेवार 
राजनीतिक दलको कार्यकर्ता तथा निर्वाचित जनप्रतिनिधिको रूपमा नेपालको संविधानमा व्यवस्था गरिएको सम्मानपूर्वक बाँच्न पाउने हक, छुवाछुत तथा भेदभावविरुद्धको हकसहित दलित समुदायको सम्पूर्ण हकप्रति पूर्ण जानकार हुँदा हुँदै भोजको व्यवस्थापन गर्ने व्यक्तिहरूबाट जातीय छुवाछुत हुने गरी भएको कामले म स्तब्ध भएको छु । पूजामा आफैँ बसेको हुनाले आ–आफ्नो जातीय समुदायको अगुवाइ गरेकाहरूले प्लेकार्ड कहाँ कसरी राखेका थिए भन्ने देखिनँ ।  देखेको भए तत्काल रोक्ने थिएँ ।

ad
ad