१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दुई लाख ३१ हजार घरजग्गा कारोबार हुँदा १८० अपार्टमेन्ट मात्रै किनबेच

पाइपलाइनमा रहेका अपार्टमेन्ट परियोजनाबाट व्यवसायी पछाडि हटे, सिंगल युनिट हाउजिङ परियोजनामा केन्द्रित

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:o६:oo

नेपालमा ‘सिंगल युनिट’ आवासमै बढी आकर्षण देखिँदा हाइराइज आवासीय अपार्टमेन्ट किनबेच अत्यन्तै कम हुने गरेको छ । चालू आर्थिक वर्षको पहिलो सात महिनामा एक सय ८० अपार्टमेन्ट किनबेच भएका छन् । जबकि, यही समयमा देशभरि दुई लाख ३१ हजार चार सय २३ घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा तरलता (लगानीयोग्य रकम) बढ्न थालेसँगै घरजग्गा किनबेच क्रमशः बढ्न थालेको छ । तर, हाइराइज आवासीय भवनका अपार्टमेन्टको किनबेच भने घटिरहेको देखिन्छ । उपभोक्ताले अपार्टमेन्ट बसाइ पूरै बहिष्कार गरेका भने होइनन्, पछिल्लो समय किनबेचका लागि नयाँ अपार्टमेन्ट परियोजना नै आउन सकेका छैनन् । 

नेपालमा अपार्टमेन्ट कल्चर विकास हुँदै गरेको वेलामा विनाशकारी भूकम्प गएपछि अपार्टमेन्टको जग नै हल्लियो । ०७२ सालको भूकम्पले हल्लाएको अपार्टमेन्ट व्यवसाय त्यसयता पूरै सुस्तायो । त्यस समय धेरै निर्माणाधीन अपार्टमेन्ट परियोजना स्थगित नै गर्नुपरेको थियो । अपार्टमेन्ट किनबेच घटेपछि पाइपलाइनमा रहेका परियोजनाबाट पनि घरजग्गा व्यवसायी पछाडि हटे । र, सिंगल युनिट घरका हाउजिङ परियोजनामा केन्द्रित भए ।

अहिले नेपालीले भूकम्को धक्का बिर्सिसकेका छन् । बिस्तारै अपार्टमेन्टको खोजी हुन थालेको छ । तर, बिक्रीका लागि नयाँ अपार्टमेन्ट स्टक नरहेको जग्गा तथा आवास विकास महासंघको भनाइ छ । अहिले खरिद–बिक्री भइरहेका अपार्टमेन्ट युनिट पुरानै परियोजनाका हुन् । भूकम्पले हल्लिएका कतिपय अपार्टमेन्ट अहिले मर्मत–सम्भार गरेर पनि बिक्री भइरहेका छन् । पछिल्लो समय हाइराइज अपार्टमेन्टको खोजी हुन थालेपछि आवास विकास कम्पनीहरू अपार्टमेन्ट निर्माणमा जुटेका छन् ।

काठमाडौं उपत्यकासहित पोखरा, बुटवल, भैरहवा, चितवन, वीरगन्ज, विराटनगर, झापालगायत ठाउँमा धमाधम अपार्टमेन्ट बनिरहेका छन् । पोखरामा मात्रै करिब सात सय युनिटका एक दर्जन हाराहारी अपार्टमेन्ट परियोजना निर्माण भइरहेका छन् । काठमाडौं उपत्यकामा एउटै अपार्टमेन्ट युनिटको १७ करोड रुपैयाँसम्म पर्ने लक्जरी अपार्टमेन्ट परियोजना निर्माण सुरु भएका छन् । मध्यम वर्गलाई तार्गेट गरेर अझै पनि अपार्टमेन्ट निर्माण सुरु भएको छैन ।

 कुन महिना कति अपार्टमेन्ट बिक्री ?
चालू आवको पहिलो महिना साउनमा २५ अपार्टमेन्ट बिक्री भएका थिए भने भदौमा ३१, असोजमा २२, कात्तिकमा ३०, मंसिरमा २६, पुसमा २४ र माघमा २२ अपार्टमेन्ट बिक्री भएको विभागले जनाएको छ । विभागको तथ्यांकले अपार्टमेन्ट खरिद–बिक्री निरन्तर घटिरहेको देखिन्छ । त्यसो त पछिल्लो समय अपार्टमेन्टको मूल्य ‘सिंगल युनिट’ घरकै सरह भन्न थालेपछि उपभोक्ता अपार्टमेन्ट किन्न कस्सिन नसकेको बताइन्छ । माघ महिनामा झापाको भद्रपुरमा एक, ललितपुरमा तीन, काठमाडौंमा १६, पर्साको वीरगन्जमा दुईवटा अपार्टमेन्ट किनबेच भएका छन् ।

 मध्यम वर्गको पहुँचमा छैन
पछिल्लो समय बन्दै गरेका सबै पार्टमेन्टको मूल्य मध्यम वर्गको पहुँचभन्दा धेरै टाढा छ । यी अपार्टमेन्ट मध्यम वर्गभन्दा पनि एलिट र उच्च वर्गलाई तार्गेट गरेर बनाउन लागिएको हो । मध्यम वर्गलाई भन्दा उच्च वर्गलाई तार्गेट गरेर अपार्टमेन्ट बनाउँदा केही सेवा–सुविधा थपेकै भरमा चर्को मूल्यमा बिक्री गर्न पाइने र नाफा पनि उच्च हुने हुँदा अधिकांश डेभलपर कम्पनी लक्जरी अपार्टमेन्ट निर्माणमा कस्सिएका छन् । काठमाडौं उपत्यकामा एक हजार स्क्वायर फिटको दुई बेडरुम अपार्टमेन्टको मूल्य रिङरोडबाट बाहिरै जाँदा पनि दुई करोडभन्दा बढी तिर्नुपर्ने अवस्था छ । ठिक्कको अपार्टमेन्ट खरिद गर्दा पनि डेढ करोड रुपैयाँ लगानी गर्नुपर्छ । अर्थात्, अपार्टमेन्ट बसाइका लागि पनि घरको भन्दा बढी मूल्य तिर्नुपर्ने बाध्यता छ ।

 मोफसलमा बन्दै अपार्टमेन्ट
 सहरी क्षेत्रमा जग्गाको मूल्य चर्किँदै गएको र सरकारले पनि हाइराइज भवन निर्माणमा कसिलो नीति लिएपछि अपार्टमेन्टको मूल्य महँगो पर्न गएको व्यवसायीको भनाइ छ । सोही कारण काठमाडौं उपत्यकाबाहेक पोखरा, भैरहवा, वीरगन्जदेखि विराटनगरसम्म अपार्टमेन्ट परियोजना घोषणा भएका छन् । तर, सबै अपार्टमेन्ट परियोजनाका आवासको मूल्य भने अत्यन्तै चर्को छ । ‘सहरमा खाली जग्गा कम हुँदै जानुका साथै मूल्य पनि अचाक्ली बढेर चुलीमा पुगेपछि जोकोहीले जग्गा किनेर घर बनाएर बस्न सक्ने अवस्था नभएको व्यवसायी इच्छाराज वाग्ले बताउँछन् । काठमाडौंको रिङरोडबाहिर तीन–चार किलोमिटर दूरीमा ५–६ तलाका ८–१० भवन बनाएर अपार्टमेन्ट कोलोनी बनाउन सकिने उनको बुझाइ छ । नयाँ नीतिले थोरै जग्गामा पनि अग्लो भवनमा जान सकिने व्यवस्था गरेको छ । 

ad
ad