१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १४:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भारतीय विदेशसचिव क्वात्रा सोमबार नेपाल आउँदै

प्रधानमन्त्रीको भारत भ्रमणलगायत द्विपक्षीय एजेन्डामाथि छलफल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:४o:oo

भारतीय विदेशसचिव विनयमोहन क्वात्रा नेपालको औपचारिक भ्रमणका लागि सोमबार आउने तय भएको छ । परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले शुक्रबार क्वात्राको भ्रमण सार्वजनिक गरेका छन् । विदेशसचिव क्वात्रा मंगलबारै स्वदेश फर्किनेछन् । विदेशसचिवका रूपमा क्वात्रा पहिलोपटक नेपाल आउन लागेका छन् । विदेशसचिव हुनुअघि क्वात्रा नेपालमा भारतका लागि राजदूत थिए।

उनी परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणामा आउन लागेको परराष्ट्रले जनाएको छ । क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसँग शिष्टाचार भेट गर्ने तय भएको छ।

परराष्ट्रसचिव पौड्याल र क्वात्राबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ जहाँ कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिलगायतका विषयमा छलफल हुनेछ । विदेशसचिव क्वात्रा प्रधानमन्त्री प्रचण्डलाई भारतको औपचारिक भ्रमणका लागि औपचारिक निमन्त्रणा दिन र द्विपक्षीय विषयमा कुराकानी गर्न आउन लागेको कूटनीतिक स्राेतहरूको भनाइ छ।  

यसअघि परराष्ट्रसचिव भरतराज पौड्यालले भारत भ्रमण गरेका थिए । क्वात्राको भ्रमण नियमित भ्रमण आदान–प्रदानको सिलसिलामा हुन लागेको र यसले नेपाल–भारत समबन्ध थप विस्तार र गहिरो बनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । क्वात्रा यसअघि नेपालका लागि भारतीय राजदूत थिए । राजदूतका रूपमा कार्यकाल सकिन लाग्दा उनी विदेशसचिव नियुक्त भएका थिए । नेपाल आउनुभन्दा अघि क्वात्राले भुटानको औपचारिक भ्रमण गरेका थिए।

भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘दुई देशबीचको नियमित उच्चस्तरीय आदान–प्रदानको परम्परा र भारतले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राख्दै यो भ्रमण भएको हो। भ्रमणका क्रममा दुई विदेशसचिवले नेपाल र भारतबीचको बहुआयामिक सहयोगबारे छलफल गर्नेछन्। यो भ्रमण हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउने अवसर हुनेछ।’

ad
ad