मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सौरभ यादव राजविराज
२०७९ माघ २३ सोमबार १६:३०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्रष्टाचारमा मेयर निलम्बित, उपमेयर र प्रशासकीय अधिकृत तोकआदेशमा कर्मचारी भर्ना गर्दै

राजविराज नगरपालिकामा बेथिति :

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
२०७९ माघ २३ सोमबार १६:३०:००

राजविराज नगरपालिकामा ऐन–नियम मिचेर तोकआदेशकै भरमा कर्मचारी नियुक्त गरिएको छ । खुला प्रतिस्पर्धा नगराई नगरपालिकाले ऐन–नियम मिचेर तोकआदेशका आधारमा करारमा कर्मचारी नियुक्त गरेको हो ।

नगर प्रमुख भीमराज यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बित छन् । कार्यवाहक नगरप्रमुख भएकी उपप्रमुख इसरत परविणले हालसम्म तीनजनालाई आफ्नो तोकआदेशमा दैनिक ज्यालादारीमा नियुक्ति दिएकी छिन्  । उनले राजविराज– १ की इशा परविणलाई असोज ४ मा र मोहम्मद सलाउद्दिनलाई असोज ९ तथा राजविराज– २ का हरिनारायण साहलाई असोज ११ मा नियुक्ति दिएकी हुन् । निशालाई दैनिक एक हजार ९६ रुपैयाँ तलब दिने गरी कम्प्युटर अपरेटरमा नियुक्ति दिइएको छ । त्यस्तै, सलाउद्दिनलाई दैनिक सात सय रुपैयाँ दिने गरी कार्यालय सहयोगी तथा हरिनारायणलाई दैनिक एक हजार एक सय ५७ रुपैयाँ दिने गरी सहायकस्तरको पाँचौँ तहमा नियुक्ति दिइएको छ ।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले पनि आफूखुसी एकजनालाई तोकआदेशकै भरमा नियुक्त गरेका छन्  । महोत्तरीको भंगहा– ८ धरमपुर घर भएका रत्नमणिलाल कर्णलाई हेल्थ असिस्टेन्ट पदमा दैनिक एक हजार एक सय ५७ रुपैयाँ पाउने गरी उनले नियुक्त गरेका हुन् । यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका भोगेन्द्र यादवले समेत तोकआदेशका भरमा नियुक्ति दिएका थिए । उनी स्थानीय चुनावअघि ०७८ चैत १६ देखि गत भदौ ४ सम्म प्रमुख प्रशासकीय अधिकृत रहेका थिए । यादवले नौसाद अली, सुरज कार्की, श्यामनारायण यादव, जगदेव यादव, राजेशकुमार दास र प्रदीपकुमार यादवलाई करारमा नियुक्ति दिएका थिए ।

नगरपालिकाको ठाडो आदेशमा अस्पतालमा पाँच कर्मचारी नियुक्त
राजविराज नगरपालिकामा मात्र नभई गजेन्द्र नारायणसिंह अस्पतालमा समेत जनप्रतिनिधि र कर्मचारिले सिफारिस पठाएर कर्मचारी नियुक्त गराएका छन् । नगरपालिकाले विभिन्न मितिमा सिफारिसपत्र पठाएर पाँच कर्मचारीलाई करारमा नियुक्ति गराएको हो ।

नगरपालिकाले सातौँ तहका तीन, सहायक चौथोका एक र पाँचौँ तहका एक गरी पाँचजनालाई ठाडो आदेशमै जागिर खुवाएको छ । नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्रप्रसाद यादवले गत असार २३ गते विद्यानन्द यादव, दीपेन्द्र यादव र बब्लु यादवलाई सातौँ तहमा जागिर खुवाउन अस्पताललाई आदेश दिएका थिए ।

यादवले साउन २० गते पनि अर्को आदेश गरी सहायक चौथो तहमा रञ्जना मण्डललाई जागिर खुवाउन भनेका थिए । ‘नगरपालिकाबाट अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि स्रोत सुनिश्चित भइसकेको हुँदा सहायक चौथोस्तरका मण्डललाई नेपाल सरकारको नयाँ तलबमानअनुसार तलब, महँगी भत्ता, चाडपर्व खर्च, पोसाक भत्ता र ल्याबमा काम गरेबापतको जोखिम भत्तासमेत उपलब्ध गराइने’ उक्त पत्रमा उल्लेख छ ।

त्यस्तै, भदौ २ गते नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निरञ्जनप्रसाद यादवले नगरपालिकाबाट दिइने अनुदानबाट तलब खुवाउने गरी अहमद अन्सारीलाई पाँचौँ तहमा जागिर दिन आदेश दिएका थिए । 

तर, राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविण भने आवश्यक भएर नियुक्ति दिएको बताउँछिन् । प्रक्रिया नपुर्‍याई तोकआदेशका आधारमा नियुक्ति दिइएको भन्ने प्रश्नमा उनले भनिन्, ‘नगरपालिकामा धेरै काम बढेको छ । त्यही भएर नियुक्ति दिएको हो ।’

नगरपालिकाका प्रवक्ता जयनारायण मण्डलले कार्यपालिकाको बैठकबाटै अस्पतालमा कर्मचारी नियुक्त गर्न सिफारिस गरिएको बताए । उनले भने, ‘अस्पतालमा कर्मचारीको आवश्यकता थियो, त्यही भएर बजेट र नामसहित सिफरिस गरिएको हो ।’