मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
बिबिसी सिड्नी
२०७९ माघ २२ आइतबार ०९:२०:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

सेक्सका लागि निद्रा त्यागेर मृत्यु निम्त्याउँदै क्वोल

Read Time : > 1 मिनेट
बिबिसी सिड्नी
२०७९ माघ २२ आइतबार ०९:२०:००

लोपोन्मुख उत्तरी क्वोलहरूले अधिक यौनसम्पर्कका लागि निद्रा त्यागिरहेका छन् । यसले उनीहरूलाई मारिरहेको हुन सक्ने अस्ट्रेलियाको एक नयाँ अनुसन्धानले देखाएको छ । अनुसन्धानअनुसार पुरुष क्वोलहरू सम्भोगका लागि जोडीको खोजीमा लामो दूरीको यात्रामा निस्किन्छन् र प्रायः यो क्रममा उनीहरूले निद्रा परित्याग गर्ने गर्छन् । 

विश्रामको कमीले यी मांसहारी मार्सुपियलका भालेहरू सामान्यतः एक प्रजनन मौसममै किन मरिरहेका छन् भन्ने विशेषज्ञहरूको भनाइ छ, जबकि पोथीहरू चार वर्षसम्म बाँच्न र प्रजनन गर्न सक्छन् ।

‘उनीहरूले सम्भोगका लागि सम्भव भएसम्म लामो दूरी पार गर्ने गरेका छन् । सम्पूर्ण ऊर्जा र समय पोथीहरू खोज्नमै बित्दा उनीहरूले सुत्न नै छाड्ने गरेको पाइयो,’ सनसाइन कोस्ट विश्वविद्यालयका वरिष्ठ व्याख्याता क्रिस्टोफर क्लेमेन्टेले भने । उनको संस्थाले क्विन्सल्यान्ड विश्वविद्यालयसँग मिलेर यो अध्ययनको नेतृत्व गरेको थियो । अनुसन्धान गत बुधबार प्रकाशित भएको हो ।

अन्वेषकहरूले अस्ट्रेलियाको उत्तरी क्षेत्रको तटमा रहेको ग्रुटे इल्यान्डट टापुमा जंगली घुमन्ते भाले र पोथी क्वोलहरूमा यन्त्रहरू जडान गरी ४२ दिनभन्दा बढी समयको तथ्यांक संकलन गरेका थिए । उनीहरूले अध्ययन गरेका केही क्वोल एक रातमा १० (६ दशमलव २ माइल) भन्दा बढी हिँडेका थिए, जुन औसत पाइलाको लम्बाइको आधारमा मानव दूरीमा लगभग ४० किलोमिटरमा गणना हुने अध्ययन बताउँछ । अध्ययनमा यो प्रजातिका भालेहरूले परजीवीहरूलाई बढी आकर्षित गर्ने गरेको पनि देखियो । यसको सम्भावित कारण यस्तो हुन सक्छ– पोथीको खोजीमा एक सुरमा रहँदा उनीहरूले सरसफाइका लागि थोरै समय मात्रै पाउँछन् । भालेहरू खाना खोज्ने र सिकारीहरूबाट बच्ने सवालमा पनि पोथीहरूजत्तिको सतर्क नहुने अन्वेषकहरूले बताए ।

‘अनिद्रा र लामो अवधिको लक्षणहरूले सुधारलाई असम्भव बनाउँछ । यसले प्रजनन मौसमपछि भालेमा रेकर्ड गरिएका मृत्युका कारणलाई व्याख्या गर्न सक्छ,’ अध्ययनका प्रमुख लेखक जोसुआ गास्कले भने, ‘अनिद्रा र कमजोरीका कारण यिनीहरू सजिलै सिकार बन्छन्, सवारीसाधनको ठक्करबाट जोगिन सक्दैनन् वा थकानकै कारण मर्न सक्छन् ।’

प्रारम्भिक तथ्यांकले अस्ट्रेलिया र पपुवा न्युगिनीमा पाइने क्वोल र मार्सुपियल स्तनपायी जनावरहरूको बृहत् परिवारहरूलाई कसरी निद्राको कमीले असर गर्छ भन्नेबारे थप अध्ययनको आवश्यकतालाई औँल्याएको ग्यास्कको टिप्पणी छ । ‘यदि पुरुष क्वोलहरूले आफ्नो अस्तित्वलाई हानि गर्न निद्रा त्याग्छन् भने उत्तरी क्वोलहरू शरीरको कार्यमा अनिद्रा वा आरामको कमीका प्रभावका लागि उत्कृष्ट नमुना प्रजाति बन्नेछन्,’ उनले भने । अस्ट्रेलियाको वन्यजन्तु संरक्षणका अनुसार त्यहाँ एक लाखजति उत्तरी क्वोल बाँकी छन् । तर, उनीहरूको संख्यामा तीव्र गिरावट आइरहेको छ ।