मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १९ बिहीबार
  • Wednesday, 02 September, 2026
२o७९ माघ १९ बिहीबार १५:३५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजाको तस्बिर नछाप्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १९ बिहीबार १५:३५:oo

अस्ट्रेलियाले आफ्नो बैंकनोटमा बेलायती राजाको तस्बिर नछाप्ने घोषणा गरेको छ। अस्ट्रेलियाको केन्द्रीय बैंकले आज उक्त घोषणा गरेको हो। 

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको तस्बिरअंकित अस्ट्रेलियाको पाँच डलरको नोटमा अब देशको इतिहास  र आदिवासी संस्कृतिको सम्मान गर्ने चित्र छापिने उक्त बैंकले जनाएको छ। 

केन्द्रीय बैंकको यो निर्णयसँगै हालै राजसिंहासन सम्हाल्नुभएका बेलायतका राजा चार्ल्स तृतीयको फोटो नोटमा छापिनेछैन। 

नोटबाट राजाहरूको फोटो हटाउने निर्णयको अर्थ अस्ट्रेलियाको कुनै पनि कागजी मुद्रामा राजसंस्था प्रमुख रहने छैनन्। 

गत सेप्टेम्बर ८ मा महारानी एलिजाबेथको मृत्यु भएपछि राष्ट्राध्यक्षको सम्मानमा अस्ट्रेलियाले राष्ट्रिय शोकको घोषणा गरेकामा केही आदिवासी समूहले त्यसको विरोध गरेका थिए। 

विरोधका क्रममा उनीहरूले राजतन्त्रको उन्मूलनका निम्ति आह्वान गरेका थिए । यसले  संवैधानिक राजतन्त्रको भविष्यबारेको बहसलाई  पुनः सतहमा ल्याएको छ । संवैधानिक राजतन्त्रात्मक लोकतान्त्रिक मुलुक अस्ट्रेलियाका राष्ट्राध्याक्ष राजा चार्ल्स तृतीय छन्। सन् १९९९ मा भएको जनमत सङ्ग्रहमा गणतन्त्र झिनो मतले पराजित भएको थियो। 

केन्द्रीय बैंकको उक्त निर्णयलाई एन्थोनी अल्बानिजको वामपन्थी सरकारले समर्थन गरेको बताएको छ । सरकारको यो समर्थनबाट अस्ट्रेलिया गणतन्त्रको मार्गमा उन्मुख भएको संकत गरेको छ। 

नयाँ नोट छापिन केही वर्ष लाग्ने बताइएको छ भने सरकारले पनि आदिवासी समूहहरूसँग परामर्श गर्ने जनाएको छ। नयाँ नोटको प्रारूप पनि तयार भइसकेको छैन भने त्यसबारे थप निर्णय पनि नभएको केन्द्रीय बैंकका अधिकारीहरूले बताएका छन्। 

राजा चार्ल्स तृतीयको फोटो नोटमा नछाप्ने निर्णयको आदिवासी राजनीतिज्ञ तथा समुदायका नेताले स्वागत गरेका छन्। बेलायतको उपनिवेशबाट मुक्त हुने आफ्नो चाहनापूर्तिको दिशामा यो पहिलो विजय भएको टिप्पणी आदिवासी नेताले गरेका छन्।