१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ११ बुधबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ माघ ११ बुधबार १o:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बोतल, जर्किनलगायत भाँडोमा अति प्रज्ज्वलनशील पदार्थ बिक्री–वितरण नगर्न प्रहरीको अनुरोध    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ माघ ११ बुधबार १o:१५:oo

सुरक्षा संवेदनशीलताको सूचनाविपरीत पेट्रोलियम पदार्थको बिक्री–वितरण गरिएको पाइएमा प्रचलित कानुनबमोजिम हैदसम्मको कानुनी कारबाही हुने

नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुला रूपमा बिक्री–वितरण नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गएराति सूचना जारी गरी पेट्रोलियम पदार्थको खुला रूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने भएकाले बिक्री–वितरण नगर्न अनुरोध गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पछिल्लो समय काठमाडौंका केही पेट्रोलपम्पबाट खुला रूपमा बोतल, जर्किनलगायत भाँडोमा अति प्रज्ज्वलनशील पदार्थ बिक्री–वितरण भएको भन्दै त्यसलाई तत्काल रोक्न पेट्रोलपम्प सञ्चालकलाई आग्रह गरेका छन् ।

पेट्रोलपम्पबाट सीधै सवारीसाधनमा भर्नेबाहेक खुला रूपमा पेट्रोलियम पदार्थको बिक्री–वितरण नगर्न–नगराउन सञ्चालकलाई सूचित गरिएको प्रहरीले जनाएको छ । सुरक्षा संवेदनशीलताको सूचनाविपरीत पेट्रोलियम पदार्थको बिक्री–वितरण गरिएको पाइएमा प्रचलित कानुनबमोजिम हैदसम्मको कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ । मंगलबार दिउँसो एक युवाले काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेपछि प्रहरीले उक्त सूचना सार्वजनिक गरेको हो ।

संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा आज बिहान निधन भएको हो । अस्पतालका चिकित्सक डा. किरण नकर्मीका अनुसार आचार्यको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।