१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
कमलराज भट्ट काठमाडौं
२o८१ बैशाख २४ सोमबार २२:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमालेका फरार सांसद महतोलाई संसद् भवनबाटै पक्राउ गर्ने तयारी, प्रहरी अलर्ट

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २२:१८:oo

सुरक्षाकर्मीलाई छल्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिएका एमालेका फरार सांसद लक्ष्मी कोइरी महतोलाई संसद् भवनबाट पक्राउ गर्ने तयारी गरिएको छ । 

बिहीबार हुने सभामुखको निर्वाचनमा कोइरी मतदान गर्न आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले सतर्कता अपनाएको हो । 

कर्तव्य ज्यान मुद्दामा फरार कोइरीले प्रतिनिधिसभामा उपस्थित भएर २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए । 

गृहमन्त्रीसँगै फरार अभियुक्तले विश्वासको मत दिएको तथ्य बाहिर आएपछि मन्त्री रवि लामिछानेले कोइरीलाई पक्राउ गर्न आइजिपी धीरजप्रताप सिंहलाई निर्देशन दिइसकेको बताएका थिए । 

तर, गृहमन्त्रीले निर्देशन दिएको एक सातासम्म कोइरी पक्राउ परेका छैनन् । बिहीबार सभामुखको निर्वाचनमा आफ्नो मत जाहेर गर्न कोइरी आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरी अलर्ट भएको हो । 

प्रहरी केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले गृहमन्त्रीको आदेश कार्यान्वयनका लागि आफूहरू तयारी अवस्थामा रहेको बताए । 

उच्च अदालतको आदेशसमेत कार्यान्वयन गर्नुपर्ने भएकाले कानुनअनुसार अभियुक्तलाई जहाँ भेट्यो त्यहीँबाट नियन्त्रणमा लिइने बताए । 

संसद् भवन आए पक्राउ पर्छन् भन्ने प्रश्नमा प्रवक्ता राईले कानुनबमोजिम जुनसुकै स्थानबाट नियन्त्रण लिइने बताए । प्रहरीले नियन्त्रणमा लिन आवश्यक निगरानी बढाएको उनले बताए । 

सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा उच्च अदालत जनकपुरबाट पुर्पक्षका लागि थुनामा राख्न आदेश भए पनि कोइरी तारेख गुजारेर फरार छन् । 

प्रहरी प्रधान कार्यालयले अदालतको आदेश कार्यान्वयनका लागि सहयोग गर्न संसद् सचिवालयलाई ७ पुसमा पत्राचार गरेको थियो । 

सचिवालयले प्रहरीको पत्रबारे एमालेलाई जानकारी गराइसकेको छ । तर सत्तारुढ दलकै उच्च नेताको संरक्षणमा कोइरी निर्वाध संसद् आउने र कामकारबाहीमा समेत भाग लिइरहेका छन् ।

ad
ad