१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o८:२४:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रशिक्षण लिँदै नयाँ सांसद

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:२४:oo

संसदीय कामकारबाही, अभ्यास, मूल्यमान्यता, मर्यादा र भूमिकाबारे प्रशिक्षण लिँदै छन् नयाँ सांसद 

संघीय संसद्मा पहिलोपटक आएका सांसदलाई दलहरूले संसदीय कामकारबाही र भूमिकाबारे प्रशिक्षण दिन थालेका छन् । ४ मंसिरमा सम्पन्न निर्वाचनपछि बस्न लागेको पहिलो बैठकपूर्व प्रतिनिधिसभाका नयाँ सदस्यलाई संसदीय अभ्यास, मूल्यमान्यता र मर्यादाबारे दलहरूले प्रशिक्षण दिन थालेका हुन् । संघीय संसद्को पहिलो अधिवेशन २५ पुसमा आह्वान गरिएको छ । 

२० सिट भएको संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदलाई दुईदिने प्रशिक्षण दिइसकेको छ । पूर्वप्रशासक र संसदीय मामिलाका विज्ञ बोलाएर प्रशिक्षित गरिसकेको रास्वपाले संसदीय दलमा बोलाएरसमेत सांसदलाई संसदीय गतिविधिमा अभ्यस्त बनाउन खोजिरहेको प्रवक्ता मुकुल ढकालले बताए ।

अर्काे नयाँ दल जनमत पार्टीले पनि सांसदलाई संसदीय गतिविधि, जनजीविकाका सवाल र कानुन निर्माणमा खेल्न सकिने भूमिकाबारे प्रशिक्षित गरिसकेको मन्त्रीसमेत रहेका सांसद अब्दुल खानले बताए । प्रतिनिधिसभामा जनमत पार्टीका चार सांसद छन् । 

अन्य दलले पनि विज्ञ बोलाएर सांसदलाई संसदीय अभ्यास सिकाउने तयारी गरेका छन् । राप्रपाले संसदीय मामिलाका जानकार बोलाएर प्रशिक्षण दिने योजना बनाएको, तर मिति भने तय भइनसकेको प्रवक्ता मोहन श्रेष्ठले बताए । 

संसदीय दलको हैसियत प्राप्त गरेका १० दलमध्ये ठूला दलले अझै प्रशिक्षण दिएका छैनन् । प्रतिनिधिसभाको पहिलो बैठक बस्न चार दिन बाँकी रहँदा कांग्रेस, एमाले र माओवादीले प्रशिक्षणको मिति तय गरेका छैनन् । 

प्रमुख सत्तारूढ माओवादीले नयाँ सांसदलाई आफ्नो भूमिका, संसदीय गतिविधि, कानुन निर्माणलगायत विषयमा प्रशिक्षित गराउने निर्णय गरिसकेको छ । तर, समय तय हुन बाँकी रहेको प्रमुख सचेतक हितराज पाण्डेले बताए । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सांसदलाई प्रशिक्षित गरिने उनको भनाइ छ । प्रतिनिधिसभामा माओवादीका ३२ सांसद छन् । 

संसद्को पहिलो दल कांग्रेसले संसदीय दलको बैठकबाट प्रशिक्षणको टुंगो लगाउँदै छ । ‘नयाँ आएका साथीहरूलाई संसद्मा खेल्नुपर्ने भूमिका, कानुन निर्माणमा सशक्त सहभागिता र मर्यादाका विषयमा प्रशिक्षण दिनुपर्छ । संसदीय दलको बैठक बस्दै छ । त्यसले तय गर्ला,’ महामन्त्री गगन थापाले भने । 

कांग्रेस दलको बैठक २३ पुसमा बस्दै छ । बैठकले विश्वासको मतमा कांग्रेसको भूमिका, संसद्मा खेल्ने भूमिकाको विषय तय गर्ने प्रमुख सचेतक रमेश लेखकले बताए । प्रशिक्षण विश्वासको मतपछि नै हुने उनको भनाइ छ । 

सत्तासाझेदार एमालेले नवनिर्वाचित महिला सांसदलाई पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेबाट प्रशिक्षित गराइसकेको छ । नयाँ आएका सबै सांसदलाई संयुक्त रूपमा प्रशिक्षण गराउने योजना पार्टीको संसदीय मामिलाले बनाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । 

१० सिट भएको एकीकृत समाजवादीले भने छुट्टै प्रशिक्षणको कार्यक्रम बनाएको छ । ‘सबै सांसदहरू पुरानै हुनुहुन्छ । संसदीय भूमिकामा अभ्यस्त हुनुहुन्छ । पार्टीका बैठकहरू भइरहेकै छन् । छुट्टै प्रशिक्षणको आवश्यकता महसुस गरिएको छैन,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने । 

जसपाले सांसदहरू काठमाडौं फर्किएपछि संसद्मा कसरी प्रस्तुत हुने भनेर विज्ञहरू नै बोलाएर संसदीय अभ्यासबारे ब्रिफिङ गराउने योजना बनाएको प्रमुख सचेतक रामसहायप्रसाद यादवले बताए । चार सांसद भएको लोसपामा भने तीनजना संसदीय राजनीतिका दिग्गज भएकाले प्रशिक्षणको आवश्यकता नै नरहेको नेता सुरेन्द्र झाले बताए । संसद्मा पार्टीको भूमिकाबारे सामान्य छलफल भने भइरहेको उनको भनाइ छ । 

रेशम चौधरीसहित थारू आन्दोलनका राजबन्दी रिहाइ, झुटा मुद्दा फिर्ताको बटमलाइन बनाएको नागरिक उन्मुक्ति पार्टीले यी एजेन्डा लिएर प्रस्तुत हुने गरी तयारी गरिरहेको दलकी नेता रञ्जिता श्रेष्ठले बताइन् । 

यसका अलावा सांसदहरूले व्यक्तिगत रूपमा पनि संसदीय अध्यासबारे जानकारी लिने र कसरी प्रस्तुत हुने भन्ने तयारी गरिरहेका छन् । माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले नियमावली अध्ययन गरिसकेको, विगतमा भएका अभ्यास हेरिरहेको तथा अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरिरहेको बताए । यसका अलावा संसद्मा कसरी प्रस्तुत हुने भनेर विभिन्न क्षेत्रका विज्ञहरूबाट सुझाव लिइरहेको, कानुन निर्माणमा सांसदको भूमिका खोजिरहेको र उठाउनुपर्ने एजेन्डाको तयारी गरिरहेको बताए । रास्वपाकी सांसद निशा डाँगीले नियमावलीसहित अभ्यासहरूको अध्ययन गरिरहेको बताइन् । जनताका न्यूनतम आकांक्षाको प्रतिनिधित्व गर्ने गरी आफ्नो तयारी रहेको उनको भनाइ छ । 

सचिवालयको छुट्टै प्रशिक्षण
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई संसद् सचिवालयले संसदीय गतिविधिसम्बन्धी छुट्टै प्रशिक्षणसमेत दिने गरेको छ । यसपटक नयाँ सभामुख आएपछि सचिवालयको संसदीय प्रशिक्षण शाखाले संसदीय कामकारबाहीसम्बन्धी परिचयात्मक कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ । कार्यक्रममार्फत सांसदहरूलाई संसदीय भूमिका, विधेयकको प्रक्रिया, समिति प्रणालीलगायत विषयमा प्रशिक्षण दिइनेछ ।

‘एउटा सांसदलाई संसदीय भूमिकामा कसरी प्रखरमा बनाउने विषय हुन्छ । कानुन निर्माण, विधेयकमा संशोधन, समितिहरूले कसरी काम गर्छ, सुविधा, आचारणको कुरा, सांसदले पालना गर्ने नियमावलीका व्यवस्थालगायत विषयमा प्रशिक्षित गरिन्छ,’ सचिवालयका सचिव सुदर्शन खड्काले भने । प्रशिक्षणमा पूर्वसभामुखहरूले पनि अनुभव आदानप्रदान गर्दै आएका छन् । 

ad
ad