१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २२:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

‘अनुप स्मृति गोल्डकप’मा नेर्पा स्पोर्टसको विजयी सुरुवात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २२:४९:oo

जिल्लामा सञ्चालन भएको सर्वाधिक धनराशिको ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिताको तेस्रो संस्करणमा नेर्पा स्पोर्टस् क्लबले विजयी सुरुवात गरेको छ । 

दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन भएको पहिलो खेलमा एजुकेटेक इनरुवा इभेन्ट सुनसरीलाई ३–१ ले पराजित गर्दै साबिक विजेता नेर्पाले विजयी सुरुवात गरेको हो । 

१३औँ मिनेटमा इनरुवाका पेम्बा स्याङ्बो लामाले गोलको खाता खोलेका थिए । तर, ३५औँ मिनेटमा नेर्पाका बिकी राईले बराबरी गोल फर्काए ।

५७औँ मिनेटमा इनरुवाका खेलाडीले आत्मघाती गोल गरेपछि नेर्पाले अग्रता लियो । बिकीले नै थप एक गोल गरेपछि नेर्पाले जित सुनिश्चित गर्‍याे । 

दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले उद्घाटन गरेको प्रतियोगिताको पहिलो खेलमा नेर्पाका बिकी उत्कृष्ट खेलाडी घोषित भए । 

सोमबार दिक्तेल फुटबल क्लब र खोटाङ फुटबल एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । माउन्ट एभरेस्ट इंग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए)को सहआयोजनामा सुरु भएको प्रतियोगिताको तेस्रो खेल चियाबारी फुटबल क्लब इलाम र दिप्रुङ चुइचुम्मा गाउँपालिकाबीच हुने भएको छ । 

२३ पुससम्म चल्ने प्रतियोगिताको चौथो खेल खारम्बु स्पोर्टस् क्लब खार्मी र मानेभञ्ज्याङ स्पोर्टस् क्लब ओखलढुंगाबीच हुने जानकारी दिइएको छ । 

विजेता टिमले दुई लाख ५१ हजार, उपविजेताले एक लाख ११ हजार तथा सेमिफाइनलिस्ट दुई टिमले २५–२५ हजार नगद पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समिति संयोजक सागर जोशीले जानकारी दिए । 

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट टिम प्रशिक्षक र अनुशासित टिमलाई पाँच हजार पाँच सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतियोगिताका उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही सात हजार पाँच सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने सहसंयोजक सगुन ताम्राकारले जानकारी दिए । 

माउन्ट एभरेस्ट इंग्लिस बोर्डिङ स्कुलको नर्सरीमा अध्ययनरत अनुप राईको २ जेठ ०६८ मा दिक्तेलस्थित पुरानो बैंकचोकनजिक सवारी दुर्घटनामा ज्यान गएको थियो । उनै विद्यार्थीको सम्झनामा प्रत्येक वर्ष अनुप स्मृति गोल्डकप हुँदै आएको हो । 

ad
ad