१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १५ शुक्रबार ०७:०६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

देशभरको तापक्रम घट्यो : काठमाडौंको तापक्रम सातामै चार डिग्रीले झर्‍यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १५ शुक्रबार ०७:०६:००

काठमाडौं उपत्यकाको तापक्रम एक सातामै चार डिग्रीले घटेको छ । पुस पहिलो साताबाट देशभर चिसो बढ्न थालेकामा काठमाडौंमा न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियससम्म झरेको छ ।

६ पुसमा काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री थियो, तर १३ पुसमा ३.१ डिग्रीमा झर्‍यो । बिहीबार भने केही सुधार भएर न्यूनतम तापक्रम ४ डिग्रीमा उक्लिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा रहेको तापक्रम मापन केन्द्रको रेकर्ड हेर्दा न्यूनतम तापक्रम ७ पुसमा ६.५, ८ पुसमा ४.८, ९ पुसमा ५.३, १० पुसमा ४.३, ११ पुसमा ५.४, १२ पुसमा ३.८, १३ पुसमा ३.१ र १४ पुसमा ४ डिग्री मापन भएको छ । उपत्यकामा न्यूनतम र अधिकतम तापक्रम दुवै घट्न थालेपछि साँझ–बिहान अत्यधिक चिसो बढ्न थालेको हो । ६ पुसमा उपत्यकाको अधिकतम तापक्रम १९.५ डिग्री रहेकामा बिहीबार १६.२ डिग्रीमा झरेको छ ।

विनु महर्जन, मौसमविद्, मौसम पूर्वानुमान महाशाखा
हिउँदमा आकाश खुल्यो भने राति र बिहान धेरै चिसो हुन्छ । न्यूनतम तापक्रम घट्छ । तर, यही अवस्था अधिकतम तापक्रमका हकमा फरक हुन्छ । दिउँसो पारिलो घाम लागे तापक्रम बढ्छ, तर आकाश धुम्म भए घट्छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार काठमाडौंमा आंशिक बदली हुँदा बिहान र राति न्यूनतम तापक्रममा केही सुधार आए पनि अधिकतम तापक्रम भने घट्न पुगेको हो । अधिकतम तापक्रम दिउँसो र न्यूनतम तापक्रम बिहान मापन हुन्छ । ‘हिउँदमा आकाश खुल्यो भने राति र बिहान धेरै चिसो हुन्छ । न्यूनतम तापक्रम घट्छ,’ उनले भनिन्, ‘तर, यही अवस्था अधिकतम तापक्रमका हकमा फरक हुन्छ । दिउँसो पारिलो घाम लागे तापक्रम बढ्छ, तर आकाश धुम्म भए घटछ ।’

मुलुकभर तापक्रम घट्दा चिसो बढेको छ । तराईमा भने दिनभर हुस्सुु लागेको छ । जसकारण जनजीवन प्रभावित भएको छ । बिहीबार जोमसोमको तापक्रम मानइनस ५.५ डिग्रीमा झरेको छ भने जुम्लाको न्यूनतम तापक्रम माइनस ५.१ डिग्री छ । केही दिनअघि मात्र यी दुवै क्षेत्रमा न्यूनतम तापक्रम माइनस ७ डिग्रीसम्म झरेको यिथो ।

पछिल्लो २४ घन्टाको तथ्यांक हेर्दा डडेल्धुराको न्यूनतम तापक्रम ४.९ डिग्री छ भने दिपायलको तापक्रम ३.६ डिग्रीमा झरेको छ । वीरेन्द्रनगरमा २.५, पोखरामा ५.८, ओखलढुंगामा ५, ताप्लेजुङमा ४.६ र जिरीमा माइनस २ डिग्रीमा तापक्रम झरेको छ । तराईमा पनि न्यूनतम तापक्रम घटेको छ । महाशाखाका अनुसार धनगढीको न्यूनतम तापक्रम ६.२, नेपालगन्जमा ८.३, भैरहवामा ९.४, विराटनगरमा ८.१ र जनकपुरमा ७ डिग्री मापन भएको छ । मौसमविद् महर्जन तराईमा दिनभर हुस्सु लाग्दा अधिकतम तापक्रम घटेर जनजीवन प्रभावित भएको बताउँछिन् । ‘अधिकतम र न्यूनतम तापक्रम दुवै घटेको छ, पश्चिम–उत्तरबाट बहेर आउने हावाका कारण पनि चिसो छ,’ उनले भनिन्, ‘पश्चिम तराईमा बिहीबार केही सुधार भए पनि केही दिनपछि फेरि हुस्सु बढ्न सक्छ ।’

आन्तरिक उडान प्रभावित
मौसम पूर्वानुमान महाशाखाका अनुसार हुस्सुका कारण बिहान तराईका सबै विमानस्थलमा पारदर्शिता (भिजिबिलिटी) उडान हुनै नसक्ने गरी घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार हुस्सुका कारण बिहानपख तराईका सबै विमानस्थलको उडान प्रभावित हुने गरेको छ । ‘तराईमा हुस्सुले भिजिबिलिटी घटेपछि त्रिभुवन विमानस्थलबाट तराईका विमानस्थलमा हुने उडान प्रभावित हुन थालेका छन् । घाम लागेपछि मात्र उडान हुने गरेको छ,’ उनले भने, ‘केही क्षेत्रमा त दिउँसो पनि उडान रद्द भइरहेका छन् ।’ बिहीबार भैरहवा र जनकपुर विमानस्थलको भिजिबिलिटी १ मिटरमा झरेको थियो भने विराटनगरको भिजिबिलिटी २ मिटरसम्म थियो । उडानका लागि भिजिबिलिटी कम्तीमा एक हजार ६ सय मिटर चाहिन्छ ।