
कांग्रेस महामन्त्री गगन थापाले पार्टीलाई पुनः उठाउने बताएका छन् । हातमा आएको सत्ता र अवसर पार्टी नेतृत्वकै कमजोरीका कारण गुमेपछि पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन सोमबार उनले कांग्रेसलाई पुनः जरैबाट उठाउने बताएका हुन् ।
सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गरेर मात्र गठबन्धनबारे निर्णय गर्छु भन्नुभए पनि आफूहरूसँग कुनै कुराकानी नगरेको उनको भनाइ थियो । गठबन्धनको निर्णय गर्दा सभापतिले बोलाउनेमा आफू पनि पर्नेमा विश्वस्त भए पनि नबोलाएपछि अपमानित भएर पोखरा आएको उनले बताए । ‘हिजो (आइतबार) पार्टी सभापति शेरबहादुर देउवाको फोन कुर्दाकुर्दा आएन । पार्टी कार्यालयमा भएको छलफल होइन, तर म पार्टीको महामन्त्री, निर्वाचित सांसद हुँ । यहाँ एकदम अपमानित भएर आएको छु,’ उनले भने ।
हारजितको प्रकरण सकिएकाले अब पुनः कांग्रेसलाई उठाइने उनले बताए । ‘हारजितको कुरा एकछिन आयो, गयो । कांग्रेसमा जोडिँदा एउटा प्रतिष्ठा हुन्थ्यो । त्यो कुरा फेरि बनाइन्छ । हामी कांग्रेस पार्टीलाई सुदृढ कसरी बनाउने भन्नेबारे सोचिरहेका छौँ,’ उनले भने ।
नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लबजस्तो देखिएको थापाको भनाइ थियो । ‘एउटा पूर्वप्रधानमन्त्रीले अर्काे पूर्वप्रधानमन्त्रीलाई धोका दिएको देखिन्छ । कतिपटक पूर्व हुने भन्ने मात्रै रह्यो सबैको । यो हेर्दा सामान्य लाग्छ । यो हाम्रो राजनीतिक प्रणालीको एकदमै ठूलो समस्या हो । एकजना व्यक्ति पार्टी कब्जा गरेर बसेको अवस्था छ,’ उनले भने ।