१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अर्जेन्टिना ३६ वर्षपछि च्याम्पियन

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:३८:oo

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना ३६ वर्षपछि विश्वकप फुटबल प्रतियोगिताको विजेता बनेको छ । दोहास्थित लुसेल मैदानमा आइतबार सम्पन्न निकै रोमाञ्चक फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै सन् १९८६ पछि विश्वविजेता बनेको हो । विश्वकपमा अर्जेन्टिनाको यो जित तेस्रोपटक हो । 

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल ३–३ गोलको बराबरीमा पुगेपछि टाइब्रेकरमा छिनोफानो भयो । टाइब्रेकरमा अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज नायक बने । प्रतियोगिताको सर्वाेत्कृष्ट गोलरक्षक चुनिएका मार्टिनेजले फ्रान्सका किङ्से कोम्यान र औरेलियन चोउमेनीको दुई पेनाल्टी बचाएर अर्जेन्टिनाको जित निश्चित गराए । 

अर्जेन्टिनाको जितमा प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित कप्तान लियोनल मेसी, पाउलो डिबाला, लिआन्द्रो पराडेज र गोन्जालो मोन्टेजले गोल गरे भने फ्रान्सका केलियन एम्बाप्पे र रान्दल कोलो मुआनीले गोल गरे । कतार विश्वकपअन्तर्गत समूह चरणको पहिलो खेलमै साउदी अरेबियासँग २–१ ले स्तब्ध भएको अर्जेन्टिनाले त्यसपछिका खेलमा जित निकाल्दै आएको थियो ।

अर्जेन्टिनाले पहिलोपटक सन् १९७८ मा विश्वकप उपाधि जितेको थियो । सन् २०१४ को विश्वकप फाइनलमा मेसीकै नेतृत्वमा अर्जेन्टिना खेलेको थियो । फाइनलमा अर्जेन्टिना जर्मनीबाट १–० ले पराजित भयो । यता फ्रान्स लगातार दोस्रोपटक विश्वकप उचाल्ने इटाली र ब्राजिलको कीर्तिमान बराबर गर्नबाट चुक्यो । फ्रान्सले सन् १९९८ र सन् २०१८ को विश्वकप जितेको थियो । 

मेसी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । एम्बाप्पे सर्वाधिक गोलकर्ता चुनिँदा सर्वाेत्कृष्ट गोलरक्षकको उपाधि मार्टिनेजले जिते । त्यस्तै, प्रतियोगिताको युवा खेलाडी अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेज घोषित भए । 

फ्रान्सका एम्बाप्पेले पाए गोल्डेन बुट

फाइनलमा ह्याट्रिक गरेका फ्रान्सका केलियन एम्बाप्पले गोल्डेन बुट अवार्ड जितेका छन् । एम्बाप्पले कतार विश्वकपमा सात खेलमा सर्वाधिक आठ गोल गरेका छन् । उनले दुई असिस्ट गरे । २३ वर्षीय एम्बाप्पेले अर्जेन्टिनाविरुद्धको फाइनलमा तीन गोल गर्न सफल भए । डेनमार्क र पोल्यान्डविरुद्ध समान दुई गोल गरेका एम्बाप्पेले अस्ट्रेलियाविरुद्ध एक गोल गरेका थिए । फाइनलमा दुई गोल गरेका मेसीले प्रतियोगितामा सात गोल गरे । 

उत्कृष्ट गोलरक्षकको उपाधि अर्जेन्टिनाकै इमिलियानो मार्टिनेजलाई
अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले उत्कृष्ट गोलरक्षकको अवार्ड प्राप्त गरेका छन् । मार्टिनेजले सात खेल नै पूरा समय खेलेका थिए । अर्जेन्टिनाले विश्वकपमा १५ गोल गर्दा सात गोल बेहोरेको थियो । इंग्लिस क्लब एस्टन भिल्लाबाट व्यावसायिक फुटबल खेल्ने मार्टिनेजले नेदरल्यान्ड्स र फ्रान्सविरुद्ध पेनाल्टीमा दुई प्रहार बचाएका थिए । 

लियोनल मेसी सर्वोत्कृष्ट खेलाडी
पाँचौँपटक विश्वकप खेलेर पहिलोपटक च्याम्पियन भएका अर्जेन्टिनाका कप्तान मेसी कतार विश्वकपका सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन् । प्रतियोगितामा सात गोल गरेर सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेका मेसीले तीन असिस्ट गरे । फाइनलमा दुई गोल गरेका उनले साउदी अरेबिया, मोरक्को, अस्ट्रेलिया, नेदरल्यान्ड्स र क्रोएसियाविरुद्ध एक–एक गोल गरेका थिए ।

उनले यसअघि सन् २०१४ मा गोल्डेन बुट जितेका थिए । मेसीले विश्वकपमा आफ्नो गोल संख्या १३ पुर्‍याएका छन् । विश्वकपमा मेसीले एक कीर्तिमान बनाएका छन् । फ्रान्सविरुद्धको फाइनलमा प्रवेश गर्दै उनी विश्वकपकै सर्वाधिक २६ खेल खेल्ने खेलाडी बनेका छन् । फाइनल खेल्नुअघि जर्मनीका पूर्वकप्तान लोथार म्याथ्युजसँगै मेसीले समान २५ खेलको बराबरी गरेका थिए । 

कतार विश्वकपमा पुरस्कार राशि
विजेता : ४२ मिलियन डलर
उपविजेता : ३० मिलियन डलर
तेस्रो स्थान : २७ मिलियन डलर
चौथो स्थान : २५ मिलियन डलर
क्वार्टरफाइनलिस्ट : १७ मिलियन डलर
प्रिक्वार्टरफाइनल : १३ मिलियन डलर
समूह चरण : ९ मिलियन डलर

ad
ad