१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
रासस कर्णाली
२o८१ बैशाख २५ मंगलबार o९:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मुगु–हुम्ला सडक निर्माण सम्पन्न

Read Time : > 1 मिनेट
रासस, कर्णाली
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o९:२५:oo

बेलायत सरकारको सहयोगमा मुगु गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण भएको छ । मुगुको गमगढीदेखि हुम्ला चंखेली गाउँपालिकाको देउलीसम्मको उक्त सडक एक अर्ब ६६ करोड ९३ लाख ५२ हजार रुपैयाँमा निर्माण भएको हो ।

सडक निर्माणको काम सन् २०१८ अक्टोबरदेखि सुरु भएको थियो । निर्माण सकिएपछि बेलायत सरकारले बुधबार कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । कुल ६७ किलोमिटरमध्ये मुगुमा ३३ किलोमिटर र हुम्लामा ३४ किलोमिटर पर्छ । यो सडकले चंखेली हिमालको तीन हजार तीन सय मिटरको अग्लो डाँडा पार गर्दा सडकअन्तर्गत चारवटा पुल निर्माण गरिएका छन् । 

कार्यक्रममा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विकासको पहिलो आधार सडक भएको बताए । आफूले सात वर्षको उमेरदेखि पैदलयात्रा गरेको स्मरण गर्दै भने, ‘हुम्लादेखि यही बाटोबाट महिना दिन पैदल हिँडेर नेपालगन्ज पुग्थ्यौँ । मान्छे हिँड्न कठिन बाटो आज सडकमा परिणत भएको छ, जहाँ अहिले गाडी गुडाएका छौँ ।’

नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले गमगढी–देउली सडक निर्माणले दुवै जिल्लामा यातायातका लागि सहज भएको बताइन् । बेलायतको हरित, लचिलो समावेशी विकास उद्देश्य पूरा गर्ने दीर्घकालीन रणनीतिक द्विपक्षीय सहयोगको उदाहरणस्वरूप यो सडक निर्माण भएको राजदूत पोलिटले जानकारी दिइन् । उनका अनुसार परियोजना सफलताले स्थानीय नागरिक, सरकारका विभिन्न निकाय एक ठाउँमा हुँदा ठूलो परिवर्तन सम्भव छ भन्ने देखाएको छ । सडक सञ्चालन आएसँगै खाद्यान्नमा करिब ४३ प्रतिशतले मूल्य घट्नुका साथै बजार, स्वास्थ्य सुविधालगायतमा उल्लेख्य परिवर्तन आएको उनको दाबी छ । 

सडक निर्माणको अवधिमा चार हजार चार सयभन्दा बढी स्थानीय श्रमिकलाई रोजगारी दिइएको थियो भने श्रमशक्तिको ३५ प्रतिशतभन्दा बढी महिला सहभागी गराइएको थियो । परियोजनाले महिला र पुरुषलाई समान ज्याला उपलब्ध गराएको थियो । बेलायत सरकारका अनुसार सडक निर्माणका क्रममा श्रमिकले आठ लाख रुपैयाँबराबरको आम्दानी गरेका थिए ।  –

ad
ad