१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार o५:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : अन्नको सम्मान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o५:५७:oo

एकपटक भारतको एउटा छात्रावासको भान्सामा सम्पूर्ण विद्यार्थीलाई खाना पस्किएपछि कैयौँ विद्यार्थीले प्लेटमा राखेको सब्जी देखेर नाक खुम्च्याए । उनीहरूमध्ये धेरैले थालमा पस्किएको बैगुनको तरकारीलाई घृणामिश्रित नजरले हेरे । 

उनीहरूले खाने सुरसार गरेनन् । भोक लागेको भए पनि उनीहरूमध्ये अधिकांश विद्यार्थी होहल्ला गर्न थाले । केहीले प्लेटको डढेको रोटीको किनारा चुँडेर पानीमा मिलाए र प्लेट पर सारिदिए । अनि कहिले भान्से त कहिले सम्बद्ध अधिकारीलाई गाली गर्न पनि थाले ।

खाना खाने ठाउँमा होहल्ला मच्चिरहेको थियो, तब त्यहीँ बाहिर भने एकजना मानिस खाना खाने सबै विद्यार्थीका जुत्ता यताउताबाट टिपेर लाइनमा मिलाएर राखिरहेका थिए ।

जब होहल्ला निकै बढ्यो, तब ती मानिस भित्र पसे । उनी पनि कहिलेकाहीँ त्यहीँ खाना खान्थे । उनले डढेको रोटीको टुक्रा, पानी तथा बैगुन भएको प्लेट टिपे र जेजस्तो खाना थियो, त्यो मजाले खान थाले । केटाहरू चुपचाप त्यो सब हेरिरहेका थिए ।

एक प्लेट खाना खाइसकेपछि उनले अर्को प्लेट खाना मगाए र केटाहरूतिर हेर्दै बोले, ‘सायद तिमीहरूलाई थाहा छैन होला, तिमीहरू बस्ने वरिपरिका बस्तीमा यस्ता पनि मानिस बस्छन्, जसले यस्तो खाना पनि खान त परैको कुरा भयो, देख्नसुद्ध पाएका छैनन् । 

तिमीहरूले यो सब खाना नफ्याँकेको भए कमसेकम उनीहरूले भोकै सुत्नुपर्ने त थिएन । तर, तिमीहरूले त खाना खानलायक नै छोडेनौ । अब यो कसलाई दिन सकिन्छ र ? यसैले मेरो विचारमा यो खाना मैले खाएँ भने मेरो भागको खाना कुनै अर्को भोको मानिसलाई दिन त सकिन्छ ।’ उनको कुरा सुनेपछि केटाहरू अवाक् बने र आफूहरूले ठूलो गल्ती गरेको महसुस गर्दै त्यस दिनदेखि कहिल्यै खाना नफाल्ने वाचा गरे । 

यसरी अन्नको अनादरलाई सबैभन्दा ठूलो अपराध मान्ने र अन्नको सम्मान गर्ने ती मानिस थिए, जाकिर हुसेन । जो पछि गएर भारतका राष्ट्रपति बने ।

ad
ad