१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o६:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

व्रतबन्धबाट फर्किएका यात्रु चढेको बस दुर्घटना : १७ को मृत्यु, २१ घाइते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:२५:oo

आफन्तको व्रतबन्धमा सहभागी भएर फर्किएका यात्रु चढेको बस मंगलबार साँझ काभ्रेको बेथानचोक– ४ चलाल गणेशस्थानमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।

बसमा ३९ यात्रु थिए ।यो समाचार तयार पार्दासम्म मृत्यु भएकाको पहिचान खुलेको छैन । घाइतेको धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । १३ जनाको दुर्घटनास्थलै र पाँचको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो । 

बा.३ख ४३८५ नम्बरको बस बेथानचोक– ४ चलाल गणेशस्थानमा दुर्घटनामा परेको हो । तीव्र गतिमा गुडिरहेको बस मोडको भित्तामा ठोक्किएर सडकबाट खसेको एक प्रत्यक्षदर्शीले बताए । बसमा बेथानचोक– ५ च्याल्टीमा व्रतबन्ध (छेवर)मा सहभागी भएर फर्किएका बनेपा– ११ सल्लेका यात्रु थिए ।

आफन्तको व्रतबन्धमा धेरैजना जानुपर्र्ने भएकाले मंगलबार बिहान बस रिजर्भ गरेर बनेपा– ११ सल्लेबाट उनीहरू च्याल्टीतर्फ गएका थिए । काभ्रेका प्रजिअ पाण्डेले भनिन्, ‘बसमा व्रतबन्धमा सहभागी भएर फर्किएकाहरू धेरै परेको जानकारी पाइएको छ । तर, मृत्यु भएकाको पहिचान खुलिसकेको छैन ।’ 

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले दुर्घटनालगत्तै स्थानीय उद्धारमा जुटेको जानकारी दिए । लगत्तै पुगेका सुरक्षाकर्मीसमेतले घाइतेलाई उद्धार गरी शिर मेमोरियल र बनेपा अस्पताल पठाएका थिए । दुईवटा डोजरको प्रयोग गरेर बसमा च्यापिएका घाइते र शव निकालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । ठूलो संख्यामा हताहती र घाइते भएकाले पूर्ण विवरण आउन समय लागेको उनको भनाइ छ । 

बेड नहुँदा भुइँमै उपचार
शिर मेमोरियल अस्पतालमा एकाएक घाइतेहरू ल्याइपुर्‍याइँदा चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई भ्याइनभ्याई भएको थियो । एकपछि अर्को गर्दै घाइते थपिएपछि स्वास्थ्यकर्मी हस्याङफस्याङमा देखिन्थे । बेड अभाव हुँदा केहीलाई भुइँमै राखेर उपचार गरिएको थियो । 

उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन
दुर्घटनाको खबरपछि गृहमन्त्री बालकृष्ण खाणले घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पु¥याउने व्यवस्था मिलाउन गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका थिए ।

गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंहलाई दुर्घटनाका घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न पनि निर्देशन दिएका थिए । यस्तै, प्रमुख जिल्ला अधिकारी पाण्डेलाई थप स्रोत–साधन आवश्यक पर्ने भने मन्त्रालयमा लेखी पठाउन निर्देशन दिएका थिए । 
 

ad
ad