१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
दोहा
२०७९ मङ्सिर २४ शनिबार १०:१९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टेक्निकल भिडन्तमा ‘इंग्ल्यान्ड र फ्रान्स’

Read Time : > 1 मिनेट
दोहा
२०७९ मङ्सिर २४ शनिबार १०:१९:००

कतारमा आयोजना भइरहेको विश्वकप फुटबलमा योभन्दा ठूलो खेल हुनै सक्दैन । आइतबार इंग्ल्यान्ड र फ्रान्सबीच क्वार्टरफाइनल खेल हुँदै छ । खेल विश्लेषकले यसलाई फाइनल भिडन्तकै रूपमा लिएका छन् । खेल प्रदर्शन, खेलाडीका नाम र टोली संरचना हुँदा इंग्ल्यान्ड र फ्रान्स प्रमुख दाबेदारमै पर्छन् । यसलाई विश्वकपकै ‘हेभिवेट’ भिडन्त पनि भनिएको छ । दुईमध्ये एक टोली अल बायत मैदानको अन्तिम नतिजासँगै बाहिरिनेछ । 

युरोपेली फुटबलमा दुवै राष्ट्रको योगदान उत्तिकै छ । इंग्ल्यान्डको प्रिमियर लिग वा फ्रान्सले लिग वान ‘टेक्निकल’ विशेषः रहेको छ । दुवै लिगमा आबद्ध हुने संसारभरिका खेलाडीको सपना हो । प्रत्येक खेलाडी स्कोरिङ गर्न सक्ने क्षमताका भएकाले यो खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिन्छ । हेड टु हेडमा इंग्ल्यान्ड बलियो छ ।

इंग्ल्यान्डले १७ खेल जित्दा पाँच खेल बराबरीमा टुंगिएको छ । फ्रान्सले नौ खेल आफ्नो पक्षमा पारेको छ । पछिल्लो समय फ्रान्सले इंग्ल्यान्डलाई हराएको अवस्था छ । सन् २०१२ को युरोकपमा फ्रान्स र इंग्ल्यान्डले १–१ गोलको बराबरी खेलेका थिए । सन् २०१५ मा भएको मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड २–० ले विजयी भयो । 

प्लेयर्स टु वाच

गोन्कालो रामोस (पोर्चुगल)
समूह चरणका तीनमध्ये दुई खेलमा मात्रै वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका गोन्कालो रामोसले प्रि–क्वार्टरफाइनलमा जादु देखाए । प्रशिक्षक फर्नान्डो सान्तोष र कप्तान क्रिस्टियानो रोनाल्डोबीच मनमुटाव हुँदा गोन्कालोले स्विट्जरल्यान्डविरुद्ध ‘प्लेइङ सेट’मा स्थान पाए । ७४ मिनेट मैदान बिताएका गोन्कालोले जारी विश्वकपमा पहिलो ह्याट्रिक गरे । २१ वर्षीय बेन्फिकाको स्ट्राइकर मोरक्कोविरुद्ध समेत चम्किने विश्वास गरिएको छ । 

केलियन एम्बाप्पे (फ्रान्स)
युवा स्ट्राइकर केलियन एम्बाप्पे कतार विश्वकपमा निकै लयमा छन् । पेरिस सेन्ट जर्मन (पिएसजी)का  खेलाडीले पाँच गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेको छ । फ्रान्सका २३ वर्षीय खेलाडी एम्बाप्पेले डेनमार्क र पोल्यान्डविरुद्ध समान दुई गोल र  अस्ट्रेलियाविरुद्ध एक गोल गरेका थिए । एम्बाप्पे बल नियन्त्रणमा राख्दै तीव्र गतिमा दौडन, फिनिसिङ गर्न र पास निकाल्नमा माहिर मानिन्छन् । तीव्र गतिका एम्बाप्पे खेलाडीलाई रोक्न विपक्षी खेलाडीलाई हम्मे–हम्मे पर्ने गर्छ । सन् २०१७ देखि राष्ट्रिय टोलीमा रहेका एम्बाप्पेले ६३ खेलमा ३३ गोल गरेका छन् । साबिक विजेता फ्रान्सलाई रुसमा उपाधि जिताउन एम्बाप्पेले महत्वपूर्ण प्रदर्शन गरेका थिए । पिएसजीका लागि एम्बाप्पेले एक सय २८ खेलमा एक सय १८ गोल गरेका छन् । 

ह्यारी केन (इंग्ल्यान्ड)
प्रशिक्षक गेराथ साउथगेटले फ्रान्सविरुद्ध कप्तान ह्यारी केनलाई नै अग्रपंक्तिमा विश्वास गर्नेछन् । चार खेल खेलेका केनले एक गोल गरेका छन् । यसैगरी, तीन गोलका लागि पास मिलाएका छन् । केनले इंग्ल्यान्डको यू १७ देखि २१ राष्ट्रिय टोलीबाट खेले । सन् २०१५ बाट राष्ट्रिय टोलीका लागि डेब्यु गरेका कप्तान केनले ७९ खेल खेल्दा ५२ गोल गरेका छन् ।