मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मञ्जु टेलर काठमाडाैं
२०७९ मङ्सिर १९ सोमबार ०८:४२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मौसमी फ्लु बढ्यो, परीक्षण न्यून

जाडो मौसममा कोभिड र डेंगु संक्रमण सामान्य अवस्थामा फर्किएसँगै अस्पतालमा मौसमी फ्लुका बिरामीको चाप बढ्न थाल्यो

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७९ मङ्सिर १९ सोमबार ०८:४२:००

जाडो मौसम सुरु भएसँगै मौसमी फ्लुका बिरामी बढेका छन् । पछिल्लो तीन वर्षमा कोभिड महामारीले छायामा पारेको फ्लु संक्रमण फेरि बढेको हो । जाडो मौसममा कोभिड र डेंगु संक्रमण सामान्य अवस्थामा फर्किएसँगै मौसमी फ्लुका बिरामीको चाप बढ्न थालेको चिकित्सकले बताएका छन् ।

 भाइरल संक्रमणका बिरामीको सधैँ चाप रहने शुक्रराज ट्रपिकल अस्पतालमा मात्रै दैनिक १५ देखि १८ जनासम्म बिरामी उपचारका लागि पुग्न थालेका छन् । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हाल एन्फ्लुएन्जा बी र एअन्तर्गतका हङकङ फ्लु र स्वाइन फ्लुको संक्रमण देखिएको छ । रुघाखोकी, ज्वरो, थकानजस्ता लक्षणसहितका बिरामी समुदायमा बढेको उनको भनाइ छ । ‘कोभिडपछि फ्लुका सामान्य लक्षण देखिएमा औषधि सेवन गरेर घरमै बस्नेहरू बढी भएकाले अस्पतालमा पहिलाजस्तो भिड छैन । तर, मौसमी फ्लुको सिजन सुरु भएकाले चिसोबाट बच्न सतर्कता अपनाउनुपर्ने देखिन्छ,’ उनले भने ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्यांकअनुसार यस वर्ष जनवरीयता हालसम्म ६ हजार दुई सय ७३ नमुनामा मात्रै एन्फ्लुएन्जा परीक्षण गरिएको छ । जसमध्ये ६ सय एकजनामा मात्रै एन्फ्लुएन्जा पजिटिभ देखिएको तथ्यांकले देखाउँछ । दुई सय ८२ जनामा एन्फ्लुएन्जा ए एच३, तीन सय १० मा एन्फ्लुएन्जा ए एचवान एनवान, सातजनामा एन्फ्लुएन्जा सबटाइप र दुईजनामा एन्फ्लुएन्जामा पुष्टि भएको हो । 

अस्पतालहरूमा लक्षणसहितका बिरामी बढ्न थाले पनि सर्वेक्षणका लागि मात्रै परीक्षण गरिरहेकाले संख्या न्यून देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत लिली श्रेष्ठ बताउँछिन् । ‘प्रत्येक साता अस्पतालबाट १५ देखि २० वटासम्म नमुना स्याम्पल परीक्षणका ल्याइन्छ । गम्भीर बिरामीको संख्या बढी भएमा प्रदेश अस्पतालका ल्याब र सेन्ट्रल ल्याबमा नमुना पठाउन सकिने व्यवस्था गरेका छौँ । यसबाहेक सिडिएल ल्याब, सिएमसी र ग्रान्डी अस्पतालले पनि परीक्षण गर्र्दै आएका छन्,’ उनले भनिन् ।

कोभिडपछि फ्लुका सामान्य लक्षण देखिएमा औषधि सेवन गरेर घरमै बस्नेहरू बढी भएकाले अस्पतालमा पहिलाजस्तो भिड छैन । तर, मौसमी फ्लुको सिजन सुरु भएकाले चिसोबाट बच्न सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

 डा. शेरबहादुर पुन, सरुवारोग विशेषज्ञ

कोभिड परीक्षणका लागि प्रत्येकजसो अस्पताल ल्याबहरू सञ्चालनमा रहे पनि एन्फ्लुएन्जा परीक्षणमा भने बेवास्ता गर्दै आएका छन् । हाल काठमाडौं उपत्यकालगायतका १६ वटा ठूला सरकारी अस्पतालले परीक्षणका लागि नमुना टेकु पठाउँदै आए पनि परीक्षण न्यून संख्यामा मात्रै हुने गरेको चिकित्सकहरू बताउँछन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निःशुल्क परीक्षण गर्दै आए पनि निजीमा चार हजार पाँच सयसम्म शुल्क लिँदै आएका छन् । 

 बर्सेनि साढे दुई लाखभन्दा बढीमा संक्रमण 
नेपालमा बर्सेनि एन्फ्लुएन्जाका बिरामी बढ्ने गरे पनि उपचारमा भने बेवास्ता गरिँदै आएको छ । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार बर्सेनि साढे दुई लाखभन्दा बढी लक्षणसहितका बिरामी अस्पताल पुग्ने गरेका छन् । बर्सेनि मौसमी फ्लुका रूपमा दुईपटक देखिने गरेको एन्फ्लुएन्जाबाट पछिल्लो वर्ष दुई लाख ५६ हजार सात सय ३९ बिरामी उपचारका लागि अस्पताल पुगेका छन् । यस्तै, आव ०७७÷७८ मा एक लाख ९१ हजार ६ सय ४१ बिरामी र आव ०७६/७७ मा दुई लाख ५८ हजार ६ सय ५० बिरामी एन्फ्लुएन्जाबाट प्रभावित भएको विभागको तथ्यांकले देखाउँछ । 

यस वर्ष पनि एन्फ्लुएन्जाका बिरामीहरू अस्पताल जाने दर बढ्न थालेको चिकित्सकहरू बताउँछन् । विशेषगरी उपत्यकाका टेकु अस्पताल, वीर, पाटन, सिभिल, टिचिङ, भक्तपुर अस्पताल र कान्ती अस्पतालमा एन्फ्लुएन्जाका बिरामी बढ्न थालेका हुन् । एन्फ्लुएन्जाका अधिकांश लक्षण भाइरल रुघाखोकीको जस्तो देखिए पनि तुलनात्मक रूपमा यो सामान्य रुघाखोकीभन्दा बढी घातक हुने भएकाले परीक्षण गरेर उपचारमा ध्यान दिनुपर्ने डा. पुनले बताए ।

‘कोभिडको तुलनामा एन्फ्लुएन्जा एकबाट अर्कोमा सजिलै फैलिन सक्ने हुँदा जोखिमपूर्ण छ । तर, केही दिनको अन्तरालमा आफैँ ठीक भएर जाने भएकाले कोभिडको तुलनामा घातक भने मानिँदैन । घाँटी दुख्ने, नाकबाट सिँगान बगिरहने, उच्च ज्वरो, टाउको दुखाइ, मांसपेशी तथा हाडजोर्नीको दुखाइजस्ता लक्षण एन्फ्लुएन्जामा पनि देखिने भएकाले अधिकांशजसो झुक्किने गरेको पाइन्छ,’ उनले भने ।

दीर्घरोगी र वृद्धवृद्धामा इन्फ्लुएन्जा संक्रमणको जोखिम बढी हुने भएकाले पछिल्ला केही वर्षयता भ्याक्सिन प्रयोगकर्ता बढेको चिकित्सकहरू बताउँछन् । हाल नेपालमा प्रयोगमा आइरहेका भ्याक्सिनहरू शतप्रतिशत प्रभावकारी नभए पनि संक्रमण कडा हुनबाट बचाउने र छिटो निको हुन सहयोगी हुने भएकाले भ्याक्सिनको प्रयोग बढेको पुनले बताए । कोभिड र एन्फ्लुएन्जाका अधिकांश लक्षण एउटै हुने भएकाले दुवै संक्रमण एकैपटक देखिएमा गम्भीर समस्या देखिने भएकाले समयमै परीक्षण दर बढाउन आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ ।