१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
शान्ति तामाङ काठमाडाैं
२०७९ मङ्सिर १५ बिहीबार ०८:५४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

फोहोर वर्गीकरण गर्ने  महानगरको योजना अलपत्र

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०७९ मङ्सिर १५ बिहीबार ०८:५४:००

नगरवासीले छुट्याएर राखे पनि महानगरपालिकाले नै वास्ता नगरेको आरोप

काठमाडौं महानगरपालिकाले चार महिना (साउन)अघि नै कुहिने र नकुहिने फोहोर  छुट्याउन र सोहीअनुसार संकलन गर्ने निर्णय गरेको थियो । तर, महानगरको यो निर्णय अझै कार्यान्वयन हुन सकेको छैन । 

महानगरको निर्णयअनुसार नै सर्वसाधारणले केही समय फोहोर छुट्याएर पनि राखे । तर, फोहोर उठाउन आउनेले सबै फोहोर एकैपटक संकलन गर्न थालेपछि उनीहरूले पनि वर्गीकरण गर्न छाडे । हाल महानगरको वडा नम्बर ४, ७ र १५ बाहेकका वडामा मिश्रित रूपमै फोहोर संकलन भइरहेको छ । महानगरले १ साउनदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर नराखे नउठाउने र कसुर मानी पाँच सय रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी पनि दिएको थियो । महानगरपालिकाअन्तर्गत वातावरण विभाग प्रमुख सरिता राईले फोहोर छुट्याउने विषयमा महानगर अझै लचिलो नभएको बताइन् । ‘फोहोर छुट्याएर राख्ने ठाउँ खोज्दै छौँ । एक–दुई ठाउँ हेरे पनि जग्गा प्राप्ति हुन सकेको छैन,’ प्रमुख राईले भनिन्, ‘जग्गा खोजिरहेका छौँ । जग्गा पाउनासाथ कुहिने र नकुहिने फोहोर छुट्याउन थाल्छौँ ।’ उनका अनुसार फोहोर छुट्याउने कामलाई अगाडि बढाउन नसके पनि जथाभावी फोहोर फाल्न निरुत्साहित गरिरहेको छ । चालू आर्थिक वर्षमा महानगरले जथाभावी फोहोर फाल्नेहरूबाटै पाँच लाख जरिवाना असुलिसकेको छ । महानगरले नै फोहोर छुट्याउने कामलाई कार्यान्वयनमा ल्याउन नसके पनि निजी क्षेत्रबाट केही वडामा भइरहेको उनले बताइन् । 

महानगरले गत वैशाखमा जारी गरेको सूचनाअनुसार १ साउनदेखि महानगरवासीले स्रोतमै फोहोर पृथकीकरण गर्नुपर्नेछ । वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, ०७७ र फोहोरमैला व्यवस्थापन ऐन, ०६८ को हवाला दिँदै महानगरवासीलाई स्रोतमै फोहोरको पृथकीकरण गर्न आग्रह गरेको थियो । घर वा कार्यालयमै फोहोर नछुट्याए महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, ०७७ र फोहोरमैला व्यवस्थापन ऐन, ०६८ अनुसार कसुर मानी प्रत्येकपटक पाँच सय रुपैयाँ जरिवाना गर्ने सूचना जारी गरेको थियो । उक्त व्यवस्थाअनुसार कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकाले फोहोर पृथकीकरण गरी जैविक फोहोर संकलन गर्न आउने दिन जैविक र नकुहिने फोहोर संकलन गर्न आउने दिन नकुहिने फोहोर मात्रै संकलन गर्ने जनाएको थियो । तर, महानगरले आफ्नै निर्णय कार्यान्वयन गर्न सकेको छैन ।

फोहोर नछुट्याएको भन्दै बन्चरेडाँडावासी असन्तुुष्ट
महानगरपालिकाले फोहोर नछुट्याई बन्चरेडाँडामा लगेको भन्दै स्थानीय जनप्रतिनिधिहरूले आक्रोश व्यक्त गर्न थालेका छन् । महानगरको हेपाहा प्रवृत्तिले विगतका समस्या फेरी बल्झिन सक्ने ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले बताए । ‘महानगरले हामीसँग गरेको लिखित सम्झौता कार्यान्वयनमा समेत बेवास्ता गरेको छ । हेपाहा प्रवृत्तिले विगतका समस्या फेरि बल्झिन सक्छ,’ अध्यक्ष तामाङले भने । पटक–पटकको विवादका बीच महानगरले बन्चरेडाँडामा फोहोर फाल्न सुरु गरेको थियो । 

गत २४ जेठमा भएको त्रिपक्षीय सम्झौताअनुसार मन्त्रालयले प्रभावित क्षेत्रका पाँच ठाउँका लागि आर्थिक वर्ष ०७९/८० मा ४२ करोड ५० लाख रुपैयाँ, नदी नियन्त्रण, सामुदायिक भवन र मन्दिर निर्माण तथा वृक्षरोपणका लागि एक करोड ७० लाख विनियोजन गरेको छ । जग्गा अधिग्रहणका सम्बन्धमा वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि प्रक्रिया सुरु गर्ने, प्रतिवेदनका आधारमा स्थानीयका लागि १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने र ६ महिनाभित्र सिसडोलको पोस्ट क्लोजरको प्रक्रिया सुरु हुने उल्लेख छ । 

मन्त्रालय, महानगर र बन्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाबीच त्रिपक्षीय सम्झौता भएको थियो । महानगर पनि बन्चरेडाँडामा फोहोर फाल्न सहज हुनेबित्तिकै पोस्ट क्लोजिङ सुरु हुने, साउनबाट स्रोतमै फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्नेलगायत प्रतिबद्धता जनाएको थियो । बन्चरेडाँडाका स्थानीयले साइट व्यवस्थापन, स्थानीय पूर्वाधार र सामाजिक जीवन सुधारको माग राखेर जेठ पहिलो सातादेखि फोहोर व्यवस्थापनमा अवरोध गरेका थिए । 

महानगर भन्छ– सहयोग भएन 
फोहोर वर्गीकरण गर्नाले फोहोर व्यवस्थापनमा वेलावेलामा देखिने समस्यामा कमी आउने महानगरले आकलन गरेको थियो । तर, महानगरवासीले तत्परता देखाएर सहयोग नगर्दा फोहोर छुट्याउने काम प्रभावकारी नभएको निजी क्षेत्रको आरोप छ ।

फोहोरमैला व्यवस्थापन संघ नेपालका महासचिव मित्र घिमिरेका अनुसार निजी क्षेत्रले फोहोर छुट्याएर उठाउन प्रारम्भ गरे पनि प्रभावकारी नभएको बताए । ‘हामीले तीनवटा वडामा फोहोर छुट्याएर उठाउने गरे पनि त्यहाँका बासिन्दाले अझै सहयोग गरेका छैनन् । पूर्ण रूपमा फोहोर छुट्याउने काम भएको छैन । हामी पनि एग्रेसिभ तरिकाले जान सकेका छैनौँ,’ उनले भने, ‘हामी फोहोर छुट्याउने अभियानमै छौँ । पब्लिकमा जनचेतना अभिवृद्धि पनि बढाइरहेका छौँ ।’ उनले महानगरले अब थप कडाइ गर्नुपर्ने बताए । संघका अनुसार हाल महानगरभित्रका ४, ७ र १५ नम्बर वडामा फोहोर छुट्याएर संकलन भइरहेको छ । संघले २२ नम्बर वडामा पनि केही समयपछि फोहोर छुट्याउने तयारी गरिरको छ । संघका अनुसार १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १३, १४, १५, १६, १७, २६, २८, २९, ३०, ३१ र ३२ वडामा पनि तयारी भइरहेको छ ।